राष्ट्रपति भण्डारीद्वारा पाँचपोखरी थाङपाल भ्याली विद्यालयको उद्घाटन

 चैत २०, २०७८ आइतबार १६:५:१६ | किरण थापा
unn.prixa.net

सिन्धुपाल्चोक – राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचपाेखरी थाङपाल भ्याली विद्यालयको उद्घाटन गर्नुभएकाे छ । पाँचपोखरी थाङपाल गाउँपालिका ४ मा बनेको ५४ कोठे विद्यालय भवनकाे आज आइतवार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यसले शिक्षा क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो ।  

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो खालको संरचनाले भविष्यमा शिक्षा क्षेत्रको विकास गरी गुणस्तरीय शिक्षा प्रदान गर्न सहज हुने बताउनुभयाे । सरकारी विद्यालयलाई भौतिक तथा शैक्षिक विकास गर्न सरकार प्रतिबद्ध रहेको उहाँले आश्वासन दिनुभयाे । सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा हुँदैन भन्ने भ्रमलाई चिर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयाे । 

एसियाली विकास बैंक (एडीबी) काे २४ कराेड रुपैयाँ सहयोगमा बनेको विद्यालयमा दुई हजार जना विद्यार्थी पुर्‍याउने गाउँपालिकाको योजना रहेको गाउँपालिकाका अध्यक्ष टासि लामाले बताउनुभएको छ । शिक्षा क्षेत्रको गुणस्तर वृद्धि गर्नुका साथै विद्यालयलाई प्रविधिमैत्री बनाइ गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय एक कोशेढुङ्गा भएको उहाँले बताउनुभयो । 

कार्यक्रममा शिक्षा सचिव यादवप्रसाद कोइरालाले यो अभ्यासको अरूले पनि अनुसरण गरेमा अझै प्रभावकारी हुने धारणा राख्नुभयाे । यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले राजनीति फरक पाटो भएकाले विकासका काममा सबै एक भएर लाग्नुपर्ने बताउनुभयाे । 

बाग्मती प्रदेशभित्र वृहत् विद्यालयका रूपमा सञ्चालनमा आएको थाङपाल भ्याली विद्यालय प्रदेशभित्रकै दोस्रो विद्यालय हो । पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नम्बर ४ काे थाङपालकोटमा एउटै नमुना विद्यालय बनाइएको हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

किरण थापा

किरण थापा सिन्धुपाल्चाेकका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया