बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल, दिनहुँजसो पाटे बाघ देखेपछि पर्यटक खुसी

 चैत १३, २०७८ आइतबार ९:४३:२८ | भावुक योगी
unn.prixa.net

बर्दिया - 'जीप सफारीका क्रममा हामीले दुई वटा पाटे बाघ देख्यौँ । एउटा पोथी, अर्को भाले । बाघ देख्न पाएकाेमा साह्रै खुसी लाग्याे । बर्दिया राष्ट्रिय निकुञ्ज निक्कै सुन्दर रहेछ । अफ्रिकाभन्दा नेपाल धेरै फरक अनि राम्रो लाग्यो' पहिलो पटक नेपाल आएका ६७ वर्षीय इजरायली पर्यटक अभि गोभेनले भन्नुभयाे ।

बर्दिया निकुञ्जभित्रबाट जीप सफारी गरी फर्किएपछि निकुञ्ज गेटबाट पर्यटकहरु बाहिरिँदै गर्दा बुधवार दिउँसो बाघ देख्न पाएकोमा निक्कै खुसी देखिन्थे । 

इजरायलबाट आएका ८ जना पर्यटकलाई लिएर काठमाण्डौँबाट बर्दिया निकुञ्ज अवलोकनमा आउनुभएका पर्यटन व्यवसायी वीरेन्द्र चौधरीले आफ्ना पाहुनाहरुलाई प्रकृतिपथ प्रदर्शकले दिएको निर्देशन अनुसार सावधानी अपनाउँदै निकुञ्जभित्र घुम्ने गरेको र जीप सफारीका क्रममा बघौरा फाँटमा उनीहरुले पाटे बाघ देखेपछि खुसी भएको बताउनुभयो ।

कोभिड महामारीका कारण दुई वर्षसम्म बर्दिया निकुञ्जको पर्यटन व्यवसाय ठप्प थियो । अहिले निकुञ्ज अवलोकनमा आउने पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकले दिन दिनै बाघ देख्न पाइरहेका छन् । पाटे बाघसँगै एकसिङ्गे गैँडा, जङ्गली हात्ती, लगायतका वन्यजन्तु देख्न पाउँदा उनीहरु खुसी भएका हुन् । 

नेपाल सरकारले दुई वर्षअघि २०७६ चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेपछि देशका सबै गतिविधिहरु ठप्प भएका थिए । त्यसको असर पर्यटन क्षेत्रमा पनि पर्यो । पहिलो र दोस्रो लकडाउनले पर्यटकीय गतिविधि पूर्ण रुपमा सञ्चालन हुन सकेन ।

बर्दिया राष्ट्रिय निकुञ्जले गएको असोज महिनादेखि थोरै सङ्ख्यामा पर्यटकहरु प्रवेश गर्न दिने गरी केही गतिविधि खुलायो, अहिले भने पूर्णरुपमा निकुञ्ज अवलोकन खुल्ला गरेसँगै आन्तरिक र बाह्य पर्यटकहरु आउने क्रम बढ्न थालेको छ । 

कोरोना र लकडाउनले थला परेको पर्यटन क्षेत्रमा बिस्तारै चहलपहल बढ्न थालेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले गएको असोज महिनादेखि थोरै सङ्ख्यामा पर्यटकहरु प्रवेश गर्न दिने गरी केही गतिविधि खुलायो । अहिले भने पूर्ण रुपमा निकुञ्ज अवलोकन खुल्ला गरेसँगै आन्तरिक र बाह्य पर्यटकहरुको ओहोरदोहोर बढेको छ । पाटे बाघ लगायतका वन्यजन्तुको सङ्ख्या बढेसँगै पर्यटकको आकर्षण पनि बढेको हो । प्रायजसाे पर्यटकहरुले निकुञ्ज भित्र पाटे बाघ देख्न पाएपछि खुसी भएका छन् । 

इजरायल, फ्रान्स, अमेरिका, भारत लगायतका देशबाट बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटक बाघ देख्न पाएपछि दङ्ग छन् । बर्दिया निकुञ्ज अवलोकनका लागि आएका पर्यटकले नेपालको चितवनमा मात्र बाघ देख्न पाइने सुने पनि त्यहाँ भन्दा बर्दिया निकुञ्जमा आफूहरुले दिनहुँ बाघ देखेको बताएका छन् । दिनहुँ बाघ देख्न पाएकै कारण कतिपय पर्यटकहरु अन्त घुम्न जान छाडेर बर्दियामै दिन बिताउन थालेका छन् । 

बर्दिया टाइगर रिसोर्टका सञ्चालक एवम् वरिष्ठ टुरिष्ट गाइड रेसम थापाले अमेरिकाबाट आएका पाहुनाले बाघ देख्न पाएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, 'अहिले पाटे बाघ हेर्न सकिने सिजन हो, यतिबेला बर्दिया निकुञ्जभित्र पर्यटकले दिनहुँजसो बाघ देख्न पाएका छन्, बर्दिया निकुञ्जमा चैत महिनादेखि जेठ महिनाभरि बाघ देख्न सकिन्छ ।'

बाघको बासस्थान राम्रो भएकाले बर्दिया निकुञ्जमा गर्मी महिनामा बाघ पानीमा पौडिन आउने भएकाले निकुञ्ज भित्रै रहेको कर्णाली नदीको भङ्गालो किनारमा बाघ सजिलै देख्न पाइएको छ । निकुञ्जभित्र प्रवेश गर्दा जङ्गलसँग मिल्दोजुल्दो कपडा लगाएर जाँदा आक्रमणको डर नहुने उहाँको भनाइ छ । 

तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र बर्दिया निकुञ्ज बर्सेनि बाघको सङ्ख्या बढ्दै गएको छ । सन् २०१८ को बाघ गणना अनुसार ८७ वटा वयस्क बाघ रहेका छन् । यसवर्षको बाघ गणना भर्खरै सकिएको छ । विगतका वर्षदेखि दिनहुँ बाघ देख्न पाइनुले यसपटक पनि बर्दिया निकुञ्जमा बाघको सङ्ख्या बढ्ने निकुञ्जको अनुमान छ । 

बर्दिया निकुञ्जमा दुई वर्षयता पाटे बाघका आक्रमणका घट्ना बढेपछि निकुञ्ज अवलोकनमा आउने पर्यटकहरुले सावधानी अपनाउन जरुरी भएको छ । तर पनि प्रकृति पथ प्रदर्शकले सुरक्षित ठाउँबाट सावधानी अपनाउन सिकाएर निकुञ्जभित्र लैजाने भएका कारण खासै जोखिम नहुने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा. रबिन कडरियाले बताउनुभयो । 

कोभिडले पर्यटकहरुको आगमन शून्यमा झरेको थियो । गएको असोज महिनादेखि निकुञ्ज प्रवेश खुल्ला गरेसँगै बिस्तारै बढ्न थालेको छ । सिजन सुरु हुन थालेपछि निकुञ्ज अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमनले निकुञ्ज नजिक ठाकुरद्धाराका होटल व्यवसायीहरु अहिले खुसी भएका छन् । अहिलेसम्म आन्तरिक ८ हजार र बाह्य तेह्र सयको सङ्ख्यामा पर्यटकहरु आएका छन् ।

कोभिडका कारण थलिएको पर्यटकीय गतिविधि बाघ लगायतका वन्यजन्तु अवलोकन गर्न पाइने भएकाले बर्दियामा पर्यटकीय गतिविधि बढेको हो । बाघ हेर्न आउने पर्यटकहरु बढ्न थालेका बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मुकुन्द सञ्जेलले बताउनुभयो ।

बाघ लगायत अन्य वन्यजन्तु अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकहरु बर्दिया निकुञ्ज अवलोकनका लागि आउने क्रम बिस्तारै बढ्न थालेको पर्यटन व्यवसायीहरु पनि खुसी भएका छन् ।

दुई वर्षअघि कोरोना महामारीपछि विगतमा जस्तै आन्तरिक तथा बाह्य पर्यटकहरु बर्दिया निकुञ्ज भ्रमणमा आउने सम्भावना बढ्नेमा बर्दिया निकुञ्ज आसपासका पर्यटन व्यवसायीहरु आशावादी छन् ।

नेपाल सरकारले अबको पर्यटन प्रवर्द्धन गर्ने खालका विशेष प्याकेज र बजारीकरण गर्न आवश्यक रहेको पर्यटन व्यवसायी पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो । जसले गर्दा बर्दियासहित नेपालको पर्यटन व्यवसाय उकास्नमा ठूलो टेवा पुग्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया