पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
ओखलढुङ्गाका रिपुबहादुर सुनुवार पशुपालन, तरकारी र यसैसँग सम्बन्धित काम गर्छु भनेरै भूकम्प गएताका २०७२ सालमा काठमाण्डौ आउनु भएको हो । तर, काठमाण्डौमा सोचेजस्तो सजिलो कहाँ छ र ! छ वर्ष लाग्यो उहाँको सोचले मूर्तरुप लिनका लागि ।
यसबीचमा उहाँले होटल व्यवसाय गर्नुभयो । भाडामा लिएर होटलका लागि पनि आफैँले टहरो बनाउनुभयो । तर, भाडाले पिरोलेपछि भने उहाँले काठमाण्डौ छिर्दाको आफ्नो सोच साकार बनाउने तिर हुनुहुन्छ ।
गएको एकवर्षदेखि उहाँले भक्तपुरको चाँगुनारायण नगरपालिका अन्तर्गत दुवाकोटमा तीन रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहनुभएको छ । साथै उहाँले तरकारी बिक्रीका लागि एउटा पसल पनि खोल्नु भएको छ । बिक्रीका लागि गाडामा पनि तरकारी डुलाउनुहुन्छ । भाडाको बारीमा बस्नका लागि टहरो पनि बनाउनु भएको छ ।
उहाँ मौसम अनुसारका तरकारी, गोलभेँडा, साग आलु लगायतका खेती गरिरहनुभएको छ । बेमौसमी तरकारीका लागि उहाँ टनेल बनाउने तयारीमा पनि हुनुहुन्छ । तीन रोपनी जग्गाले नपुगेर उहाँ करीब नौ/दश रोपनी जग्गाको खोजीमा हुनुहुन्छ ।
उहाँले पसल खोल्नु भएको केवल चार/पाँच दिन मात्र भयो । यो चार/पाँच दिनले पनि उहाँमा उत्साह थपेको छ । पसलमा उपभोक्ता स्वयम् किन्न आउने हुँदा उनीहरुलाई पनि सस्तो पर्छ । ‘ताजा तरकारी पाउनेमा कुनै द्विविधा रहेन’ सुनुवार भन्नुहुन्छ ।
पसलका अलावा तरकारी बजारमा लैजानका लागि उहाँले १० हजार रुपैयाँमा ठेलागाडा पनि किन्नुभएको छ । बिहान तीन घण्टा तथा बेलुका तीन घण्टा जति उहाँ ठेलामा मूलपानी, जोरपाटी, नयाँबस्ती, दक्षिणढोका क्षेत्रमा तरकारी समेत बिक्रीका लागि लैजानुहुन्छ ।
‘लगेका सबै तरकारी कोही बेला बिक्री हुन्छ भने कोही बेला फर्किन्छ’ उहाँको चार/पाँच दिनको अनुभव हो यो । कम हुँदा १५ सयदेखि बढीमा २५ सयदेखि तीनहजारसम्म बिक्री हुन्छ उहाँको ठेलामा ।
व्यापारीले उहाँको बारीबाट १० रुपैयाँ मुठा साग किनेर लगेर दोब्बरभन्दा बढी मूल्यमा बेच्छन् । अरु तरकारीमा पनि किलोको झण्डै दोब्बर जस्तो हुन्छ । ४०/४५ रुपैयाँमा किनेको टमाटर ७०/८० रुपैयाँमा लगेर व्यापारीले बिक्री गर्छन् ।
व्यापारीले २०/२५ रुपैयाँमा बेच्ने साग उहाँसँग दश रुपैयाँमा किनेर लैजान्छन् । तर, त्यही साग उहाँले ठेलामा तथा आफ्नै पसलमा बेच्दा भने जोडीको २५ तथा मुठाको १५ बेच्नुहुन्छ । तर, कोही उहाँको बारीमा वा पसलमा आउने ग्राहक छन् भने १० रुपैयाँ मुठोमै बेच्नुहुन्छ । उहाँकोमा जुनसुकै तरकारी बजारको भन्दा पाँच, दश रुपैयाँ सस्तो नै छ ।
उहाँले ठेलामा तरकारी निकालेको एक हप्ता मात्र भयो । प्रायः तरकारी सबै बिक्री भएको छ । ‘भाउ बुझ्नेले लैजान्छन् । थाहा नहुनेले लान्नन् । व्यापार बढेको छ ।’ सुनुवार खुशी देखिनुहुन्छ ।
पहिले भने उहाँ आफूले उत्पादन गरेको तरकारी व्यापारीलाई नै बेच्नुहुन्थ्यो । अहिले भने आफैँ बिक्री गर्न थाल्नु भएको छ । यसका पछाडि ग्राहकले ताजा र सस्तो तरकारी खान पाउन भन्ने उहाँको उद्देश्य रहेछ ।
यो मात्र होइन यसको पछाडिको कारण । आफैँ बेच्दा व्यापारीलाई १० रुपैयाँमा बेच्ने साग आफूले १५ रुपैयाँमा बेच्न पाइने कारणले नाफा पनि हुने रहेछ । यसमा अर्को कारण पनि जोडिएको छ ।
व्यापारीलाई बेच्दा कहिले किन्न आउने कहिले नआउने गर्दा उत्पादित तरकारी खेर समेत जाने गरेको छ । तरकारी टिपेको २४ घण्टाभित्र ताजा नै ग्राहकको घर आँगनमा पुग्ने हुँदा पनि उहाँले आफैँले बेच्न सुरु गर्नु भएको रहेछ ।
अहिले कहिलेकाहीँ आफ्नो उत्पादनले नभ्याउने अनि सबै तरकारी आफूकहाँ उत्पादन नहुने हुँदा उहाँ बजारबाट खरिद पनि गर्नुहुन्छ । तर, अबको पाँच/छ महिनामा भने उहाँ आफनो उत्पादन मात्रै राख्ने बजारबाट खरिद गरेका सामान नराख्ने सोचमा हुनुहुन्छ ।
मूलपानीको मिलनचोक/चौतारामा रहेको पसलमा उहाँको ६० हजार रुपैयाँ लगानी भएको छ । जसमध्ये आधा तरकारी बेचेको कमाइ हो भने आधा भने लघुवित्तबाट ऋण लिनु भएको छ । पसलमा खाद्यान्न तथा फलफूल पनि थप्ने सोचाइमा हुनुहुन्छ सुनुवार । तीन रोपनीको बारीमा उहाँले खेताला हाल्ने गर्नु भएको छैन । श्रीमान, श्रीमती दुई जना नै खट्ने गर्नुभएको छ ।
सुरुमा कटेज बनाउन तथा एउटा कुखुरा फर्म बनाउन उहाँको तीन लाख रुपैयाँ खर्च भयो । तरकारीमा भने उहाँको धेरै लगानी भएको छैन केवल १५/२० हजार रुपैयाँ मात्र हो ।
व्यापारीलाई बेच्दा पाँच सय/एक हजार रुपैयाँको बिक्री हुने गरेकोमा अहिले आफैँले बेच्न थालेपछि भने केही नहुँदा पनि १५ सय/दुई हजार रुपैयाँसम्मको बिक्री हुने गरेको छ । भएको बेलामा भने तीन हजार/३५ सय रुपैयाँसम्म हुने गरेको छ ।
व्यापारीलाई एक हजारको सामान बिक्री गर्दा आफूलाई पाँच सय नाफा हुने गरेकोमा आफैँले त्यति नै सामान बिक्री गर्दा भने १५ सय/दुई हजार रुपैयाँसम्म नाफा हुने गरेको छ । सागहरु आफैँले बेच्न लैजाँदा बिक्री भएन भने त्यसलाई गुन्द्रुक बनाएर बेच्न सकिने उहाँको अनुभव छ । तर, व्यापारीलाई बेच्दा भने टुङ्गो नहुने हुँदा यसो गर्न सकिँदैन ।
गुन्द्रुक कम्तीमा पनि दुई सयदेखि साढे दुई सय रुपैयाँसम्म व्यापारीलाई बिक्री गर्न सकिने उहाँको भनाइ छ । अझ व्यापारीलाई नबेची खुद्रामा बेच्दा त एक किलोको पाँच सय रुपैयाँसम्म बिक्री गर्न सकिन्छ ।
अब छिटै नै उहाँ जग्गा थपेर सबै सामान आफैँ उत्पादन गरेर केवल आफ्ना सामान मात्र बेच्ने सोचाइमा हुनुहुन्छ । यसका लागि खेताला हाल्ने र तरकारीका अलावा अन्य पशुपालनको समेत योजना रहेको छ उहाँको।
उहाँ उत्साहित हुनुका पछाडि भने तीन रोपनी जग्गामा गरेको तरकारी खेतीले अहिले पाँच जनाको परिवारको खाने, लाउने, बस्ने लगायत अन्य भैपरि आउने सबै खर्च टरेको छ ।
तीन हजार रुपैयाँको तरकारी बिक्री भयो भने अन्य खर्च सबै कटाएर उहाँले सहकारीमा बचत गर्ने गर्नुभएको छ ।
अरु बेरोजगार युवालाई उहाँको सुझाव छ, ‘चुप लागेर नबस्नुस् । सकभर आफैँ उत्पादन गरेर आफैँ बिक्री गर्नुस् । नभए व्यापारी वा पसलमा लगेर भए पनि बेच्नुस् । रोजगारी पनि भयो व्यस्त पनि भइयो । अरुको भर परेर काम खोजेर हिँड्नु पनि परेन ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।