वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : आज नेपाल र युगान्डा...
फागुन २९, २०८१ बिहिबार
काठमाडौं – वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा नदिएको बताउनुभएको छ ।
उज्यालो अनलाइनसँग कुरागर्दै सरावगीले राजीनामाको कुरा हावादारी रहेको बताउनुभयो । मेयर सरावगीले आफूले राजीनामा दिएको नभई पार्टीका नेताहरु समक्ष असन्तुष्टि भने व्यक्त गरेको बताउनुभयो ।
‘असन्तुष्टि समेटिएको पत्रलाई बदमास, फटाहाहरुले तोडमोड गरेर राजीनामा पत्र भनेर हल्ला चलाएछन्’, उहाँले भन्नुभयो, ‘ती हल्ला सबै झुटा हुन् ।’ पार्टीले महानगरको विकासका काममा अनावश्यक दबाब दिएपछि आफूले असन्तुष्टि मात्रै जनाएको उहाँले बताउनुभयो ।
संघीय समाजवादी फोरमका नेताहरुले मेयर सरावगीले प्रभावकारी रुपमा काम गर्न नसकेकोमा असन्तुष्ट व्यक्त गरेका थिए । बुधबार बसेको पार्टीको वीरगञ्ज नगर कमिटीको बैठकले सरावगीलाई प्रभावकारी रुपमा काम गर्न भन्दै ५ बुँदे ध्यानाकर्षण बुझाउने निर्णय गरेको थियो ।
नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दा सरावगीले समय नदिएपछि आन्तरिक विवाद चुलिएको थियो । पार्टी भित्रको सामान्य विवादलाई लिएर राजीनामाको हल्ला चलाउनु दूर्भाग्यपूर्ण रहेको उहाँले बताउनुभयो । ‘पार्टीभित्र आन्तरिक असन्तुष्टिहरु हुन्छन्’, उहाँले भन्नुभयो, ‘तर त्यसलाई अफवाहपूर्ण रुपमा प्रचार गरेर बदनाम गराउन खोज्नु दूर्भाग्यपूर्ण हो ।’
यसैबीच मेयरले राजिनामा दिएको सञ्चारमाध्यममा सार्वजनिक भएपछि पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक काठमाडौंमा बोलाएको छ । बैठकमा आफनो धारणा राख्न नगर प्रमुख सरावगी शनिबार काठमाडौं आउन लाग्नुभएको उहाँले बताउनुभयो ।
यसअघि पार्टी पर्साका अध्यक्ष एवं सांसद प्रदीप यादवले उज्यालोसँग कुरा गर्दै नागरिकले अनुभुति गर्ने गरी काम गर्नुपर्यो भन्दा पार्टीले दबाब दिएको भन्दै राजीनामाको हल्ला चलाएर पार्टी नेतृत्वसँग बार्गेनिङ गर्न खोजेको आरोप लगाउनुभएको थियो ।
‘मेयरमा निर्वाचित भएको एक वर्ष पुग्नै लागेको र पार्टीले एक वर्षमा के–के गर्नुभयो भनेर सोध्न खोज्दा यस्तो हल्ला बाहिर आएको हो’, उहाँले भन्नुभयो, ‘मेयरले जे पायो तेही त गर्नु भएन नि ।’
एक वर्ष पुग्दा पनि वीरगञ्जका नागरिकले सहज अनुभुति गर्न नपाएको, महानगरमा जथाभावि कर्मचारी नियुक्त गरिएको, एडिविसँगको सहकार्यमा भएको सबै प्रोजेक्टहरुको काम सकिएको भनिए पनि डुबानको अवस्था अझै उस्तै रहेको लगायत विभिन्न ५ वटा विषयमा पार्टीले जवाफ मागेपछि मेयर सरावगीले राजीनामाको हल्ला फैलाएको प्रदीप यादवले आरोप लगाउनुभएको थियो ।
सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर पदमा निर्वाचित हुनु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।