कर्णाली प्रदेश सरकारले जगदुल्ला जलविद्युत् आयोजनामा लगानी गर्ने

 चैत २६, २०७८ शनिबार १८:१६:३४ | मुना हमाल
unn.prixa.net

फाइल तस्बिर

सुर्खेत – कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ । चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले जगदुल्ला हाईड्रोपावर कम्पनी लिमिटेडको ११ लाख ७१ हजार ५०० कित्ताशेयर किन्ने निर्णय गरेको हो ।

प्रदेश सरकारले कर्णालीमा निर्माण हुने ठुला विद्युत् परियोजनामा शेयर साझेदारी गर्ने नीति अनुसार जगदुल्ला जलविद्युत आयोजनामा शेयर साझेदारी गर्ने भएको हो । उक्त कित्ताशेयर किन्नका लागि ११ करोड ७१ लाख ५० हजार रुपैयाँ बजेट व्यवस्था गर्न जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई जिम्मा दिएको छ ।  १०६ मेगावटको आयोजनाका लागि उक्त कित्ताशेयर स्वीकार गरी शेयर बापतको रकम सम्बन्धमा अन्य शेयर होल्डरको योगदान वा शेयर बापत जम्मा भएको रकमको आधारमा समानुपातिक रुपमा शेयर रकम भुक्तानी गर्ने सुनिश्चितताको प्रतिबद्धता गर्ने र यस विषयमा पत्राचार, अभिलेख, शेयर प्राप्ती र शेयर बापतको रकम भुक्तानी लगायतका आवश्यक कार्यहरुको व्यवस्था गर्न जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई जिम्मेवारी दिइएको सरकारका प्रवक्ता एवंम आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिनुभयो ।  

यस्तै दैलेखको अपर पराजुली खोलामा सम्पन्न भएको २.१५ मेगावाटको जलविद्युत आयोजनामा प्रदेश सरकारले लगानी बमोजिम पाँच करोड सुनिश्चित गर्ने बैठकले निर्णय गरेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया