एमाले कसैले पनि हराउन नसक्ने याेद्धा, चुनावबाट फेरि सरकारमा आउँछ : अध्यक्ष ओली

 फागुन ११, २०७८ बुधबार १८:१२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताउनुभएको छ । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै चुनावकाे माध्यमबाट फेरि सरकारमा आउने दाबीसमेत गर्नुभयो । 

आफ्नो ७१ औँ जन्मदिनको अवसर पारेर आज बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि बताउनुभयो । अध्यक्ष ओलीले आफूहरूले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोपसमेत लगाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिँदैन । एउटै सर्तमात्रै उसलाई हराउन सकिन्छ, उसलाई जमिनबाट छुटायो भने । अथवा जमिनबाट माथि उठायो भने । तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ । अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधीशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई । अलिकति मौका मिल्यो भने । तर आखिर उचालेको उचाल्यै कहाँ हुन्छ ? हामी जमिनमा छोइ हाल्छौँ, टेकी हाल्छौँ । जनतासँग एकाकार भइहाल्छौँ । नेकपा एमाले फेरि आउँछ । जनताबाट जन्मिएको, जनताको बीचमा हुर्किएको, जनताका लागि बनेको यो पार्टी, देशका लागि बनेको यो पार्टी, जनताको सुःख र समृद्धिका लागि बनेको पार्टी, त्यस कारणले यसले जनताको साथ प्राप्त गर्छ ।’

अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रूपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता पनि दोहोर्‍याउनुभयो । त्यस अवसरमा उहाँले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेता, कार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गर्नुभयो । 

कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गर्नुभएको विचारहरुको सङ्गालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया