उम्मेदवारको जादु, मतदाताको मूल्य !

 चैत १३, २०७८ आइतबार ११:४६:३४ | मिलन तिमिल्सिना
unn.prixa.net

हैन माथि चौतारीमा के रहेछ निकै खैलीबैली छ त ?

जादु देखाउन सहरबाट नेताहरु आएका रे क्या बुढा !

जादु देखाउने नेता रे ? नेताले नि जादु देखाउँछन् र ? 

चुनाव आएको बेला नेताले त हो नि जादु देखाउने । एकैछिनमा रेल कुदाउँछन् । उतिखेरै पानीजहाज ल्याउँछन् । डाँडापाखाबाट हिरा र फलाम खन्छन् । खोलाबाट पेट्रोल निकाल्छन् । गाउँगाउँमा डाक्टर, नर्स पुर्याउँछन् । छुमन्तर गरेर विकासको खोलो बगाउँछन् । भोकालाई खाना, नाङ्गालाई नाना, सुकुम्वासीलाई छाना, के-के हो के-के ! 

त्यो त हो पाँच वर्षअघि पनि देखाएका थिए नि जादु । एउटाले डाँडाडाँडामा रेल कुदेको देखायो । अर्कोले चुल्हाचुल्हामा तेल खसेको देखायो । अर्कोले गरिबको छोरोलाई सित्तैमा डाक्टर बनेको देखायो । अर्कोले छोरीलाई पाइलट बनेको देखायो । हेर्दाहेर्दै गाउँ हराभरा भयो । जता फर्के पनि सुख र समृद्धि, जसलाई हेरे पनि सुखी र खुशी । यो वर्ष पनि यस्तै देख्न पाइने होला।

हो नि बुढा चुनावसम्म त नेताहरुले के मात्रै गर्दैनन् ? सबैथोक गर्छन् । रित्तो थालमा मासुभात खन्याउँछन् । नाङ्गो आङमा लुगाफाटा भिराउँछन् । खेतबारीमा काम सघाइदिन्छन् । बसीबसी खान पुग्ने बनाउँछन् । घरघरमा काम, खल्तीखल्तीमा दाम, थालथालमा माम । जादुगरले गर्न नसक्ने काम नेताहरुले गर्छन् । 

चुनावसम्म त हो नि बुढी नेताहरुका काम, त्यसपछि त फेरि उही हो नि ठण्डाराम।

जादु देखाउनेका काम त्यस्तै त हो नि बुढा । यसपालि पनि जादु देखाउन आउँदैछन् । बरु सधैँका लागि नभए पनि केही दिनका लागि चाहिँ फाइदा लिनुपर्छ है बुढा ।

आ...जादु देखाउने नेता आएर के फाइदा हुन्छ र ? बेकारमा सपना मात्रै ठूल्ठूला, बिपनामा केही न केही ।  

बिपनामा पनि धेरैथोक हुन्छ बुढा, जान्नुपर्छ नि फाइदा लिन ।

के हुन्छ र बिपनामा ?

पहिलो कुरा त दुई/चार दिन भए पनि सित्तैमा टन्न मासुभात खान पाइन्छ । दुई/चार दिन भए पनि गोजीमा टन्न पैसा भर्न पाइन्छ । गाउँमा नयाँ-नयाँ मान्छे देख्न पाइन्छ । हामीले नमस्ते भन्न नपाउँदै उनीहरु नै जुम्ला हात जोड्दै आइपुग्छन् । खुट्टा नै ढोगौँला झैँ गर्छन् । मानमाथि मान, दाममाथि दाम ।

खुब होला नि दाम ? कति दिन्छन् र तिनले दाम ? एउटाले दुई सय दिन्छ, अर्कोले पाँच सय । अलि धेरै पैसा नदिए त भोट दिन्नँ भनेर अड्डी कस्यो भने जम्मा हजार वटा दाम झर्ने हो । त्यति जाबो पैसा केही न केही । बरु उम्मेदवार हुन सक्यो भने चाहिँ हुँदो रैछ पैसा ।

अनि उम्मेदवार नै भए भइहाल्यो नि, कसले छेकेको छ र ?

अँ... त्यति सजिलो होला नि उम्मेदवार बन्न । 

पार्टी प्रवेश गर्ने नि ? अहिले धमाधम पार्टी फेर्ने चलन छ ।

कसले पत्याउला र ? पत्याए त हाल्नुहुन्थ्यो सिन्दुर ।

ल पहिले पार्टी प्रवेश गर्छु मात्रै भन्नुपर्छ । काठमाण्डौबाटै आउँछन् ठूला नेता हेलिकप्टर चढेर सिन्दुर लगाउन ।

पार्टी प्रवेश गरे पनि उम्मेदवार बनाउने, नबनाउने ठेगान हुँदैन । मतदाता नै ठिक होला अहिलेलाई । तर बुढी मतदाताको भाउ त धेरै छैन नि ?

अब मूल्य बढाउनुपर्छ नि आफ्नो । सबैतिर भाउ बढेको छ, हामी मतदाताको चाहिँ नबढाइ सुख ? भाउ बढ्यो भन्नुपर्छ । कम्तीमा कुखुरा र कुकुरको भन्दा त धेरै हुनुपर्यो नि ।

हैन के भन्छे यो ? कुखुरा र कुकुरको भन्दा धेरै भनेको चाहिँ के नि?

हरे कस्तो नबुझेको होला । हाम्रो घरको भालेको मूल्य कति ? ३ हजार । सहरमा कुकुरलाई १०/२० हजारदेखि ४०/५० हजारसम्म हाल्छन् रे । अनि पोहोर साल तपाईँलाई भोट फकाउन कति दिए भन्दा एक हजार हैन त ?

त्यो त हो ?

अनि ? 

भैँसीको मूल्य डेढ लाख । गाईको एक लाख । कम्तीमा गाई भैँसी, खसीबोका, कुखुरा, कुकुरभन्दा त अवमूल्यन हुन भएन नि ।

हो ठिक भन्यौ बुढी अब जादु देखाउँदै घरमा आइपुग्ने नेतालाई हाम्रो मूल्य पनि सुनाइदिनुपर्छ । अनि हेरौँ न तिनको जादु ठूलो कि हाम्रो मूल्य !

अन्तिम अपडेट: बैशाख ५, २०७९

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया