नायिका सोबिता सिम्खडाको उपन्यास ‘वराङ्गना’ बजारमा आउँदै

 भदौ ३०, २०७५ शनिबार ७:२०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –नेपाली चलचित्रकी नायिका सोबिता सिम्खडा अब उपन्यासकारका रुपमा आउने भएकी छिन् ।

एक दर्जन नेपाली चलचित्र, दुई दर्जन म्युजिक भिडियोमा अभिनयका साथै विभिन्न टेलिभिजन कार्यक्रम उद्घोषण गरेकी सोबिताको उपन्यास ‘वराङ्गना’ बुलबुल पब्लिकेशनले बजारमा ल्याउने भएको छ । धादिङको गुम्दीमा जन्मिएकी सिम्खडाले आफू जन्मी हुर्केको सेरोफेरो, कथित उपल्लो र तल्लो जातिबीचको विभेद, प्रेम, राजनीति, सामाजिक कुरीति जस्ता विषयवस्तुहरु समेटेर उपन्यास तयार गरेकी छिन् ।

दर्शनशास्त्रमा स्नातकोत्तर सोबिताले उपन्यास लेखनमा तीन वर्ष समय खर्च गरेर मात्रै यो पुस्तक बजारमा ल्याउन लागेकी हुन् । लामो समयको मिहिनेत र नेपाली जनजीवनको यथार्थ चित्रण भएकाले आफ्नो उपन्यासलाई नेपाली साहित्यका पाठकले मन पराउनेमा उनी विश्वस्त छिन् । उपन्यासको कभर फेसबुकमार्फत केही महिना अघि सार्वजनिक भएपछि राम्रो प्रतिक्रिया पाएकी उनले एक हप्ता अघि पुस्तकको भिडियो प्रोमो सार्वजनिक गरिन् । प्रोमो सार्वजनिक भएसँगै नेपाली चलचित्र र नेपाली साहित्यको बजारमा सोबिताको चर्चा झनै बढ्न थालेको छ । काठमाडौं र ललितपुरका केही सुन्दर दृश्यहरुमाझ छायाँकन भएको प्रोमोमा नायिका तथा लेखक सिम्खडा आफैंले अभिनय गरेकी छिन् । प्रोमोमा पुस्तकको एक अंश वाचन रेडियोकर्मी अच्युत घिमिरे बुलबुलले गरेका छन् । 

सन्देश, गंगाजल, मार्यो नि मायाले मार्यो लगायत एक दर्जन चलचित्रमा अभिनय गरेर लोकप्रिय भइसकेकी सोबिता सिम्खडाले गएका केही समय यता कुनै पनि चलचित्रमा अभिनय गरेकी छैनन् । अहिले आफ्नो पूरा समय उपन्यास वराङ्गना कै प्रचारप्रसारमा लगाइरहेको बताउँछिन् । आउँदो असोज ५ गते भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको हलमा वराङ्गना विमोचन हुँदैछ । 

नायिका तथ लेखक सोबिता सिम्खडा ओशो अनुयायी समेत हुन् । ओशोका पुस्तकहरु विश्वमा अहिले पनि सबैभन्दा बढी पढिने पुस्तकहरुमा पर्दछन् । आफू ओशो सन्यासी भएकै कारण पनि साहित्य सृजनामा थप बल पुगेको सोबिताको भनाइ छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया