हरियो मतपत्रले रुखमा पालुवा कि सूर्यमा ग्रहण ?

 फागुन २९, २०७८ आइतबार १३:२८:३१ | मिलन तिमिल्सिना
unn.prixa.net

चैत जाँदा वैशाख लाग्दो, सुन माया सालको पात पलायो .....!  गीतले भने झैँ वैशाखमा सालको पात मात्र पलाउँदैन, बिरुवामा पलाउने पालुवाले गाउँ, सहर र जङ्गलमा हरियाली पनि बढ्छ । रुख बिरुवामा फूल फुल्छन् । कलिला पात टिप्न होस्, जङ्गलमा मङ्गल गर्न होस् वा निर्माणको काम गर्न हँसिया हथौडा बोकेर जङ्गल पस्ने बेला पनि यही हो । वैशाखदेखि शैक्षिक सत्र पनि सुरु हुन्छ, कलमकापीका साथ नयाँ किताब बोकेर बालबालिका उत्साहका साथ नयाँ कक्षामा पस्छन् । गर्मी धेरै हुने भएकाले छाता बोक्ने बेला पनि वैशाखमै हो । साँझपख साइकल चढेर शीतल हावा खान टहलिनेहरुको बथानले बाटोको रौनक पनि वैशाखमै बढ्छ । 

वैशाखमा घाम पनि बेस्सरी चर्किन्छ । त्यसैले, मान्छे र पशुपक्षी सबैलाई छहारी चाहिन्छ । यही कारणले होला, वैशाखमा सबैलाई छहारी नै प्यारो हुन्छ । छहारी रुखले दिन्छ । रुख भनेको हरियाली । त्यसैले यो पालिको मतपत्र पनि हरियो बनाइयो भने जताततै हरियाली र छहारी । मतदातालाई पनि सजिलो, चुनावमा खटिने कर्मचारीलाई पनि सजिलो । सरकार चलाउने रुख पार्टीका मान्छेहरुको मुहार पनि हसिलो ! त्यसैले निर्वाचन आयोगका कर्मचारीले वैशाखको गर्मी र सरकारको मुख हेरेर निर्णय गरे– यो पालि सबैलाई सजिलोको लागि हरियो मतपत्र !

निर्वाचन आयोगको आँखा हरियोमा गएपछि घामपार्टीका मुलीलाई लाटो रिस उठ्यो । वैशाख भनेको टण्टालापुर घाम लाग्ने बेला । घाम भनेको रातो । रातो देख्नेबित्तिकै मान्छे लठिन्छन् । मान्छेलाई अझै लट्ठ पारेर भोट फकाउने नानीदेखिको बानी । रातो देखाएर लट्ठ पार्न सके सबै भोट आफ्नैतिर खस्ला भन्ने आस । त्यसैले घामपार्टीका मुली बुरुक्क उफ्रेर भने – सबैले रुखैरुख देखुन् भनेर मतपत्र हरियो बनाउने भनेको ? हरियो परियो हुँदैन । चुनावको बेला हामी सागपात त हेर्दैनौँ, हरियो मतपत्र कसरी हेर्नु ?

घामपार्टी हरियो रङ देखेर तर्सियो भनेर रुखपार्टीका हाँगाको हड्डी हास्यो । घामबाट कलम र हँसिया हथौडामा समेत बाँडिएका कम्युनिस्टहरुको सातो गएछ भनेर गद्गद् भएका हरियो पार्टीका प्रवक्ताले उखानबाटै घामपार्टीका मुलीलाई जवाफ फर्काए–फुटेका कम्युनिस्टहरु हरियो देखेर तर्सन्छन् । अनि आफ्नो ढङ्ग चटक्कै बिर्सेर रुखका हाँगाले सुझाव दिए–रङ्गमा होइन, ढङ्गमा ख्याल गर्नुहोस् ।

घामपार्टीका मुलीले ठाने–मतपत्र हरियो बनाएपछि मान्छेका आँखा हरियोमा जान्छन् । हरियो भनेको रुख । रुख भनेको विपक्षीको चुनाव चिह्न । सबैका आँखा हरियोमा गएपछि भएभरका भोट रुखतिर ओइरिन्छ । अनि रुख पार्टीका हाँगाले गणितको सुत्र नै नराखेर सोझो हिसाब गरे–मतपत्र हरियो भएपछि सबै चिह्न रुखजस्तो देखिन्छ, अनि सबै भोट आफ्नै पोल्टामा ।

मत्रपत्र हरियो हुँदा आफू सोत्तर भइन्छ भन्ने घामपार्टीको डर । त्यही हरियोपत्रले चुनाव जितिन्छ भन्ने रुखपार्टीलाई भर । डर र भर मानेर बसेका घामपार्टी र रुखपार्टीले बुझ्न नसकेको दुईटा सत्य यस्तो छ :

पहिले घाम पार्टीको डरको कुरा । घामपार्टीका मुलीले भनेजस्तो हरियो मतपत्रमा भोट खसाल्नेले सबै चिह्न रुखैरुख देख्छ । रुखलाई पनि रुख देख्छ । घामलाई पनि रुख देख्छ । हँसिया हथौडा, कलम, साइकल, छाता सबैलाई रुख देख्छ । रुखलाई रुख देखेर रुखमै भोट खसाए त ठिकै भयो । तर घामलाई रुख ठानेर घाममै भोट खसाए भने त फाइदा रुखलाई हुन्छ कि घामलाई ? हरियो, परियो हुँदैन भनेर बुरुक्क उफ्रने घामपार्टीका मुलीले आफूलाई हुने फाइदा खै बुझेको ? मतपत्र हरियो हुनेबित्तिकै हरियो चिह्नमा भोट, अनि रातो हुनेबित्तिकै रातो चिह्नमा भोट खसाउँछन् भनेर मतदातालाई उखानै उखानले उल्लु बनाउन त भएन नि !

अब रुख पार्टीको डरको कुरा । हरियो मतपत्रको बचाउ गर्ने रुखपार्टीका हाँगाले आफ्नो पोल्टो भरिएको मात्रै सपना देखेका छन्, पोल्टोबाट खस्ने सम्भावनाको भने लेखाजोखा नै गरेका छैनन् । अघि भनेजस्तो हरियो मतपत्रमा सूर्य, कलम, हँसिया, नाम्लो, साइकल, छाता सबै हरियो हुन्छ । सबै हरियो देखेपछि रुखमै भोट खसाल्न भनेर तम्सिएको मान्छेको आँखा सबैतिर हरियो देखेपछि तिरिमिरी हुन्छ । अनि रुखमा हान्छु भनेर हानेको स्वस्तिक छाप छेउको सूर्यतिर पनि पर्न सक्छ, बटारिएर कलम, साइकल, हथौडा र छातातिर पनि डुल्न सक्छ । कसैले त भएभरका चिह्न सबै रुख रहेछ भनेर सबैतिर ल्याप्चे हान्न पनि सक्छ । अनि हरियो मतपत्र हुने भयो भनेर त्यसैत्यसै मख्ख परेको रुखपार्टीलाई फाइदा हुन्छ कि बेफाइदा ? त्यसैले मतपत्र हरियो हुनेबित्तिकै आफ्नै पोल्टामा भोट भरिन्छ भनेर रुखपार्टीका हाँगा पनि मख्ख पर्न भएन नि !

यसो भन्दै गर्दा रुखपार्टी तर्सन बेर छैन । हँसिया हथौडा झण्डा भएकाहरु चुनावमा मिल्ने हुन् कि भनेर रुख पार्टीका मुली बेलाबेला तर्सिरहन्छन् । हरियो रङको बेफाइदा बुझेर रुख पार्टी तर्सियो भने आयोगले मतपत्रको रङ खैरो बनाओस् । ताकि एमसीसीमा झैँ चुनावमा पनि अमेरिका र युरोपले सहयोग गर्छ कि !

अन्तिम अपडेट: चैत १६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया