प्रतिक्रियावादी शक्तिहरू गठबन्धन सरकार ढाल्ने प्रयास गरिहरेका छन् : अध्यक्ष प्रचण्ड

 फागुन १, २०७८ आइतबार १३:४०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिक्रियावादी शक्तिहरूले गठबन्धन सरकार गिराउने (ढाल्ने) प्रयास गरिरहेको बताउनुभएको छ । 

आज आइतवार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित २७ औँ जनयुद्ध दिवसको अवसरमा बोल्दै अध्यक्ष दाहालले प्रतिक्रियावादी शक्तिहरूले गठबन्धन सरकार ढाल्ने प्रयास गरिरहेको बताउनुभएको हो । उहाँले गठबन्धनलाई टुटाउन र निर्वाचन प्रक्रियालाई बिथोल्नका निम्ति अनेक खालका प्रपञ्चहरू भइरहेकोसमेत बताउनुभयो ।

अध्यक्ष दाहालले गठबन्धन बनाउँदा केही सैद्धान्तिक र केही राजनीतिक मान्यताहरूलाई अघि सारेको बताउँदै त्यही मान्यताका आधारमा गठबन्धन अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले जुन गठबन्धनको स्थिति, सरकारको स्थिति छ, हामी त्योमार्फत फेरि एउटा निर्वाचनको प्रक्रियामा प्रवेश गर्ने र संविधान र जनताका अधिकारलाई अझ विकसित र परिमार्जन गर्ने प्रक्रियामा छौँ । तर पराजित प्रतिगमनकारी प्रवृत्ति चुप लागेर बसेको छैन । उसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइरहेको छ र त्यसलाई मलजल गर्ने देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरू सक्रिय छन् ।’

अध्यक्ष दाहालले संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षामा एकमत भएर गठबन्धन बनेको बताउँदै कुनै एउटा खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धन नबनेको स्पष्ट पार्नुभयो । उहाँले कुनै देश विशेषसँग गरेका सहमति, सम्झौंता वा परियोजना, आर्थिक सहयोगको लेनदेन र त्यसको आधारमा गठबन्धन नबनेको भन्दै नेपालको संविधान, नेपालको लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाका लागि लड्नुपर्ने बताउनुभयो । अध्यक्ष दाहालले कसैले एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यो ऐतिहासिक धरातल भत्काए सरह हुने बताउनुभयो ।

अध्यक्ष दाहालले प्रदेश र केन्द्रीय सरकारले जनयुद्ध दिवस मनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले मधेस प्रदेशले यस वर्ष साहसपूर्वक जनयुद्ध दिवस मनाएको बताउँदै आउँदा दिनमा अन्य प्रदेश र केन्द्रीय सरकारले पनि यो दिवस मनाउनेमा विश्वस्त रहेको बताउनुभयो । अध्यक्ष दाहालले जनयुद्ध दिवसलाई सम्मान गरेमात्रै जनताका हक अधिकार सुरक्षित रहनेसमेत बताउनुभयो ।

अध्यक्ष दाहालले प्रतिगमन, प्रतिक्रान्तिका षड्यन्त्रलाई परास्त गर्न कम्युनिस्टहरू एकजुट हुनुपर्ने बेला भएको बताउनुभयो । उहाँले जनयुद्धमा भएका त्याग र बलिदानलाई शिरोधार्य गरेर कम्युनिस्टहरू एकताबद्ध भइ जनयुद्धलाई सफल बनाउन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले माओवादी घटकहरू सबैले एकपट आत्मालोचना गरेर सबै क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध हुन अपिलसमेत गर्नुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया