फोहरले सास्ती

 चैत ४, २०७८ शुक्रबार ९:२६:२५ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डाै - भृकुटीमण्डपमा चिया पसल गरिरहनु भएका उद्धव ढुङ्गानाको पसलमा केही दिनयता ग्राहक आउन छोडेका छन् । पहिले बस्ने ठाउँ नहुने उहाँको पसलमा अहिले को आउला भनेर हेर्नु परिरहेको छ । उहाँ आफैँ पनि पसलमा कसरी बस्ने भन्ने चिन्तामा हुनुहुन्छ । काठमाण्डौ महानगरपालिकाले फोहर नउठाएपछि यस्तो अवस्था आएको हो । 

‘व्यापार नहुँदाको घाटा त छँदैछ आफैँ बिरामी परिएला भन्ने डर भयो’ ढुङ्गाना भन्नुहुन्छ, ‘भाडा तिर्नै समस्या पर्ला जस्तो भयो ।’ दैनिक झण्डै दुई हजार, पच्चीस सय रुपैयाँको व्यापार हुने उहाँको पसल अगाडि थुप्रिएको फाहोरका कारण मान्छे आउन छोडेका छन् । व्यापार घटेको छ । फोहर कहिले उठ्ने र स्थिति अलि सहज होला भन्ने पर्खाइमा हुनुहुन्छ ढुङ्गाना । भन्नुहुन्छ, ‘महानगरले यसरी बेलाबेला फोहर उठाउने नगरेको त कति हो कति । सधैँ फोहर फाल्ने ठाउँमा जान नदिएर भन्छन् के हो थाहा छैन ।’ 

न्यु प्लाजा चोकमा बस कुरिरहेका यात्री गाडी रोक्ने ठाउँभन्दा पर बसिरहेका छन् । त्यहीँ बसिरहनुभएकी अस्मी ढकाललाई यहाँ गाडी कुर्नुपर्ने पिरलोले कलेज आउजाउ गर्नै मन लाग्दैन । ‘गाडी रोक्ने ठाउँमा त गन्हाएर बस्नै सकिन्न के गर्नु’ अस्मी ढकालले भन्नुभयो ‘हिजो अस्ति त गन्हाएर बस्नै नसकिने अवस्था थियो । आज त अलिकति उठाए जस्तो छ । हिजो अस्ति जस्तो गन्हाएको छैन ।’

अनामनगर चोकको स्थिति पनि उस्तै छ । चोकमा चिया पसल तथा बेकरी चलाउने राजेश पोखरेलका अनुसार हिजो अस्ति त दुर्गन्धले बसी साध्य थिएन । ‘आज भने ठूलो ट्रक लिएर आएर फाेहर लिएर गए । तर पनि सबै फोहर लान नसकेका कारण यो बाँकी भएको हो’ पोखरेलले भन्नुभयो, ‘वर्षौँ भइसक्यो सधैँ ल्याण्डफिल साइटको कुरा देखाएर नागरिकलाई समस्यामा पार्नु त भएन नि ! कर लिने बेलामा चाहिँ केहीमा बाँकी नराख्ने । सुविधा भने नास्ती ।’ 

'यहाँ पसल बाहिर राखेको सानो बोर्ड पनि कहिले उठा भन्छन् कहिले के भन्छन् । तर, यहाँ पसल अगाडि फोहर राखेर यत्रो दिन नउठाउँदा उनीहरुलाई कस्ले के भन्ने’ उहाँको आक्रोश छ, ‘यत्रो दिन फोहर नउठाउँदा हाम्रो पसलमा लागेको घाटा कस्ले बेहोर्छ यो महँगीमा।’ 

पोख्रेल बेकरीमा चिया पिउँदै गरेका केशव भट्टराई भन्नुहुन्छ, ‘हिजो अस्ति त यहाँ आउनै नसक्ने स्थिति थियो । चिया खान अन्तै गइयो ।’ उहाँको भनाइ पनि सधैँ ल्याण्डफिल साइटको समस्या देखाएर यसरी नागरिकलाई दुःख दिन हुन्न भन्ने नै हो ।

तस्बिर : सिसडाेल

‘फोहर उठेन कि ल्याण्डफिल साइटको समस्या देखाउने । कतै यो राजनीति पनि हो कि जस्तो लाग्छ’ भट्टराई भन्नुहुन्छ, ‘ल्याण्डफिल साइटको सधैँको माग हेर्यो भने उही बाटो पिच भएन । ढल बनाइदेउ, विकास गर्देउ भनेको देखिन्छ । आखिर फोहर फाल्नै पर्ने भएपछि यस्ता साना समस्या त सधैँका लागि हुने गरी समाधान गरिदिए कुरै खत्तम ।’

काठमाण्डौ उपत्यकामा एक हप्ताभन्दा बढी समयदेखि फोहर उठ्न सकेको छैन । काठमाण्डौ उपत्यकाको फोहर फाल्दै आएको सिसडाेलका बासिन्दाले फोहर फाल्न नदिएपछि काठमाण्डौको बाटोमा फोहर थुप्रिएको महानगरले जनाएको छ । 

फोहर फाल्दै आएको सिसडाेलका बासिन्दाले सडक कालोपत्रे, जोखियमुक्त बस्ती स्थानान्तरण लगायतका माग राखेर सम्बोधन नभएसम्म फोहर फाल्न नदिने बताएर फोहर बोकेका गाडी रोकेका हुन् । 

एक हप्ताभन्दा बढी समयदेखि सहरका गल्ली तथा चोक, चोकमा थुप्रिएको फोहर कुहिँदा दुर्गन्ध बढेर पैदलयात्रुलाई समेत समस्या परेको छ । साना व्यवसायी तथा गाडी कुर्ने यात्री तथा पैदलयात्रीले पनि दुर्गन्धका कारण समस्या भोग्नु परेको छ । 

काठमाण्डौ महानगरपालिकाले समस्या समाधान नहुन्जेल कुहिने फोहर घरमै व्यवस्थापन गर्न र नकुहिने फोहर पनि सडकमा ननिकाल्न आग्रह गरेको भए पनि सडकमा फोहरको डङ्गुर नै लागेको छ । 

सिसडाेलवासीको समस्या समाधानको लागि काठमाण्डौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा अध्ययन टोली बनाउने सहमति भएको र अध्ययन टोलीको सुझावका आधारमा समस्या समाधान गर्ने काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । 

प्रवक्ता डङ्गोलका अनुसार आन्दोलनरतपक्ष र काठमाण्डौ महानगरपालिकाबीच भएको छलफलपछि फोहर उठाउन थालिएको छ । तर काठमाण्डौका सबै ठाउँको फोहर उठाइसक्न भने झण्डै एक हप्ता लाग्ने उहाँले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया