पर्वतमा बन्यो सिसैसिसाको 'स्काई ब्रिज'

 फागुन २३, २०७८ सोमबार १६:४७:४७ | सन्तोष थापा
unn.prixa.net

पर्वत – नेपालमै पहिलो पटक सिसैसिसाको पुल स्काई ब्रिज सञ्चालनमा आएको छ । पर्वतको कुश्मा बजारमा कालीगण्डकी नदीको खोँचमा बनेको स्काई ब्रिज आज सोमवारदेखि सञ्चालनमा आएको हो । गृह जिल्ला पर्वतमा बनेको स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्नुभयो ।

उद्घाटनका क्रममा अध्यक्ष तिमिल्सिनाले कालीगण्डकी नदी कुनै बेला बलेवा र कुश्मा बासीहरूका लागि अभिशाप बनेको भए पनि अहिले वरदान साबित भएको बताउनुभयो । उहाँले कालीगण्डकी खोँचमा बनेका र बन्दै गरेका साहसिक पर्यटकीय खेलहरूले पर्वत मात्रै नभइ समग्र नेपाल नै साहसिक खेलको गन्तव्यका रूपमा विकास हुँदै गएको बताउनुभयो । 

हार्नेस जिपलाइन प्रालि कुश्माले टिकटक पारखीहरूका लागि लक्षित गरेर देशमै पहिलो पटक स्काई ब्रिज निर्माण गरेको कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिनुभयो । कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भिरको दृश्य छर्लङ देखिन्छ । तल हेरेर डर र आनन्द दुवै लिन सक्ने गरी पुल बनेको छ ।

एकै पटकमा एक सय जनासम्मले स्काई ब्रिजको मजा लिन सक्ने बस्नेतले जानकारी दिनुभयो । पुल ३५ फिट लामो र ११ फिट चौडा छ । ‘हामीले सिसाको पुल नेपालका लागि पहिलो पुल बनाएका हौँ’, उहाँले भन्नुभयो, ‘अहिले युवाहरूको आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौँ ।’

अहिले निर्माण भएको छोटो स्काई ब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताउनुभयो । 

हार्नेस प्रालिले कुश्मा बजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । गएको आइतवारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० जोडीले मजा लिएको बस्नेतले जानकारी दिनुभयो ।

कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जिप लाइन पनि सञ्चालनमा ल्याएको छ । अहिले जिप लाइनमा बालबच्चादेखि ८० वर्षे वृद्धवृद्धासम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँहरूबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक सुनीलसिंह बानियाँले बताउनुभयो । ‘बन्जी, स्विङ लगायतका साहसिक खेलभन्दा जिपलाइनमा केही कम डर लाग्ने अनुभव जिप लाइनमा बगेकाहरूले सुनाएका छन् । जिप लाइनप्रति उनीहरुको धारणा कस्तो रह्यो भन्नका लागि हरेक जनासँग सोध्ने गरेका छौँ’, उहाँले भन्नुभयो ।

जिप लाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइबाट सुरु हुने जिप लाइनको सुरुवाती गति प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने गर्दछ । १४ सय ८० मिटरको दुरी पार गरिसक्दा कालीगण्डकी नदी किनारमा कम्पनीले नै निर्माण गरेको रिसोर्टमा पुगेर जिप लाइनको ल्यान्डिङ हुन्छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया