दाताको सहयोग छाडेर स्थानीयको बलमा बनेको सम्पदा

 चैत १३, २०७८ आइतबार १२:५:१८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

२०७२ सालको भूकम्पपछि भक्तपुरको सबैभन्दा ठूलो चुनौती भनेकै भूकम्पले क्षति पुगेका सम्पदाको पूनर्निर्माण थियो । पुनर्निर्माणका लागि चाहिने सबैभन्दा ठूलो आवश्यकता भनेको पैसा नै हो । 

सहरमा पैसा आयो ! अर्थात भूकम्पले क्षति पुगेका सम्पदा पुनर्निर्माणका लागि जर्मनी सरकारले नेपाललाई १० मिलियन युरो अर्थात झण्डै एक अर्ब २० करोड रुपैयाँ सहयोग दिनेभयो । सहयोग सम्बन्धी सम्झौतामा नेपाल सरकार जर्मनी सरकारबीच हस्ताक्षर समेत भएको थियो। 

२०७२ को भूकम्पसम्म स्थानीय चुनाव नभएको झन्डै दुई दशक भएको थियो । स्थानीय तहले जनप्रतिनिधि पाउन सकेको थिएन । २०७४ सालमा भएको स्थानीय चुनावपछि स्थानीय निकायले जनप्रतिनिधि पाए । भक्तपुर नगरपालिकाले पनि नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापतिलाई मेयरका रुपमा पायो ।  

मेयरको अन्य जिम्मेवारीसँगै प्रजापतिको काँधमा क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणको दायित्व पनि आइलाग्यो । जिम्मेवारी र दायित्वसँगै पुनर्निर्माणका लागि उहाँको अगाडि नै थियो एक अर्ब २० करोड रुपैयाँको सहयोग राशि । 

सहयोग राशिले उहाँको मन पनि नलोभिएको कहाँ हो र ! उहाँको लोभ भनेको सम्पदा पुनर्निर्माणको थियो । आखिर सहयोग राशि पनि सानो रकमको थिएन । 

सम्झौता कार्यान्वयनको सिलसिलामा छलफल चल्दै जाँदा दाताहरुले भनेका मान्नुपर्ने, उनीहरुकै निर्देशक समिति बन्ने तथा सबैभन्दा ठूलो आपत्तिको कुरा भनेको सम्पदा पुनर्निर्माण गर्दा सिमेन्ट र डन्डी प्रयोग गर्ने कुरा लेखिएको थियो जुन कुरा नगरपालिकालाई सबैभन्दा आपत्तिको विषय थियो । यसमा पुनर्विचार गर्न नसक्ने दाताहरुसँगको छलफलपछि नगरपालिकाले सहयोग रकम नलिने घोषणा गर्यो । 

घोषणा त गर्यो तर, त्यति ठूलो रकम गुमाउँदा नगरवासीले के भन्ने हुन् र पुनर्निर्माण गर्न आखिर जसको भए पनि पैसा त चाहिन्थ्यो नै । यस कुरालाई नगरवासी समक्ष राख्नु उपयुक्त हुन्छ भन्ने लाग्यो प्रजापतिलाई । उहाँले एउटा सभा आयोजना गरेर दाताको सर्त स्वीकार गर्न नसक्दा पुनर्निर्माणका लागि आएको पैसा नलिने निर्णय गरेको घोषणा गर्नुभयो । 

एकाध बुद्धिजीवीले यसको विरोध गरे । सभामा भक्तपुर अब धेरै वर्षसम्म भग्नावशेषमा परिणत हुने तथा अन्धकार हुने भयो भन्नेबारे बोले अनि लेखे पनि । तर, यसको ठीक विपरीत आम नागरिकमा भने नगरपालिकाले दाताको सर्त अस्वीकार गरेर सही काम गरेको सन्देश गयो । उनीहरुले आफूले सक्दो रकम तथा जिन्सी र सिप तथा प्रविधि पनि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

प्रतिबद्धता व्यवहारमा देखिन सुरु भयो । नागरिक श्रमदानका लागि तयार भए । सकेको सानो ठूलो रकम सहयोग गरे । यस क्रममा दैनिक सयौँ नागरिकले स्वतःस्फूर्त रुपमा सहयोग गरे । कसैले खाजा खुवाए । कसैले जुस खुवाए । कसैले पानी खुवाए । 

कोरोनाको समयमा नागरिक आफैँ आएर १६ लाख त नगद नै सहयोग गरे बैंकमा जम्मा नगरि । छ लाख रुपैयाँ बराबरको जिन्सी सहयोग पनि प्राप्त भयो । यसले जीर्ण सम्पदा उठ्दै, ठडिँदै, तङ्ग्रिँदै तयार हुँदै गयो । 

सम्पदासँगै नगरवासी, नगरपालिका र मेयर प्रजापतिको आत्मविश्वास पनि चुलिँदै गयो । यसले वत्सला मन्दिर, भैरव मन्दिर, रानी पोखरी आदि दजर्नौँ सम्पदा नागरिकको श्रमदानमा आफ्नै प्रविधि, ज्ञान र सिपको प्रयोग गरेर पुनर्निर्माण गर्ने काम भयो । भक्तपुरमा अहिलेसम्म यसरी एक सय १९/२० वटा सम्पदा पुनर्निर्माण भइसकेको छ । 

यसबाट पुनः एक पटक के प्रमाणित भएको छ भने कुनै पनि सम्पदा, स्मारक, पर्यटकीय स्थल आदि बन्नका लागि अरुको मुख ताक्नु पर्दैन । पैसा मात्रै मूल कारण होइन । 

सही र इमानदार ढङ्गले काम गर्न सकियो भने पैसाको कहिले पनि दुःख हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेको छ, भक्तपुर नगरपालिका तथा नगरपालिकाको अगुवाइमा पुनर्निर्माण भएका भक्तपुरका ऐतिहासिक सम्पदा । 

अन्तिम अपडेट: चैत १५, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया