दुई दिन बिदा हुँदा साबुनदेखि भुँडीसम्मको चिन्ता !

 बैशाख १८, २०७९ आइतबार ८:५८:१७ | मिलन तिमिल्सिना
unn.prixa.net

अघिल्लो दिन विदेशी जाँडरक्सी र तास आयात रोकेर भोलिपल्ट सरकारले भन्यो – जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा । सरकारको यो पाराले सरकारी कर्मचारीलाई रुने कि हाँस्ने बनाएको छ । रुन थालौँ भने बिदा थपिएको छ, किन रुनु ! हाँस्न थालौँ भने बिदामा टाइमपास गर्ने जाँडरक्सी र तास आयात नै बन्द हुने भयो, कसरी हाँसौँ ! रुने कि हाँस्ने दोधारमा ल्याएर सरकारले सरकारी कर्मचारीमाथि अन्याय गरेको छ ।

सरकारलाई लागेको छ, हप्तामा दुई दिन बिदा दिँदा गाडी धेरै चल्दैनन् । गाडी नचलेपछि गाडीमा हाल्ने तेल बच्ने भो । तेल बचेपछि तेलको लागि खर्च गर्नुपर्ने पैसा जोगिने भो । बिदा थपिएपछि कर्मचारी पनि खुशी । शिक्षक र विद्यार्थी पनि खुशी । सबैलाई फाइदा नै हुन्छ । तर बिदा थपिँदा फाइदाभन्दा धेरै बेफाइदा हुने भएको छ । कसरी भन्नुहोला । ल हेर्नुहोस् यसरी । 

१. इन्धनमा झन् धेरै धन :

दुई दिन बिदा भएपछि सरकारी गाडी चल्दैन र इन्धन जोगिन्छ भन्ने सरकारलाई लागेको छ । तर यस्तो निर्णय गर्ने सरकारका मान्छेहरुलाई नै बिदाको दिन सरकारी गाडीमा गुड्ने बानी छ । तरकारी लिन जान गाडी, ससुरालीमा श्रीमती पुर्याउन गाडी, सालीलाई डुलाउन गाडी, बिदाको सदुपयोग भन्दै घुम्न निस्कन त्यही गाडी ! अरु दिनभन्दा बिदाको दिन झन् धेरै सरकारी गाडी गुड्छन् । अरु दिन त घर र कार्यालय ओहोरदोहोरमा मात्रै गाडी गुड्ने हो । बिदाको दिन त दिनभरि नै गाडी गुड्छन् । शनिवार एकदिन बिदा हुँदा त घुम्ने बानी भएका कर्मचारी आइतवारसमेत बिदा थपिँदा घरमा बस्ने कुरै भएन । घुम्न जाँदा हिँड्ने कुरो पनि भएन । गाडीमै गुड्नुपर्यो । अनि दुई दिन बिदा हुँदा इन्धन कसरी जोगियो त ?

२. साबुन र स्याम्पुको सत्यानाश

बिदा भनेको घुम्न मात्रै होइन, नुवाइधुवाइको लागि पनि हो । अहिलेसम्म शनिवार नै ज्यान र कपडा पखाल्ने धेरैलाई बानी छ । अब आइतवार पनि शनिवारजस्तो हुने भयो । शनिवार पनि नुहाइधुवाइ गर्नुपर्यो । अनि भोलिपल्ट आइतवार पनि शनिवारजस्तै हुने भएपछि भोलिपल्ट पनि त्यसैगरी नुहाइधुवाइ गर्नुपर्यो । दुई दिन उसैगरी नुहाइधुवाइ गरेपछि साबुन र स्याम्पुको सत्यानाश हुने भयो । नुनभुटन र मरमसलामा भन्दा धेरै खर्च साबुन र स्याम्पुमा लाग्ने भयो ।

३. मासुमा माग दोब्बर

पहिलेपहिले हुँदा खाने बेलामा दशैँमा मात्रै मासु देख्न पाइन्थ्यो । अहिले त हुँदा खानेहरु भन्दा हुने खानेहरु धेरै छन् । हुने खाने भएपछि हप्तामा एकपटक मासु खानै पर्यो । त्यसैले शनिवार धेरैको भान्सामा मासुको बासना मगमगाउने गरेको छ । अहिलेसम्म त शनिवार मात्रै मासु मगमगाउँथ्यो । अब आइतवार पनि बिदा हुने भएपछि शनिवार मात्रै मासु खाएर चित्त बुझ्दैन । दुई दिन मासु चाहिने भयो । अर्थात मासुको माग दोब्बर हुने भयो । मासुले मात्रै भएन, मासुलाई सितन मानेर चुस्की लगाउने झोल पदार्थ पनि चाहियो । मासु र मासुसँग खाने झोलमा पैसा डुब्ने चिन्ता भयो ।

४. भुँडीवालको सङ्ख्या थपिने

बिदाको दिन सबै घुम्न निस्कँदैनन् । दिनभर घुरेर सुत्नेहरु पनि धेरै छन् । अहिलेसम्म शनिवार दिनभर सुतेपछि आइतवार कार्यालय पुग्दा त्यो सुताइले खासै फरक परेको थिएन । अब त कर्मचारी लगातार दुई दिन सुत्ने भए । एकातिर दुई दिन लगातारको सुताइ, अर्कोतिर मासुमा डबल डोज । अनि भएजति कर्मचारीका भुँडी लाग्ने भयो । अहिलेसम्म त केही हाकिमहरु मात्रै भुँडीवाल हुन्थे । अब त खरिदारदेखि हाकिसम्म भुँडीवाल हुने भए । कार्यालयमा सबै भुँडीवाल भएपछि अहिले भइरहेका कोठाको पनि अभाव हुन सक्ने भयो ।

५. घरझगडा

सबैभन्दा ठूलो कुरा त दुई दिने बिदाले घरघरमा झगडा बढाउने भयो । दुई दिनसम्म घरमा केटाकेटी र श्रीमान्–श्रीमती सँगै हुने भए । सँगै भएपछि खटपट हुन्छ । श्रीमानले श्रीमतीको गोप्य कुरा थाहा पाउँछ, श्रीमतीले श्रीमानको गुपचुप कुरा थाहा पाउँछिन् । छोराछोरीले आमाबाबुको थाहा पाउन नहुने कुरा थाहा पाउँछन् । हुर्केका छोराछोरी त्यस्तै कुरा बाबुआमाले पनि थाहा पाउँछन् । शनिवार मात्रै बिदा हुँदा पो त्यो दिन नुहाइधुवाइ र घुमफिरमा दिन बित्थ्यो, गुपचुप कुरा थाहा पाउने समय हुँदैन थियो । अब त गुपचुप कुरा थाहा भएर झगडा गर्नको लागि आइतवार दिनभर समय बाँकी हुने भयो । घरघरमा भनाभन, कुचो र पिर्काले हानाहान हुँदा टोलमै कोलाहल हुने भयो ।

दुई दिन सार्वजनिक बिदा दिनेहरुले यस्तो समस्या बुझेका छन् त ? आफ्नै घरमा झगडा हुन थालेपछि बल्ल बुझ्ने होलान् ! 

अन्तिम अपडेट: चैत ९, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया