वर्तमान सरकारले नेपालकाे चुच्चे नक्सा गायब गर्‍याे : सुवाष नेम्वाङ

 फागुन २१, २०७८ शनिबार १६:३५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्वाङले वर्तमान सरकारले नेपालकाे चुच्चे नक्सा गायब गरेकाे आराेप लगाउनुभएकाे छ । 

प्रेस चौतारी नेपाल, वाग्मती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा वर्तमान सरकारले गायब गरेकाे बताउनुभएकाे हाे । प्रधानमन्त्री शेरबहादुर देउवाले आफैले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै नेम्वाङले आक्रोश पाेख्नुभयाे । 

'यो देशको राष्ट्रियताको सन्दर्भमा लडाइ लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चेनक्सा हामीले बनायौं । यो कम ठूलो कुरा थियो ? कम्ति चुनौती थियो यसमा ?', उहाँले भन्नुभयाे, 'हामीले त्यतिबेला सरकारको सय दिनको काम सार्वजनिक गर्ने बेलामा हामीले चुच्चे नक्सा छापेका थियौं । तर यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस्त ? त्यहाँ नेपालको लागो छ । तर लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्सा गायब छ ।'

संविधानसभाका अध्यक्ष समेत रहनु भएका उपाध्यक्ष नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै पालिकाको चुनाव पछि धकेल्ने खेलमा लागि परेको आरोप समेत लगाउनु भएको छ ।उहाँले विगतमा पनि चुनावमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको पालिकाको चुनाव पनि पछि सार्ने खेल खेलिरहेको बताउनु भएको हो ।

आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको पालिकाको चुनाव पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाउनु भयो । उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु चुनाव भनेपछि किन डराउछन ? भनि प्रश्न गर्नु भयो ।  

‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन ? प्रतिगमन भन्छन् । भरसक जनतामा जाने मिति पर सार्छन्', उहाँले भन्नुभयाे, 'बल्लबल्ल तपाईँ–हामीले लडेर पालिकाको चुनावको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया