‘मेडिकल सञ्चालकले ३ वटा सुई लगाइदिए, बाटोमै आमाको ज्यान गयो’

 भदौ २९, २०७५ शुक्रबार २०:२८:५ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – जाजरकोटको छेडागाड नगरपालिकामा रहेको थलह बजारमा रहेको एक मेडिकलमा  उपचार गर्न गएकी एक महिलाको ज्यान गएको छ । 

सामान्य ज्वरो आएकोले उपचार गर्न  छेडागाड नगरपालिका –१०, झाप्रा नल्फुकी ३८ वर्षीया पन्चकला नाथ योगी थलहको बजारमा रहेको जयलक्ष्मी मेडिको फर्मामा उपचारका क्रममा ज्यान गएको छ ।  

नाथको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले मेडिकल सञ्चालक तिलकबहादुर बोहरालाई कारबाही र क्षतिपूर्तिको माग गदै शुक्रबार बिहानैदेखि थलह बजारमा प्रर्दशन गरेका थिए  । घटनापछि प्रहरीले सल्यान निवासी मेडिकलका सञ्चालक बोहोरालाइ पक्राउ गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । महिलाको मृत्युपछि स्वास्थ्यकर्र्मीको लापरवाहीले ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।

उपचारमा लापर्वाहीका कारण आमाको ज्यान गएको जेठा छोरा किशोरनाथ योगीले उज्यालोलाई जानकारी दिनुभयो  । उहाँले भन्नुभयो,  ‘आमालाई ज्वरो आएको र सामान्य छाती दुख्ने समस्या भएपछि बिहीबार थलबजारमा रहेको मेडिकलमा लगियो । मेडिकल सञ्चालक बोहराले चेक गरेपछि तीनवटा सुई लगाइदिए ।’

किशोर भन्नुहुन्छ, ‘औषधि खान दिए । त्यसपछि अब घरमा लैजानु  ठिक भैहाल्छ नि भनेपछि घर लैजाने क्रममा बाटोमै आमाको मृत्यु भयो । गलत औषधिको प्रयोगले आमाको ज्यान गयो ।’ निको होला भनेर उपचार गर्न मेडिकलमा ल्याएको तर गलत औषधि दिएर ज्यान गएको आरोप किशोरको छ ।

मृतकका छोरा र आफन्तले  उपचारमा लापर्वाही गर्ने मेडिकल सञ्चालकलाई उचित क्षतिपूर्ति र कारबाहीको माग समेत गरेका छन् 

५ वर्षअघि श्रीमानको मृत्यु भएर एकल जीवन बिताइरहेकी नाथका २ छोरा र एक छोरी छन् । शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल आज बेलुकीपख पुर्याई सकिएको प्रहरी निरीक्षक लोकबहादुर विष्टले जानकारी दिनुभयो  । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सुर्खेतस्थित जयलक्ष्मी मेडिको फर्माको नामबाट बोहराले छेडागाड गनरपालिकाको प्रमुख बजार थलहमा मेडिकल सञ्चालन गदै आएका थिए । मेडिकल सञ्चालनका लागि फार्मेसी पढेर मेडिकल काउन्सिलबाट प्रमाणपत्र लिनुपर्ने सरकारी प्रावधान छ तर उनले अर्काको नामबाट २०५४ साल देखि अवैध रुपमा मेडिकल सञ्चालन गर्दै आएको स्थानीयले जानकारी दिए पनि स्थानीय प्रशासन समेत मौन बसेको गुनासो स्थानीयले लगाएका छन् ।  ।

केही समयअघि स्थानीय प्रशासनले अनुगमन गर्दा बोहोराले अवैधरुपमा मेडिकल सञ्चालन गरेको पाइएको थियो । बोहोराले स्थानीय प्रशासनसँग मेडिकल नचलाउने र बन्द गर्ने लिखित कागजसमेत गरेको जिल्ला प्रशासनको रेकर्ड छ । 

जाजरकोटका ग्रामिण भेगसँगै सदरमुकाममा समेत अवैध रुपमा मेडिकल सञ्चालनमा भए पनि वैध वनाउन अर्काका कागजपत्र पेश गरेर मेडिकल चल्दै आएको नागरिक समाजले पटक–पटक ध्यानाकर्षण गराए पनि स्थानीय प्रशासनले केही गर्न सकेको छैन ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया