म्यादी प्रहरी बन्ने कि उम्मेदवार ?

 चैत ६, २०७८ आइतबार ९:४७:४६ | मिलन तिमिल्सिना
unn.prixa.net

थाहा पाउनुभयो तपाईँले, म्यादी प्रहरीमा भर्ना खुलेछ नि ?

हैन होला । अस्तिताका पनि भर्ना खुल्यो भनेर हल्ला गरे, पछि हैन रहेछ । यसपालि पनि हल्ला मात्रै गरेका होलान् ।

यसपालि त साँच्चै हो रैछ क्या नेपाल प्रहरीले नै भनेको । यी हेर्नुहोस् त सूचना नै आएको छ ।

खै खै हेरौँ । .........ए हो त रैछ नि । यो पटक जसरी पनि म्यादी प्रहरीमा भर्ना हुनुपर्छ । पहिलेदेखिकै म्यादी बन्ने आफ्नो रहर । दुई, चार दिन भए पनि जागिर हुन्छ । लौरो र बुट बजार्न पाइन्छ। पैसो पनि हुने, शान पनि ।

साँच्ची कति हुन्छ नि पैसो ?

यहीँ लेखेको छ नि, हेर त । ४० दिन काम गर्दा ३० हजार रुपैयाँ । अनि खाद्यान्नको छुट्टै ७ हजार, अनि पोसाक तथा अरु सामानको अर्को ६ हजार भत्ता । बीमा लगायतका सुविधा पनि । आहा ! यसपालि केटोले ज्यान बनाउने भयो । तलब, भत्ता, लौरो, बुट, पोसाक, बीमा के-के हो के-के !

अँ त्यत्तिकै सजिलो होला नि म्यादी प्रहरी बनेर तलब भत्ता खान र लौरो र बुट बजार्न ?

यी हेर न ज्यान हट्टाकट्टा छ । त्यतिका पाखोबारी एक्लै खनेर सक्ने ज्यानले जाबो म्यादी प्रहरीमा भर्ना हुन के गाह्रो भो ?

नाम निस्कन परेन ?

नाम त निस्किाल्छ नि । त्यहाँ प्रहरीमा चिनेको मान्छे पनि छ नि, सोर्सफोर्स पनि लगाइन्छ क्या ।

त्यसरी सोर्सफोर्स खोज्ने कति होलान् ? अनि योग्यता नि योग्यता, पुग्छ तपाईँको ?

आ... त्यस्ता जाबो लौरो लिएर उभिन के को योग्यता चाहिन्छ र ?

अँ खुबै चाहिन्न होला नि ! यहाँ हेर्नुस् न यहाँ योग्यता पनि लेखेको छ ।

खै खै । ए हो त रैछ नि । नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै दलको सदस्य नभएको, साधारण लेखपढ गर्न जान्ने.........।

ओहो ! महिना दिन जागिर खान पनि यति धेरै योग्यता ? नसकिने भयो बा । यो म्यादी स्यादी बन्ने सपना पनि पूरा नहोला जस्तो छ ।

हा..यो म्यादी स्यादीको सपना देख्न छोड क्या बुढा । सपना देखेपछि अलि ठूलै देख्नुपर्छ ।

योभन्दा ठूलो सपना के देख्ने त खै ? 

उम्मेदवार बन्ने क्या उम्मेदवार । अब आउने चुनावमा उम्मेदवार बन्ने ।

उम्मेदवार बन्न चाहिँ सजिलो छ र ?

किन सजिलो छैन ? म्यादी प्रहरीमा जस्तो उम्मेदवार बन्नको लागि नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको हुनुपर्छ त ?

त्यो त पर्दैन । त्यस्तै फौजदारी अभियोग लागेकाहरु सदनदेखि सरकारमासमेत छन् । नेता हुन त झन् यस्तो नभइ हुन्न ! जति धेरै जेलनेल र सजाय, उति धेरै नेता भन्ने योग्यता !

लेखपढ गर्न जान्ने हुनुपर्छ ?

त्यो पनि पर्दैन । बोल्न जान्ने चाहिँ हुनुपर्छ । ठूल्ठूला गफ हान्ने क्या !

अनि ? म्यादी प्रहरी जम्मा ४० दिनको लागि, ४० हजार कमाउन पनि मुश्किल । ४० दिनपछि फेरि जहाँको तहीँ । न जागिर, न तलबभत्ता । फेरि पनि ठण्डाराम । उम्मेदवार बनेर जितियो भनेत सधैँलाई फलिपाप !

ओहो ! हो त । गज्जबको कुरो गरेर मलाई झल्याँस्सै पार्यौ त बुढी । यो हो नि कुरो । कता ४० दिनको म्यादी, कता जिन्दगीभरलाई हुने थपीथपी ! तर उम्मेदवार हुन पनि गाह्रो छ त बुढी । एउटा पार्टी त समाउनुपर्यो नि ।

पार्टी समाउन के गाह्रो छ र बुढा ? पार्टीको कमी भए पो ? एउटा नभए अर्को छ, अर्को नभए झन् अर्को छ । राम्रो पार्टी छानेर प्रवेश गर्ने । त्यसमाथि अहिले त पार्टी प्रवेश गर्ने लहर नै चलेको छ ।

ठूल्ठूला नेता नै आएर अबिर घसिदिन्छन् । नाम पनि हुने काम पनि हुने ।

अनि अबिर घस्नेबित्तिकै टिकट दिन्छन् त ?

नदिइ सुख ? मलाई टिकट दिने हो भने पार्टी प्रवेश गर्छु, नत्र गर्दिनँ भन्ने । अन्त नमिले पनि वडा सदस्यमा त पक्का पाइन्छ बुढा । पाइएन भने विद्रोह गर्ने, बागी उठ्ने । 

अनि चुनावमा उठ्नेबित्तिकै जितिन्छ भन्ने पनि त छैन नि ?

पहिले टिकट त हात पार्नुपर्यो नि । टिकट पाएपछि कसरी जित्नुपर्छ भन्ने थाहा छैन र बुढा ? केही लागेन भने मत गन्दागन्दै मतपत्र च्यात्न पनि मिलीहाल्छ ।

ल गज्जब आइडिया दियौ बुढी । अब म्यादी प्रहरी हैन, उम्मेदवार बन्ने हो । ल म त्यहाँ पर चोकसम्म पुगेर आउँछु, आज कुनै नेताले पार्टी प्रवेश गराउने कार्यक्रम छ कि !

अन्तिम अपडेट: चैत १२, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया