तीन वर्षपछि ‘बी’ डिभिजन लिग माघमा हुँदै
मंसिर ७, २०८१ शुक्रबार
परेवालाई चारो हालेर कतिले धर्म प्राप्त गरे, कतिले शान्ति पाए वा आनन्द पाए त्यो उनै जानुन् तर, हनुमान ढोका परिसरमा परेवाले टिप्ने एक-एक दानाले सुनिता सुवेदी जस्ता करिब २७ जनाको घरको चुल्हो बलेको छ ।
उहाँले बेच्ने चारोमा धान, मकै, गहुँ लगायत खाद्य सामग्री मिसाइएको हुन्छ । उहाँले ती चारोहरु कालिमाटी तथा क्षेत्रपाटीबाट किनेर ल्याउनुहुन्छ । उहाँले किन्दा धान किलोको ३५ रुपैयाँ, गहुँ ४५ रुपैयाँ तथा मकैको सबैभन्दा धेरै ५० रुपैयाँ पर्छ । चारो बनाउँदा कुन कति मिसाउने भन्ने त्यस्तो केही छैन । यसो हेरेर यति भए ठीक हुन्छ भन्ने अनुभवका आधारमा मिसाउने गर्नुहुन्छ । मात्राको घटबढमा मूल्यले खासै अर्थ राख्दैन ।
दोलखा स्थायी घर भएकी सुवेदीले अहिले थानकोटमा दुःखजेलो एउटा घर बनाउनु भएको छ । २०७४ सालमा घडेरी किनेर उहाँले २०७६ सालमा बनाउन थाल्नु भएको घर अहिले पूरा भएको छ । त्यसभन्दा अगाडि भने उहाँ महिनाको ४ हजार रुपैयाँ तिरेर असनको डेरामा छोरीसहित बस्नुहुन्थ्यो । गाउँबाट आएको झण्डै १३/१४ वर्ष कोठामा बसेपछि अहिले भने उहाँ आफ्नै घरमा बस्न थाल्नु भएको हो ।
आमाले दिएको भैंसीको एउटा सानो पाडो हुर्काउँदै त्यसलाई ब्याउनी बनाएर उहाँले १५ हजार रुपैयाँमा बेचेपछि अहिले उहाँको करिब ८० लाख लागेको घरको सपना पूरा भएको हो । हुनत उहाँलाई पनि सुरुमा त्यो १५ हजार यसरी घरका लागि बीउ पुँजी होला भन्ने लागेको थिएन ।
भैंसी बेचेको १५ हजार रुपैयाँ ब्याजमा लगाउँदै र यता परेवालाई चारो बेचेको पैसा जम्मा गर्दै उहाँले थानकोटमा २०७४ सालमा साढे १६ लाख रुपैयाँमा तीन आना घडेरी किन्नुभयो । पछि बिस्तारै २०७६ सालमा जग हालेर घर बनाउँदै गएपछि ८० लाख रुपैयाँमा पूरा भयो ।
घर बनाउँदा लागेको ८० लाख मध्ये अहिले बैंकमा २० लाख रुपैयाँ ऋण छ । २० वर्षमा चुक्ता गर्ने गरी लिएको ऋणको अहिले मासिक २० हजार रुपैयाँ तिर्नुपर्छ । अहिले कमाइ कम हुन थालेपछि भने सुवेदीलाई यो ऋण कसरी चुक्ता गर्ने, चुक्ता गर्न सकिएला, नसकिएला अनि बैंकले घर लैजाने पो हो कि भन्ने चिन्ताले उहाँलाई राति राम्ररी निद्रा लाग्दैन ।
‘२० हजार त किस्ता बुझाउनु पर्छ । ५ हजारको व्यापार हुँदैन । रुनु न हाँस्नु भाछ । औडाहा बल्या छ’ यसो भन्दै गर्दा उहाँको मुहारमा ऋणको बोझ स्पष्ट देखिन्छ ।
बाँकी रहेको २० लाख रुपैयाँ कसरी तिर्ने भन्ने रनाहामा सुनिता बिहान ४ बजे झिसमिसेमै ७ कक्षामा पढ्ने १२ वर्षकी छोरीलाई ओछ्यानमै छोडेर थानकोटबाट हनुमानढोका हानिनुहुन्छ । ढिलो हुँदा चारो खुवाउने कोही छुट्लान् र घरको ऋण तिर्न नसकिएला कि भन्ने चिन्ता छँदैछ । सँगै महिना मर्यो कि टुप्लुक्क आइपुग्ने मासिक किस्ताको जोहो कसरी गर्ने भन्ने मनमा पिरलो छँदैछ ।
थानकोटबाट कहिले गाडीले ढिलो गर्दा चारो हाल्न आउनेले २०, ५० र १ सयका साना प्लाष्टिकका बाटामा हातमा राखेर परेवालाई चारो हालेको दृष्य झलझली आउँछ । त्यो सँगै कुन चाहिँ प्लाष्टिकको बाटा छुट्दा कति नाफा छुटे भन्ने हिसाब मनले निरन्तर गर्न कहाँ छोड्छ र सुवेदीको ।
शनिबार भने उहाँको व्यापार धेरै हुन्छ । बिहानैदेखि मान्छेहरु आएर परेवालाई चारो ख्वाउँछन् । अन्य बारमा भने मंगलबार ठिकै हुन्छ । अन्य चाडपर्व र जात्रामा भने उहाँको चारो धेरै बिक्री हुन्छ । तर, यहाँ पनि नगर प्रहरीले छोड्दैनन । सामान फाल्ने, पोख्ने छँदैछ कुटेर जीउ नै थिलथिलो बनाइसकेको उहाँको गुनासो छ ।
थानकोटबाट बसले यहाँसम्मको भाडा ३० रुपैयाँ लिन्छ । यस हिसाबले जाँदा आउँदा उहाँको ६० रुपैयाँ खर्च हुन्छ । बिहानै हिँडे पनि खर्च जोगाउन उहाँ खाना भने घरबाटै हटकेसमा राखेर ल्याउनुहुन्छ । दिउँसोका खाजा भने यसै भन्ने छैन । चिया एक कप भने निरन्तर छ । अरुलाई २० रुपैयाँ पर्ने थर्मसको चिया उहाँलाई भने १० रुपैयाँमा दिन्छन् ।
अहिले ४७ वर्षकी सुवेदीको १३ वर्षको उमेरमा विवाह भएको हो । उहाँको श्रीमान भने इन्द्रचोकतिर भारी बोक्नुहुन्छ । ‘तर, आजसम्म बुढाको पैसा रातो हो कि सेतो देख्न पाएको छैन’ उहाँको आफ्नै दुखेसो छ । ‘खाली बाउआमा, दिदी बहिनी र आफन्तलाई मात्र ख्वाउँछन् । बिहे भएदेखिका वर्षमा अहिलेसम्म बुढाको भनेको मुश्किलले ६० हजार चलाइयो होला,’ औंला भाँच्दै उहाँ भन्नुहुन्छ, ‘त्यै भएर सुध्रन्छन् कि भनेर छोडपत्र समेत गरियो । तर, केही सीप लागेन । बस्न मकहाँ नै आउँछन् । जे गरे पनि सुध्रिएनन् ।’
पहिले सुवेदी खुलामञ्चमा बदाम बेच्नुहुन्थ्यो । उहाँले हनुमान ढोकामा यसरी चारो बेच्न थालेको भने झण्डै १२/१५ वर्ष भयो । चारो बाहेक काल भैरवको मन्दिर पनि सँगै रहेकोले उहाँ ग्रह शान्तिका नवग्रहका सामान पनि राख्नुहुन्छ कहिलेकाहीँ ।
‘दिनमा करिब १२/१५ सय रुपैयाँको व्यापार हुन्छ । आज १२ सयको भयो अहिलेसम्म,’ उहाँ थैलीमा रहेको हजारको १ वटा तथा सयको दुई वटा नोट नै देखाउँदै भन्नुहुन्छ, ‘१५ सयको व्यापार गर्दा झण्डै ५ सय नाफा हुन्छ ।’
सामान्यतया लकडाउनको बेलामा त व्यापार नहुनुपर्ने हो । तर, अचम्म ! उहाँको भने यही लकडाउनकाबीच ३ लाख रुपैयाँको कमाइ भयो । ‘यसो फाट्टफुट्ट मान्छे आउँथे । एउटैले २/४ हजारको चारो हालेर जान्थे । चरालाई भने भोको राखेनन्’ लकडाउनको हिसाब भने बेग्लै छ सुवेदीको । चारो बेच्ने अरु सबै घर गएका कारण उहाँ एक्लै हुनुहुन्थ्यो । लकडाउनका बेलाको ३ लाख कमाइ हुनु पछाडिको कारण यही हो ।
बिहान ४ बजे घरबाट हिंडेपछि ६ बजेदेखि सुरु हुने उहाँको ‘ड्युटी’को बेलुकाको समय भने निश्चित छैन । गाडी नपाइने कारण ६ बज्दा नबज्दै उहाँ हिँडिसक्नुहुन्छ ।
थानकोटमा रहेको तीन आनामा बनेको साढे दुई तले घरमा भाडा नलागेपछि उहाँ अहिले थप तनावमा हुनुहुन्छ । कमाइको अन्य भरपर्दो आधार पनि छैन । यसकारण पनि बैंकको ब्याज तिर्न नसकेर बैंकले घर खान्छ भन्ने सबैभन्दा ठूलो पीडा छ उहाँलाई । त्यो पीडाको प्रष्ट रेखा उहाँको मुहारमा झल्किन्छ । भन्नुहुन्छ, ‘म त मरेर जाउँला तर, छोरीले ऋणमा बोक्ने भई घर, कसो गरौँ !’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।