चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
आफू र आफ्ना वरपरकालाई हेर्दा सबै ठिकठाक छ । मिठो खान, राम्रो लगाउन, सरर गाडीमा चढ्न, मोजमस्ती र रमाइलो गर्न सबैलाई पुगेकै छ । तै पनि अर्थतन्त्र चौपट भो, अब धान्न मुश्किल पर्छ भनेर मान्छेहरु कराइरहन्छन् । फजुल खर्च घटाउनुपर्यो भन्छन् । फजुल खर्च घटाउनै पर्यो भने आफू र आफ्नाको चित्त के भनेर बुझाउनु ? त्यो गाह्रो हुन्छ । आफ्नाको चित्त बुझाउन गाह्रो हुने देखेपछि सरकारले हतारहतार आफ्ना मान्छेलाई आ-आफ्ना ठाउँमा नियुक्त गर्यो, अर्काका मान्छेलाई पाखा लगायो । यति काम गरेपछि सरकारलाई लाग्यो, अब चाहिँ अर्थतन्त्रमा गम्भीर सङ्कट आउन सक्छ, फजुल खर्च त घटाउनै पर्छ । अर्थतन्त्रलाई सङ्कटतिर जान नदिन के गर्ने र फजुल खर्च कसरी घटाउने भन्नेबारे निर्णय गर्न सर्वपक्षीय बैठक बस्यो । मन्त्री, नेतादेखि उच्च तहका कर्मचारी बैठकमा बसे ।
सबैभन्दा पहिले अर्थतन्त्र सङ्कटमा परेको हो कि होइन भन्नेबारे छलफल सुरु भयो।
छलफल सुरु गर्दै सत्तारुढ दलको अर्थतन्त्र हेर्ने मान्छेले कुरा सुरु गरे ।
अर्थतन्त्र सङ्कटमा पर्यो भन्छन् मान्छेहरु । साँच्चै हो र भन्या, म त सबै ठिकठाक देख्छु ।
मलाई पनि त्यस्तै लाग्छ । बिहान बेलुका भात खान पाइएकै छ । दिउँसो खाजा मिलेकै छ । हामी मन्त्री, नेता र कर्मचारीलाई सरकारी पैसामा खान, घुम्न पुगेकै छ । नातेदार, इष्टमित्रले भनेको ठाउँमा नियुक्ति पाएकै छन् । हामीलाई गुन लगाउने मान्छेले मन्त्री पाएकै छन् । झन्डा हल्लाएर गाडीमा डुलेकै छन् । तपाईं विज्ञहरु पनि चिल्लो गाडीमा गुड्नुभएकै देखिन्छ । अरुले पनि खाएकै छन्, लगाएकै छन्, मोटर चढेकै छन् । गरिबले त पहिले पनि खान पाएका थिएनन्, अहिले पनि पाएनन् । उनीहरुको के कुरा, तपाईँ हामीले पाए भएन र भन्या ?
त्यो त हो । तर सबेलै सङ्कट आउन सक्छ भन्दैछन् । आउनै लागेको सङ्कट टार्न केही गरेको देखाउनै पर्यो । त्यसैले, फजुल खर्च घटाउने भनेर केही निर्णय गर्नुपर्छ जस्तो छ है ।
हुन्छ, देखाउनका लागि त जे गरे पनि भयो, तर पहिले सङ्कटको कुरा गर्न थाल्नु पर्यो । किनकि कुरा नगरे सङ्कटको आभास हुँदैन । फेरि कुरा नगरे के गर्नु ? हामीले गर्ने भनेको कुरै त हो नि ।
बरु यसो चिया बिस्कुट पो खाने हो कि पहिले ? घरमा अलिअलि त खाएको हो, तर सरकारी चिया बिस्कुट नखाँदासम्म स्वाद नआउने क्या !
हुन्छ हुन्छ, जाबो चिया पिउन के ठूलो कुरो भयो र ? तपाईँको र मेरो खल्तीबाट जाने होइन, सरकारी ढुकुटीको खान त के भयो र ? बरु दूध हालेको कि कालो पिउने ? चिनी भएको कि नभएको ?ग्रिन टी या लेमन टी ? कफी नै पिउने कि ?
जस्तो भए पनि भइहाल्यो नि । बिस्कुट पनि राखौँ है । चियामा बिस्कुट नभए त मज्जै हुन्न ।
ल अब चिया आयो, चियासँगै कुरो सुरु गरौँ ।
मन्त्रीज्यू देशको हालत त श्रीलङ्काजस्तो हुने भयो । गम्भीर हुनुपर्यो ।
नेपाल कसरी श्रीलङ्का जस्तो हुन्छ ? श्रीलङ्कामा कापी किन्न नसकेर विद्यार्थीको परीक्षै रोकियो । तर, हाम्रोमा परीक्षा भइरहेको छ, कापीको फालाफाल मात्र छैन, चुनावको मतपत्र पनि छापिँदैछ ! हो अर्थतन्त्र गम्भीर अवस्थामा छ, तर हाम्रो सरकारको कारणले होइन पहिलेको सरकारले गर्दा अवस्था गम्भीर भएको हो ।
पहिलेको सरकारलाई आरोप लगाउन पाइँदैन । हाम्रो पालामा अर्थतन्त्र बलियो थियो, हामी पो कमजोर भयौँ र सरकार ढलाइयो त ।
यो सर्वदलीय बैठक हैन नेताज्यूहरु आरोप प्रत्यारोप गर्न । विषयमा केन्द्रित हौँ नि।
सबैभन्दा पहिले जनतालाई खानेकुरा कम खानु भन्नुपर्छ । बिहान उठेर बेकारमा किन चिया पिउनुपर्यो ? एकैचोटी भात खाए भइहाल्यो नि । ........ए त्यो बिस्कुटको प्लेट यता सारिदिनुस् त, यहाँ राखेको सकियो ...... ।
चिया मात्रै होइन, मासु पनि नखाए हुन्छ । गाउँमा सबैका घरको भकारीमा धान र मकै भइहाल्छ । करेसाबारीमा तरकारी फलिहाल्छ । तरकारी र भात खाए पेट भरिहाल्छ । अनि किन खाने मासु । मासु मात्रै नखाए पनि तेल र मसला जोगिन्छ, विदेशबाट आयात गर्नु पर्दैन ! ..........ए साँच्चै अहिले लञ्चमा मासुको आइटम के छ रे ?
माछा राखौँ कि खसी भन्नुस् न ।
दुवै राखौंँ । मसला चाहिँ अलि धेरै राखेर ग्रेभी बनाउनुपर्छ है ।
अनि फजुल खर्च घटाउन जनतालाई गाडी पनि नचढ भन्नुपर्छ । पहिले पहिले हाम्रा पुर्खाहरुले गाडी नचढे पनि गुजारा गरेकै थिए क्यारे ।
त्यसो त नेताहरुले पनि नचढे हुन्छ ।
दुई/चारजना नेताले चढ्दा त के हुन्छ र ? सबैले गाडी नचढे सडक सुनसान भइहाल्छ नि । सडक सुनसान भयो भने लकडाउनको झल्को आउँछ । त्यस्तो झल्को त दिन भएन नि । हामी नेताले चाहिँ चढ्दा हुन्छ, अरुले चाहिँ नचढे पनि फरक पर्दैन ।
हामी जस्ता मन्त्री र नेताले चढ्ने गाडी बिजुलीबाट चल्ने चाहिँ हुनुपर्छ, ताकि मितव्ययिता देखियोस् । अरु अघिपछि सुरक्षाकर्मीको गाडी किन चलाउनुपर्यो । ...... ए मेरो सहयोगी कता गएछन्...सुन त हाम्रो गाडीमा तेल भर्यौ त ? भरिहाल्नु है । पछाडि हिँड्ने गाडीमा पनि भर्नु । हामीलाई त चाहिन्छ नि । गाडी पनि चाहिन्छ, पछाडि हिँड्ने पनि । अरुको लागि पो भनेको ।
मन्त्री र नेताका गाडी पनि घटाउँदा हुन्छ हजुर ।
गाडी घटाएर हेलिकप्टरको सुविधा लिँदा हुन्छ । हेलिकप्टर चढ्न नमिल्ने हो भने हेलिकप्टरमा गाडी झुन्ड्याउने । अनि त्यही गाडीमा झुन्डिएर छिनको छिन यहाँबाट त्यहाँ, त्यहाँबाट यहाँ पुगेर भाषण ठोक्नुपर्छ ।
सार्वजनिक बिदा पनि हप्ताको दुई दिन मात्रै होइन, सात दिन गर्नुपर्छ हजुर ।
हैन एक/ दुई दिन अफिस आउनुपर्छ । घरमा के गरेर बस्ने ? म्यारिज कति खेल्नु । पाँच दिन बिदा, दुई दिन खुला गर्नुपर्छ । आराम पनि मज्जाले हुने, काम गरेजस्तो पनि लाग्ने ।
राज्यकोषबाट खाजा, खाना, बैठक भत्तामा हुने फजुल खर्च पनि कटौती गरेको राम्रो ।
अहिले हाम्रो बैठक भत्ता र खाजाखाना त राज्यकोषबाटै गर्न मिल्छ नि, हैन ?
त्यो त मिलिहाल्छ नि । निर्णय पो यसो गरौँ भनेको त । नखाउँ, नलिउँ त कहाँ भनेको हो र ? मितव्ययी बन्ने निर्णय पनि गर्ने हो, खाइरहेको बानी पनि नछोड्ने हो।
हो हो त्यसै गरौँ। अहिलेलाई चाहिँ टन्न लञ्च खाऔँ, अनि बैठक भत्ता बुझेर आ-आफ्नो घरतिर लागौँ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।