घर आउने जहाज चढ्न झोला पोको पारेका जीतबहादुरको अस्तु मात्र नेपाल आयो

 फागुन १८, २०७८ बुधबार १६:४:४०
unn.prixa.net

लीला निरौला/खोटाङ ।

खोटाङ – ‘जीत बहादुर दाइ त बित्नुभयो भाउजू' नयाँ नम्बरबाट आएको फोन उठाउँदा सूर्जकुमारी बस्नेतको कानमा नमिठो गरी ठोक्कियो यो आवाज ।

बिहान मात्र घर आउने जहाज चढ्न एयरपोर्ट जान्छु भनेका श्रीमानको मृत्यु भएको खबर सूर्जकुमारीले कल्पना पनि गर्न नसक्ने खालको थियो । 

बिहान ६ बजे इमोमा कुरा गर्दै ११ बजे एयरपोर्ट पुग्नु पर्ने भन्नुभएको थियो श्रीमती सूर्जकुमारीलाई जीतबहादुरले । 

त्यसैले पनि कोही अपरिचित व्यक्तिले नमिठो ठट्टा गरे झैँ लाग्यो उहाँलाई ।

तर खबर सत्य थियो । घर आउन जहाज चढ्न झोला पोको पारिसकेका जीतबहादुरको अस्तु मात्र नेपाल आयो ।

२०७८ असोज २ गते

केही दिन अघि मात्र आफ्नो माइजुको सासू बितेकाले माइजुको घरमा काम सघाउँदै हुनुहुन्थ्यो त्यस दिन (२०७८ असोज २ गते) । मोबाइलमा घरी घरी नयाँ नम्बरबाट फोन आइरहेको थियो । तर उठाउँदा उताबाट मानिस बोल्दैन थिए । घर हिँड्न लागेका श्रीमानले जिस्काए होलान् भन्ने ठान्नुभयो सूर्जकुमारीले ।

‘त्यो नम्बरबाट मलाई दुई तीन पटक फोन त्यसअघि पनि आएको थियो, तर उठायो कि काटिहाल्ने, बुढोले नै होला जिस्काएको जस्तो लाग्यो, तर के हुन्थ्यो त्यस्तो नराम्रो खबर भएर पो रहेछ, घर आउने प्लेन चढ्न तयार भएका मान्छेले संसार छाडेको कुरा विश्वास गर्न मनले मान्छ त’ सूर्जकुमारी भन्नुहुन्छ ‘मलाई त सपना होला जस्तो लाग्यो नि ।’

खोटाङको केपीलासगढी गाउँपालिका २ का जीतबहादुर बस्नेत रोजगारीको सिलसिलामा १२ वर्षअघि २०६६ सालमा मलेसिया जानुभएको थियो । बिदामा घर आउजाउ गरिरहनुहुन्थ्यो। अन्तिम पटक भने २०७६ सालमा आउनुभएको थियो ।

एक दशकभन्दा लामो समय विदेशमा बिताएकाले पनि जीतबहादुरको यस पटक भने बालबच्चासँगै दशैं मनाउने योजना थियो । त्यही योजना अनुसार नै दशैंको मुखमा घर आउने टिकट काट्नुभएको थियो । तर जीतबहादुरको यो जना अधुरै रह्यो ।

घर आउने जहाज चढ्न ठिक्क परेका श्रीमानले संसार छाडेको खबर सुन्दा यता घरमा बालबच्चाको सपना पनि चक्नाचुर भयो । 

सँगै बस्ने साथीले दिए तर मृत्युको कारण के हो भनेर खुलाएनन् ।  केही घण्टा अघि मात्र बोलेको मानिस एक छिन मै छैन भन्दा सूर्जकुमारीको मनमा ठूलो प्रश्न तेर्सियो । किनकि सूर्जकुमारी र छोराछोरी त बुवाको स्वागत गर्न तम्तयार थिए । दशैंमा बाबाले ल्याउने नाना र पापाको व्यग्र प्रतीक्षा थियो । 

मृत्युको कारण

श्रीमानको मृत्युको खबर सुनेपछि दिक्तेल बजारमा रहेको आप्रवासी स्रोत केन्द्रमा पुग्नुभयो सूर्जकुमारी । 

केन्द्रमा घट्नाबारे भन्नुभयो । सहयोग गरिदिन आग्रह गर्दै निवेदन पनि लेख्नुभयो । केन्द्रले जीतबहादुरको मृत्युको बारेमा बुझिदिन र आवश्यक सहयोग र समन्वयका लागि काठमाण्डौको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)मा निवेदन पठायो ।

मलेसियामा रहेको नेपाली दूतावासले पीएनसीसीलाई दिएको जानकारी अनुसार जीतबहादुर कोठामा एक्कासि ढलेको र अस्पताल पुर्याउदा प्राण गइसकेको थियो । त्यसमाथि अस्पतालले कोरोनाको कारण मृत्यु भएको भनेर लेखिदियो । यही जानकारी केन्द्रले सूर्जकुमारीलाई दियो ।

कोरोनाको कारण ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन मिल्दैन । केन्द्रले यही जानकारी सूर्जकुमारीलाई पनि दियो । गन्तव्य देशमै शव अन्त्येष्टिका लागि आवश्यक समन्वय र सहजीकरण पनि आप्रवासी स्रोत केन्द्रले गरिदियो ।

‘घर आउन ठिक्क परेको मानिसलाई कोरोना लागेको कुरा पत्याउन सकिने नै थिएन, तर बाध्यता हुँदो रहेछ, सास भेट्न पाइएन नै लाससमेत देख्न नपाउँदा साह्रै गाह्रो हुने रहेछ’ सूर्जकुमारी दुखेसो पोख्नुहुन्छ । 

शव स्वदेश ल्याउन नमिल्ने भएपछि उतै सदगतका लागि सूर्जकुमारीले केन्द्रकै सहयोगमा अनुमति दिएको कागजात बनाएर पठाउनुभयो ।

यताबाट सहमतिको कागजात पठाएपछि मलेसियामा जीतबहादुरको अन्त्येष्टि भयो । असोज २ गते ज्यान गुमाएका जीतबहादुरको एक महिनापछि कार्तिक २ गते अस्तु नेपाल आयो ।

‘दशैं मनाउन घर आउँछु भनेका श्रीमानको त्यसै दिन मृत्यु भएछ, मान्छे भेट्न नपाए पनि आप्रवासी स्रोत केन्द्रले सहयोग गर्दा लोग्नेको खरानी भए पनि छुन पाएँ’ सूर्जकुमारी भक्कानिँदै भन्नुहुन्छ ।

आप्रवासी स्रोत केन्द्र र  पालिकाले सहयोग गर्दा खुसी लाग्यो

कमाउन गएका श्रीमानको खरानी मात्र आउँदा कसको मन मान्छ र । सानोतिनो साहसले त्यो पीडा थेग्न सक्दैन । तर आलो घाउमा कसैले लगाइदिएको थोरै मलमले ठुलो काम गर्छ । अहिले सूर्जकुमारीलाई पीडाबाट उठ्ने साहस पनि आफ्नै पालिकाले दिइरहेको छ । 

सूर्जकुमारीले कानुन अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारका परिवारले आर्थिक सहायताका लागि निवेदन पनि पालिकाबाट नै दिनुभयो । निवेदन दिन आप्रवासी स्रोत केन्द्र र पालिकाले सहयोग र समन्वय गर्दा काठमाण्डौ धाउन परेन । बैङ्क खातामा रकम आयो ।

वैदेशिक रोजगार बोर्डबाट पाएको ७ लाख रुपैयाँ आर्थिक सहायता रकम दुई छोरीकै पढाइमा खर्च गर्ने बताउनुहुन्छ उहाँ ।

उमेरले ४२ वर्ष टेक्नुभएकी सूर्जकुमारी भन्नुहुन्छ ‘श्रीमान् मरेर गए पनि छोरीलाई यही पैसाले राम्रोसँग पढाउँछु, छोरीहरूले राम्रो पढेको देख्दा उहाँलाई पनि त खुसी लाग्ला ।’

(लीला निरौला सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत खोटाङमा रहेको आप्रवासी स्रोत केन्द्रमा परामर्शकर्ताको रूपमा कार्यरत हुनुहुन्छ । सामी परियोजना नेपाल सरकार र स्वीस सरकारबीचको दुईपक्षीय परियोजना हो ।)

अन्तिम अपडेट: असार १३, २०७९

तपाईको प्रतिक्रिया