एमसीसीबारे बुढा बा र सुरक्षागार्डको बानेश्वर वार्ता

 फागुन १५, २०७८ आइतबार १३:३८:४ | मिलन तिमिल्सिना
unn.prixa.net

गाडीको ताँती लाग्ने सडकमा ढुङ्गा र इँटा छरपस्ट । खेतबारीमा गाईवस्तु छेक्नका लागि बार बारेजस्तै वल्लो छेउबाट पल्लो छेउसम्म काँडेतार र जाली । जालीको बारको पारिपट्टि लौरो र बन्दुक बोकेर उभिएका प्रहरी, वारिपट्टि ढुङ्गा र इँटा समातेर उभिएका आन्दोलनकारी । बीच सडकमा पानी भरिएका प्रहरीका ट्याङ्कर । वरपर रमितेका हुल । हिउँद लागेपछि आन्दोलन हुने शहरमा यस्ता दृश्य गायब भएको धेरै भएको थियो । 

वर्षाैँपछि सडकमा यस्तो दृश्य देखिन थालेको खबर सुनेपछि लौरो टेक्दै बानेश्वर पुगेका बुढा मान्छे छक्क परे । सडक छेउमा रहेको बैंकको बन्द ढोकामा उभिरहेका सुरक्षागार्डलाई बुढा मान्छेले सोधे, ‘हैन बाबु यहाँ के भइरहेको छ ? बीच सडकमा किन बार लगाएका, खेती गर्न लागे कि क्या हो ?’ 

खेतीपाती हैन बा राजनीति ! के को खेती गर्थे अहिलेका मान्छेले ? खेती गर्ने अल्छीले त यहाँ ढुङ्गामुढा गर्न आएका । त्यसमाथि खेतीभन्दा गतिलो राजनीति छँदैछ नि । अमेरिकाको सेना आउँछ भनेर यहाँ बारबेर र ढुङ्गामुढा हुँदैछ क्या बा ।

कहाँबाट आउँदैछ त अमेरिकी सेना ?

खै कताबाट आउँदैछ त्यो त थाहा भएन । तर एमसीसी पास भएपछि अमेरिकी सेना आउँछ भनेर हल्ला गर्दैछन् ।

एमसीसी पास चाहिँ कहाँ हुँदैछ त बाबु ? 

उ त्यहाँ ठूलो हल छ नि बा, हो त्यहीँ संसद् भवनभित्र एमसीसी पास हुँदैछ रे । अनि त्यहाँ पास हुन नदिन भनेर यहाँ नाराबाजी र ढुङ्गामुढा गर्दैछन् ।

अनि यहाँ ढुङ्गामुढा र नाराबाजी गरेपछि त्यहाँ एमसीसी रोकिन्छ त बाबु ?

खै बा उनीहरू नै जानून् । उनकै नेताहरू कहिले एमसीसी चाहिन्छ भन्छन्, कहिले चाहिँदैन भन्छन् । एकथरि चुप लागेर बस्छन्, अर्काथरि बुरुकबुरुक गर्छन् । अनि उनका कार्यकर्ता चाहिँ यहाँ उफ्रँदै ढुङ्गामुढा गर्छन् ।

अनि यो एमसीसी भनेको चाहिँ के रहेछ नि बाबु ?

खै बा अस्ति एउटा आन्दोलनकारीले बिजुलीको मिटर बक्समा हुने सानो स्विच हो भन्थ्यो । अर्को चाहिँ एमसीसी आयो भने नेपालका वनजङ्गल र चराचुरुङ्गी नास हुन्छ भन्थ्यो । अर्को चाहिँ भारतीय सुरक्षाकर्मी एसएसबी भनेजस्तै अमेरिकी सेनालाई एमसीसी भनिन्छ भन्थ्यो । अनि एमसीसी आयो भने अमेरिकी सेनाले देश ध्वस्त बनाउँछ भनेर रोक्न आएका रे ।

देश ध्वस्त बनाउन अमेरिकाको सेना आइरहन पर्छ र बाबु । हाम्रै नेता कार्यकर्ता काफी छैनन् र ? ल हेर त अस्ति यहाँ आउँदा सडकको बीचमा कति राम्रा बोटविरुवा र फूलको हरियाली थियो, अहिले सबै भाँचेर र निमोठेर सखाप बनाएछन् । उ त्यहाँ हेर त बाटोमा बिच्छ्याइएको टायल त जम्मै उप्काएर टुक्रा–टुक्रा पो पारेछन् त ।

नयाँ बनाउने रे क्या बा । यहाँ भएका सबै पुरानो भयो रे । सडकको बीचमा बोटविरुवा, फूल र हरियाली सुहाएन रे । अलिअलि हाँगा भाँच्यो भने पहिलेको भन्दा दृश्य फरक देखिन्छ, नयाँ लाग्छ, पर्यटकहरू पनि आउँछन् । अनि यी बोटविरुवामा सधैँ पानी हाल्नुपर्छ, गोडमेल गर्नुपर्छ, यसको सट्टामा प्लास्टिकका बिरुवा राख्यो भने केही गर्नुपर्दैन । भइरहेका रुखबिरुवा मासेर प्लास्टिकका राख्ने होला । अनि सडकपेटीमा बिच्छ्याइएका टायल पनि पुरानो भयो । अब यसको ठाउँमा नयाँ टायल र मार्बल राख्ने रे । हाम्रा युवाहरू ध्वंश हैन, निर्माणको काममा जुट्दैछन् भनेर बुझ्नुपर्‍याे क्या बा ।

अनि त्यो पर धुवाँको मुस्लो निकाल्दै आगोको कोइलाजस्तो के फालेका नि बाबु ।

त्यसलाई अश्रु ग्याँस भन्छन् बा । अलि यता आउनुहोस् आँखा पोल्ला । एकछिन बसिरहनुभयो भने गोली चलेको पनि सुन्नुहुन्छ । उता युक्रेनमा भइरहेको बमबारीको झल्को यहीँ देख्न पाइन्छ बा । हाम्रा नेता र उनीहरूका कार्यकर्ताले तपाईँ हामीलाई अमेरिका र युक्रेन यहीँ बसेर देखाइरहेका छन् । टिभी र अनलाइनमा हेरिरहनै परेन । 

ल ल ल कहाँबाट आयो यो पानीको फोहोरा । लौन बाबु होली आइसकेको हो र ? 

यता आउनुहोस् बा यता । पानीले भिज्नुहोला । प्रहरीले आन्दोलनकारीलाई हटाउन पानीको फोहोरा हानेको हो ।

ए गज्जबै रहेछ नि । बिहान बेलुका चिसै भए पनि दिउँसो गर्मी छ । ढुङ्गा र इँटा हान्दा, नारा लगाउँदा, उफ्रँदा थाकेकाहरूलाई पानीले थोरै भए पनि शीतल दिने भो । अनि नि बाबु सरकारमा भएका मान्छे पनि सरकारकै विरोध गर्न सडकमा आएका रैछन् त ?

कुरो यसो नि त बा । सिंहदरबारभित्र भएको सरकार बाहिर देखिँदैन । बाहिर नदेखिँदासम्म तपाईँ हामीलाई ती पार्टी र नेता छन् छैनन् थाहा हुँदैनन् । त्यसैले सबैलाई देखाउनका लागि सडकमा आएका । सरकार र सडक एकातिर मात्रै हुँदा कतैतिर पनि नहुने डरले दुईतिर हुँदा कसो एकतिर चाहिँ नदेखिएला भनेर आएका रे बा ।

लौ बाबु यो एमसीसी भन्नेले पनि धेरैथोक देखायो । एमसीसी नआउँदै यति धेरैथोक देख्न पाइयो, एमसीसी नै आयो भने के के पो देख्न पाइने हो ?

खै बा सबै अहिल्यै देखिसकियो, अब के देख्न बाँकी होला र ! त्यसमाथि व्याख्यात्मक टिप्पणी थपिएपछि के के पो हुने हो ।

ल ल बाबु बाँची रहियो भने देख्न पाइएला । अब त जान्छु पनि । उ त्यहाँ पानी छेपेको ठाउँमा गएर यसो मुख धुनु पर्‍याे ।

त्यता नजानु है बा, तपैंसित भएको यही लौरो पनि खोस्लान् फेरि एमसीसी रोक्ने बार बनाउन । घर जानुस्, घर । प्रहरी र आन्दोलनकारीले नदेख्ने गरी । आन्दोलनमा पनि व्याख्यात्मक टिप्पणी हुन्छ कि भरे, भोलिसम्म हेर्दै गरौँला नि । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया