घोषणामा घोलिएका मसलाका के कुरा, चुनाव चिह्नै स्वादिला !

 बैशाख ११, २०७९ आइतबार ९:३:३६ | मिलन तिमिल्सिना
unn.prixa.net

भोकालाई माम, बेरोजगारलाई काम, बेखर्चीलाई दाम ! यात्रुलाई रेल, खेलाडीलाई खेल, खेल जित्न झेल, बेमेललाई मेल, सेल पकाउनलाई तेल, सुक्खा बारीमा बाढीको भेल, अपराधीलाई जेल, नभए फेल ! छुमन्तरको भरमा गाउँठाउँमा विकास, सबै नेपाली सुखी र समृद्ध !.......यी त भए दलहरुका घोषणापत्रमा पढ्न र हेर्न पाइने चटपटे कुरा । घोषणापत्र भन्दा पनि दलहरुका चुनाव चिह्न अझै स्वादिला छन् । यति स्वादिला कि चुनाव चिह्न सम्झन थालेपछि न भोक लागेको थाहा हुन्छ, न रोग लागेको पनि पत्तो पाइन्छ । अर्को पाराले भन्दा चुनाव चिह्नको दर्शन गर्न थालेपछि भोक र रोग दुवैको एकसाथ समन हुन्छ ।

सबैभन्दा पहिले सूर्यबाट छुट्टिएर बनेको कलमको कुरा गरौँ । तपाईँलाई लाग्दो हो, डिजिटल जमानामा कलमको के काम ? तर जे छ, अहिले पनि कलममै छ । अझै पनि हाजिरी जवाफमा तरबारभन्दा कलम बलियो भनेर भट्याउनेहरु नेपालमा बलियै छन् । कार्यालयमा कम्प्युटरमा काम गर्नु पर्ने भए पनि कर्मचारीले गोजीमा कलम भिरेकै हुन्छन् । विद्यार्थी र शिक्षकले कलमले नै लेख्छन् । त्यसैले नयाँ पार्टीले कलमको महत्त्व बुझ्यो । घोषणापत्र पनि कलमले नै लेख्ने हो, टाइप गर्ने बानी छैन । घोषणापत्रमा यो गर्छु, उ गर्छु भन्ने कुरा पनि कलमले लेखेर देखाउनको लागि नै हो । त्यसैले देखाउन र लेखाउन दुवैका लागि कलम नै काम लाग्छ ।  कलमभन्दा ठूलो कुरा अरु हुनै सक्दैन ।

अब कलम त के, रुख र घामभन्दा पनि आफैँ ठूलो ठान्ने हँसिया–हथौडाको कुरा । हँसिया हथौडा छुन नपरे पनि यो पार्टीका मूलीहरु आफूलाई श्रमिक र दुःखीको पार्टी भन्छन् । कुरा दुःखीहरुका दुःखको गर्छन्, तर दुःखका कुरा गर्न पनि महलमा बस्छन् । बाटो छेउमा बसेर पसिना पुछ्दै गरेका श्रमिकलाई देखेर पनि नदेखेझैँ गरी चिल्लो कारमा हुइँकिन्छन् । सुकिलोमुकिलो र तडकभडकमा रमाइरहँदा हँसिया–हथौडा नै बिर्सने हो कि भनेर उनीहरुले यसलाई गोलाकारभित्र जतन गरेर राखेका छन् । चुनाव आउने बेला यही हँसिया–हथौडा देखाउँछन् । कहिले तर्साउँछन्, कहिले धम्क्याउँछन्, कहिले फकाउँछन् । हँसिया–हथौडा यसै पनि शक्तिशाली । हथौडाले हिर्काएर सूर्य त टुक्रियो भने जाबो रुखको हाँगो छिनाउन कतिबेर लाग्छ र ? त्यसैले रुखका मूली हँसिया–हथौडा रिसाउला कि भनेर निकै सचेत भैरहेका छन् । आफूलाई बलियो भन्ने रुख त तर्सनेबेला हँसिया–हथौडासँग अरु झन् नडराउने कुरै भएन । 

कलम र हँसिया–हथौडासँगै रुखको फेदमा अडयाएर राखेको छाता पनि आफूलाई निकै शक्तिशाली ठान्छ । तराईको चर्काे घाममा जीवन गुजार्न बाध्य नागरिकलाई शीतल दिन भन्दै खुलेको छाता बेलाबेला हराउँछ । कहिले घामसँग मिल्छ, कहिले रुखसँग । चुनावको बेला फेरि छाता फरफराउँछ ।

छाताको पछिल्तिर छेलिएर बसेको गिलासको पनि आफ्नै फूर्ति छ । सङ्घीयता बेकामे भो भनेर बेलाबेला उफ्रेर पोखिन खोज्ने गिलासलाई रुखहरुको आडमा नबसे रित्तै हुने हो कि भन्ने डर छ । त्यसैले सङ्घीयता कहिले यता र कहिले उता पर्छ, तर गिलास सधैँ गिलास भरिने दाउ ढुकेर बसिरहेको छ । गिलासलाई पूर्ण विश्वास छ, गर्मीको यो बेला मान्छेले पानी खोज्छन् । पानी पिउन सजिलो हुने भएकाले गिलास रोज्छन् । पानी पिएपछि मान्छेले गिलास फालेर हिँडे पनि गिलास फाल्ने मान्छेको हात समाउन सकिएला भन्ने गिलासको आश मरिहालेको छैन ।

अब रुखको कुरा । रुख त यसै पनि रुख, आफ्नै हाँगा काट्ने हँसिया हथौडादेखि कलम, छाता र गिलास पनि अहिले आड खोज्दै आफैँसँग बसेका छन् । गर्मीको यो बेला सूर्य त यसै चम्किन्छ । तर सूर्य चम्किन थालेपछि मान्छेले रुख खोज्छन् । रुखको छहारीमा बस्छन् । चुनावमा भोट दिन जाँदा पनि शीतल लिन रुख, भोट दिएर फर्किएपछि पनि थकाइ मार्न रुख । मतदातालाई शीतल दिन मात्रै होइन, घरगोठदेखि देश नै बनाउन पनि रुख नै चाहिन्छ । सूर्यवालाले साँच्चै कुनै दिन रेल चलाइहाल्यो भने रेलको लिक बनाउन पनि रुखकै काठ चाहिन्छ । ठूला विकास निर्माणका आयोजना बनाउने बेला ढलान गर्दा पनि रुखकै हाँगाको टेका र फलेक चाहिन्छ । रुख नभइ त हुँदै हुँदैन । देश बनाउने भनेको रुखले हो । रुखको शक्ति कति छ भनेर जान्न रुखका जरा खोतलेर हेर्नुपर्छ । तर अहिले जरा खोतल्न नलागौँ। चुनावको बेला रुख ढल्यो भने आड लिएर बसेका हँसिया–हथौडा, कलम, छाता र गिलासको हालत के होला ! त्यसमाथि रुखलाई सर्वस्व ठानेका मान्छेलाई कुनबेला कलम समाउने, कुनबेला छाता ओढ्ने, कुनबेला हँसिया–हथौडाले हिर्काउने र कुनबेला गिलास समातेर पानी पिउने भन्ने अन्योल छ । 

सूर्यको त झन् के कुरा । वैशाख–जेठको गर्मी, त्यसमाथि सूर्यको राप । बेलाबेला ग्रहण लागे पनि सूर्यलाई आफ्नो शक्ति किञ्चित मात्रामा पनि घटेको जस्तो लाग्दैन । घामले सोच्छ, छोडेर जानेहरुको कलम आफैँ ठूटो भइसक्यो, त्यस्ले क्यै पनि ख्याँस्दैन । आफैसँग भएको हँसिया–हथौडामा सूर्यको चमक छ, अर्कोले हँसिया–हथौडाले ठोक्दैमा टाउकोमा टुटुल्का उठ्दैन । उबेला घाममा बसेर रेल र पानीजहाजको सपना देखाइयो । दिउँसै देखेको सपना हुनाले धेरैले बिर्सिसके । तर चुनाव गर्मी धेरै हुने बेलामा परिदियो, मान्छे रुखको छहारीतिर लाग्ने डर धेरै छ । छाता अड्याएर रुख मुनि बस्दै, कलमले लेख्दै र गिलासमा चिया पिउँदै मान्छेहरु बस्न थाले भने सूर्यमा फेरि ग्रहण लाग्नसक्छ । त्यसैले सूर्य कतै साइकल, कतै तिर र कतै हलोको साथ खोज्दैछ ।

साइकल पनि आफूलाई वैकल्पिक साधन ठान्छ । साइकल देखाएर साइकल पार्टीका नेताहरु भन्छन्, इन्धन महँगो भएको यो बेला साइकल चढौँ । तर कुरा साइकलका गरे पनि उनीहरु आफैँ साइकल चढ्दैनन्, बरु चिल्ला कारमा सयर गर्छन् । तर पनि उनीहरुलाई मधेसदेखि पहाडसम्म, पूर्वदेखि पश्चिमसम्म साइकलमै ओहोरदोहोर गर्न सकिन्छ भन्ने दरिलो विश्वास छ । हलो त यसै पनि किसानको साथी । हलो मेरो भन्नेले हलो नदेखेको जुग बितिसक्यो, हलो नै जोतेर निर्वाह गर्नेको हातमा पनि हलो हराउन थालिसक्यो । तर हलोवालालाई अझै पनि हलोले नै भलो गर्छ भन्ने विश्वासले छाडेको छैन । हलो छोडेर तीर समाउनेलाई पनि आफैँ बलियो छु भन्ने लागिरहेको छ।

चुनावको बेला मात्रै मै हुँ भनेर फूर्ति गर्ने यी चिह्नले फूर्तिवालाको निधारमा रातोटीका दल्छ कि कालो, त्यो त जेठको पहिलो हप्तासम्म देख्न पाइएला ।  

अन्तिम अपडेट: असार ११, २०७९

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया