कोरोना प्रभावित विपन्न परिवारले सरकारबाट निकासा भएको राहत पाएनन्

 चैत ३०, २०७८ बुधबार ७:१३:३१ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतमा झण्डै २ हजार २ सय कोरोना प्रभावित विपन्न परिवारले सरकारले निकासा गरेको राहत रकम पाउन सकेका छैनन् । कोरोना प्रभावित विपन्न परिवारका लागि झण्डै तीन महिना अघि सरकारले रकम निकासा गरेको थियो ।

कोरोना महामारीले प्रभावित पर्वतका २ हजार १ सय ७८ परिवारका लागि २ करोड १७ लाख ८० हजार रुपैयाँ निकासा भएको थियो । पर्वतका ७ पालिकामध्ये पैञ्यु गाउँपालिकाले लाभग्राही पहिचान गरी वितरण गरेपनि अरु पालिकाले वितरण गर्न सकेका छैनन् । पैञ्यु गाउँपालिकाले १ सय ९४ प्रभावित परिवारमध्ये १ सय ८० परिवारलाई वितरण गरिसकेको छ । अरु परिवार सम्पर्कमा आउने क्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो ।

पर्वतमा कुश्मा नगरपालिकामा ५ सय २८, फलेवास नगरपालिकामा ३३ सय ८४, जलजला गाउँपालिकामा ४ सय ४६, विहादी गाउँपालिकामा १ सय ६९, महाशिला गाउँपालिकामा १ सय ४६, मोदी गाउँपालिकामा ३ सय ११ र पैञ्यु गाउँपालिकामा १ सय ९४ जना प्रभावित परिवारको पहिचान गरी सोही अनुसार २ हजार १ सय ७८ परिवारको प्रतिपरिवार १० हजारको दरले २ करोड १७ लाख ८० हजार रुपैयाँ निकासा भएको थियो ।

महालेखा नियन्त्रकको कार्यालयले गएको पुसको अन्तिम हप्ता नै सबै पालिकामा रकम पठाएको थियो । खातामा रकम गएको तीन महिना बितिसक्दा पनि यसको वितरण हुन सकेको छैन । फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले रकम वितरणका लागि दाबी विरोधको समय दिइएको र केही दिनभित्र वितरण गर्ने तयारी गरिएको बताउनुभयो ।

यस्तै महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले अनुदान रकमको विषयमा सुरुमा खासै जानकारी नपाएको र अहिले लाभग्राही पहिचान गर्ने काम भइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया