प्रकाश सपुत भन्छन्– ‘समाजकाे भावनालाई बुझेर त्याे दृश्य हटाइएकाे हाे’

 चैत १०, २०७८ बिहिबार १७:४६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गायक प्रकाश सपुतले पछिल्लो गीत 'पिर' बाट हटाएको दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको स्पष्टीकरण दिएका छन् । 

आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै उनले गीतमा रहेको देहव्यापारसम्बन्धी दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई लिएर हटाएको बताएका हुन् । उनले त्याे दृश्यले समाजमा र त्यस्तै पेसामा आधारित मानिसहरूलाई झनै पिर परेको भन्दै गीतबाट केही दृश्य हटाउनुपरेको बताए । 

गायक सपुतले भने, ‘त्यहाँ छोडिएका प्रश्नहरू हटाएकाे भए, यदि त्यहाँ लोकेन्द्र सरको भूमिकालाई हटाएको भए सायद म कसैको विचारबाट डराएँ, शक्तिबाट डराएँ, कुनै निश्चित समूहबाट डराएर हटायो भन्ने हुन्थ्यो, यसलाई भावनात्मक हिसाबले सोचिदिनु हुन अनुरोध गर्दछु । मन र भावनाका हिसाबले त्यो पात्रको चित्त दुख्यो भन्ने ठानेर त्याे दृश्य हटाएको हो । जसले जनयुद्ध लडेर आफ्नै चित्त दुखाएका छन्, उनीहरूको किन चित्त दुखाउने भनेर त्यो भाग हटाएको हो ।’

त्यस्तै अभिनेत्री सुरक्षा पन्तले गीतको बारेमा आफूलाई पनि धेरै म्यासेजहरू आएको बताइन् । उनले गीतबाट त्याे दृश्य हटाउने कुरा गायक सपुतको नितान्त व्यक्तिगत कुरा रहेको बताइन् । अभिनेत्री पन्तले समाजमा भएका कुराहरूलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको बताइन् । 

गायक सपुतको पछिल्लो गीत पिरमा जनयुद्धकालीन परिवेशमा देश विकासका लागि लडेका योद्धाहरूको दुःख देखाइएको छ । नेकपा (माओवादी केन्द्र) निकटका भातृ सङ्गठनहरूले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भए पनि जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी दृश्य समावेश गर्नु आपत्ति जनाएका थिए । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया