भगवती फल्चामा बसेर विगतको याद

 फागुन २५, २०७८ बुधबार १२:५५:३७ | वैद्यनाथ पाैडेल
unn.prixa.net

पहिले बिहानदेखि बेलुकासम्म आगोमा बसेर तामा पित्तलको भाँडा बनाउने रत्न प्रसाद शाक्यको अहिले दैनिकी फेरिएको छ । बुढेसकाल लागेपछि पहिलेजस्तो काम गर्न सकिंदैन । त्यसैले पाटनको बंगलामुखी मन्दिर नजिक घर भएका ८३ वर्षीय शाक्य अहिले घर नजिकैको फल्चामा बसेर दिन कटाउनुहुन्छ । 

उहाँको दैनिकी बिहान सात बजे सुरु हुन्छ । सात बजे चिया बिस्कुट खाएपछि फेरि अर्को एक पटक चिया पाक्छ घरमा । अनि ठीक १० बजे भात पाक्छ । खाना खाइसकेपछि भने उहाँ सुत्नुहुन्छ । कोही बेला निद्रा लागि पनि हाल्छ, कोही बेला लाग्दैन । 

खाजा कहिले दुई बजे त कहिले तीन बजे तयार हुन्छ । खाजा धेरैजसो नातिनीहरुले बनाउँछन् । बेलुकाको खाना भने आठ बजे तयार हुन्छ । ‘खाना अगाडि यसो सुर्ति खायो । ओच्छयानमा बस्यो । चिसो हुन्छ । अनि खाना खाएपछि एकछिन टिभीमा नेपाली च्यानल हेर्‍याे अनि सुत्यो’ शाक्य भन्नुहुन्छ, ‘हाम्रो पालामा टिभी थिएन । एउटा रेकर्ड भन्ने थियो । दम दिएर रेकर्ड राखेर बजाउँथ्यो अनि गाना सुन्ने । त्यति नै थियो । ओस्ताद, हार्पिन राखेर गाना बजाउने भने थियो ।’

दिउँसो दुई बजे खाजा खाएपछि केहीबेर आराम गरेर टहलिन निस्कनुहुन्छ, घर नजिकैको भगवती फल्चामा ।  ‘मन मिल्ने साथी भेटे सञ्चो सुविस्ता सोध्यो । नत्र साथी खोज्न कहाँ जानु’ भन्नुहुन्छ शाक्य ।

भगवती फल्चा पाँच वर्षअघि अहिलेजस्तो बस्न मिल्ने खालको थिएन । स्थानीय र ललितपुर महानगरको संयुक्त प्रयासपछि यसको मुहार फेरिएको हो । अहिले भने शाक्य जस्ता ज्येष्ठ नागरिक, युवा र प्रौढलाईसमेत सुस्ताउन मिल्ने ठाउँ बनेको छ भगवती फल्चा । 

१५ वर्षको उमेरदेखि काम

‘हाम्रो काम भनेको करुवा बनाउने, भाँडाकुँडा बनाउने, पानस बनाउने, देउताथानको घण्टी बनाउने यस्तै त हो’ शाक्यले पुर्ख्याैली काम सम्झनुभयो । उहाँले १५ वर्षको उमेरमा भाँडाकुँडा बनाउने काम सुरु गर्नुभएको हो ।  

पहिला पहिला भाँडाकुँडा बनाउने फ्रेमको लागि भीर माहुरीको महको मैन चाहिन्थ्यो । अनि त्यसलाई पोलेपछि कति बाक्लो पातलो र आकार राम्रो बन्छ त्यही आधारमा छनौट हुन्थ्यो । पछि त्यसमा माटो लगाएर सय/डेढसय धार्नी धातु पगालेर आकार अनुसारको भाँडा बनाउन थालियो । त्यसमा माटो पनि लगाउनु पर्छ । 

ती ठूला ठूला भाँडा च्याप्न र राखझिक गर्न ठूला ठूला फलामको सनासो बनाउनु पर्छ च्यापेर झिक्न । ‘तागत हुन्जेल मात्र ती काम गर्न सकिन्छ । तागत नभए काम गर्न सकिँदैन’ उहाँको अनुभव बोल्यो, ‘मासु त कति खाइयो खाइयो । आगोमा ज्यादा चलेपछि शरीरले मासु खोज्दोरेछ । नून पनि ज्यादा खाइने रैछ ।’ तर, अहिले भने उहाँ कहिलेकाहीँ मात्र मासु खानुहुन्छ । 

पहिले तामा, पित्तल आफैँले किन्ने भन्दा पनि पत्रु भएर आएका सामान ठोकठाक पारेर त्यसलाई गालेर भाँडा बनाउने चलन थियो उहाँको । महिनाभरिमा कति कमाइ हुन्थ्यो भन्ने हेक्का छैन उहाँलाई । ‘यसो दुई चार सय जोगिन्थ्यो । अनि चाहिने सामान किन्यो, ठिक्क’ शाक्य भन्नुहुन्छ ‘त्यसबेला तामा एक/दुई सय रुपैयाँ किलोमा आउँथ्यो । एउटा ठूलो गाग्रीको हजार, बाह्रसयसम्म पर्थ्याे ।’

सामान बेच्न भने फलानो गाउँको, फलानो ठाउँको भनेर ठूला ढाकर बोकेर आउने मान्छेलाई हिसाब गरेर यतिको सामान हो भनेर हिसाब गरेर पठाउनुहुन्थ्यो शाक्य । ‘अब त्यसले ल्याएर तिरे तिर्‍याे नत्र मान्छे खोज्न कहाँ जानु । सत्य युग थियो र केही भएन । पछि मान्छे बिग्रिए अनि लिनुदिनुको काम छोडियो’ युग सँगै कारोबार फेरिएको उहाँको अनुभव छ ।

पहिले मान्छे फलानो दिन आउँछु भनेपछि एक/दुई मन सामान जोखेर राखिदियो । अनि उसले आएर लैजान्थ्यो र एक/दुई महिना बिताएर बेचेर आउँथ्यो । ‘ऊ नआन्जेल थर्कमान । गयो नि आएन भने त आफ्नो । खान्छ कि डाँडा काटेर जान्छ कि भनेर डर लिएर बस्नु पर्ने’ शाक्य भन्नुहुन्छ, अहिले त जति सामान बनाएर घरमै राखे पनि बिक्छ ।’

बुढ्यौलीका कुरा

कान त्यति राम्रो सुन्नुहुन्न शाक्य । अलि ठूलो स्वरले बोल्नुपर्छ । उहाँलाई खासै ठूलो रोग भने छैन । ‘हात गोडा त्यति राम्रो छैन । कान सुनिँदैन दुई पटक अर्थ्याउनुपर्छ’ बुढ्यौलीले गलेको हातलाई लट्ठीको सहारा दिँदै शाक्यले भन्नुभयो, ‘आँखा भने राम्रै देख्छु । तर, अहिले अन्त भने कतै जान सकिँदैन । किचेर पेलेर हिँडला भन्ने डर हुन्छ ।’

शाक्यको अनुभवमा त्यस ठाउँमा नयाँ घरहरु त खासै धेरै बनेका छैनन । अहिले बनेका घर राम्रा छन् । बाटो त्यति राम्रो थिएन । अहिले अलि राम्रो छ । सफा पनि छ । मान्छे भने धेरै भए । 

उहाँले कालोपाटीमा अँगारले लेखेर केही पढेको पनि हो । कालोपाटीमा लेख्यो अनि त्यसलाई झारपातले मेट्यो फेरि लेख्यो । उहाँ अक्षर चिन्नुहुन्छ । सरकारले दिएको वृद्ध भत्ता यसो चिया बिस्कुटमा खर्च हुने भन्दै शाक्य भन्नुहुन्छ, ‘उहिले हेरी अहिले धुमधाम महँगो छ फुर्मास केही गरेको छैन । तर पनि जोगिँदैन ।’

‘हाम्रो पालामा एक रुपैयाँको एक पाथी चामल आउँथ्यो । नून एक रुपैयाँको पाँच कुरुवा तथा सक्खर एक धार्नीको पाँच रुपैयाँ पर्थ्याे’ अहिलेको महंगी हेर्दै शाक्य भन्नुहुन्छ,  ‘दशैँमा एक/दुई हजार हालेर राँगो किनेर ल्याइन्थ्यो । त्यसले सबै परिवारलाई पुग्थ्यो । तर, अहिले एक/दुई हजारले के आउँछ र ! दशैँमा त्यसबेला किन्ने भनेको लुगाफाटा र पूजाआजाका सामान हुन्थे । अरु खासै किन्नु पर्दैनथ्यो ।’

उहाँका तीन भाइ छोरा तथा एक छोरी हुनुहुन्छ । तीनजना नातिनीहरु उहाँसँग बेला बेला जिस्केर उहिलेका उहाँका कुरा सोधिरहन्छन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया