४ दिनभित्र उम्मेदवारको नाम सिफारिस गर्न कांग्रेसको निर्देशन

 चैत १८, २०७८ शुक्रबार १८:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले यही चैत २२ गते अर्थात् चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन दिएको छ । कांग्रेसले ७७ वटै जिल्लामार्फत सात सय ५३ वटै स्थानीय तहमा परिपत्र गर्दै चैत २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो । 

स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र मेयर, उपमेयरका उमेदवारको नाम आउँदाे मङ्गलवारभित्र सिफारिस गरिसक्न निर्देशन दिइएको नेपाली कांग्रेस कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । कांग्रेसको विधानअनुसार उमेदवार चयन गरेर पठाउन निर्देशन गरिएको पौडेलले बताउनुभयो ।  

कांग्रेसले पर्सि २० गते वडा कार्यसमितिको बैठक राख्न र २१ गते वडाका उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन निर्देशन गरेको छ । त्यस्तै चैत २२ गते पालिका तहमा बैठक बस्न भनिएको छ ।

बैठकले पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्नेछ भने वडा कार्यसमितिको सिफारिस बमोजिमका उम्मेदवारका विषयमा राय राखेर प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाउनेछ । प्रदेशले प्रतिनिधि सभा क्षेत्रीय समितिलाई र प्रतिनिधि सभा क्षेत्रीय समितिले जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्यसमितिसम्म उम्मेदवारहरूको सिफारिस गर्ने व्यवस्था छ । वडाध्यक्षसहित वडाका उम्मेदवारको चयन प्रतिनिधि सभा क्षेत्रीय संसदीय समितिले टुङ्गो लगाउनेछ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार जिल्ला संसदीय समितिले टुङ्गो लगाउनेछ । नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार भने प्रदेश संसदीय समितिले टुङ्ग्याउने विधानले व्यवस्था गरेको छ । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया