यस्ता छन् काठमाण्डौ महानगरका मेयर उम्मेदवारहरुका प्रतिबद्धता

 वैशाख १८, २०७९ आइतबार १२:५०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

देशभर पालिका चुनावको रौनक छाएको छ । चिया पसलदेखि, कफी शप अनि मलदेखि महलसम्म चुनावी गफले ठाउँ पाएको छ । आफ्ना महानगरदेखि गाउँपालिकासम्म को उम्मेदवार बलियो, को कमजोर, कस्का काम कस्ता थिए नयाँ आउनेका के हुन सक्छन् भन्ने आकलनले सामाजिक सञ्जालदेखि घरपरिवारमा चर्चा हुने गरेको छ । 

सबै उम्मेदवारका आआफ्नै एजेन्डा र प्रतिबद्धता छन् । काठमाण्डौ महानगरपालिकाका मुख्य तीन प्रतिस्पर्धी उम्मेदवारहरुका प्रतिबद्धता यस्ता छन्ः

मेरो परिचय नै मेयरसाप हो 

केशव स्थापित, नेकपा एमाले



मेरो परिचय भनेको मलाई अहिले पनि मेयरसाप भन्छन् । मेरो परिचय नै मेयरसाप हो । मेयर भनेको चाहिँ हिजो मेरो कार्यकालमा गरेको काम अर्थात अहिले मेयरको उम्मेदवार भएपछि नभएर त्यसभन्दा अगाडिदेखि देशको कुना कन्दरा अझ काठमाण्डौको सबै ठाउँको कसरी रुपान्तरण गर्ने, त्यसलाई अलि गतिशील बनाउने भन्ने विचार तथा त्यसको परम्परा, संस्कृतिको सुरक्षादेखि त्यसलाई प्रवर्द्धन गर्ने, आर्थिक रुपमा गतिशील बनाउने मेरो योजनाहरुले मानिस चकित हुन्छन् । त्यसैले मलाई मेयरसाप हुनुपर्छ भनेर भन्ने गरेका छन् । 

वर्षौँदेखि अरु राजनीतिक पार्टीहरुले तपाईँ आइदिनुर्यो, तपाईँ साझा मान्छे हो भन्ने गरेका छन् र त्यो व्यक्तित्व मैले निर्माण गरेको छु । त्यसकारण यो मैले प्राप्तिपछि आजसम्म बोली आएका अनि गरी आएका तथा पार्टीले अगाडि सारेका घोषणा पत्र छन्, प्रतिबद्धताहरु छन् साथै मैले नै अगाडि सारेको सयौँ विषय तथा योजनाहरु छन् त्यसलाई मैले जितेको भोलिपल्ट सार्वजनिक अभिनन्दन पछि सार्वजनिक सुनुवाइ हुनेछ र त्यहाँ जनताको गुनासो तत्काल सुनुवाइ गरिनेछ । 

सुशासन, स्वास्थ्य तथा सामाजिक सुरक्षा दिन्छु 

सिर्जना सिंह, नेपाली कांग्रेस



काठमाण्डौ महानगरको मेयर जितेपछि काठमाण्डौ महानगरवासीलाई सेवा र सुशासन दिन्छु, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा दिन्छु त्यति मात्र नभएर प्रत्येक वडामा सर्वसुलभ एउटा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, प्रत्येक सार्वजनिक स्थलमा शुद्ध खानेपानीको निशुःल्क व्यवस्था गर्नेछु ।

महानगरलाई सुरक्षित सहरको रुपमा देखाउन चाहेकोले जो श्रमजीवि महिला राति काम गर्नुहुन्छ उहाँहरुलाई सुरक्षित महसुस गराउन बत्ती तथा सीसीटीभीको व्यवस्था गर्नेछु । मौलिक ज्ञान, भाषा, जात्रा, बाजा, पर्व, चाडपर्व प्रवर्द्धन गर्ने मेरो प्रमुख दायित्व हुनेछ । काठमाण्डौलाई सुन्दर, सुरक्षित पर्यटकीय स्थल बनाउने पनि मेरो प्रतिबद्धता रहनेछ । काठमाण्डौको फोहर व्यवस्थापन मेरो प्रमुख दायित्व हुनेछ । काठमाण्डौको फोहोरलाई शून्य फोहर व्यवस्थापन अन्तर्गत रहेर सफा सहर बनाउनेछु । 

सूचना, प्रविधिको युग भएको हुनाले युवा तथा महिलालाई स्वावलम्बी तथा सिर्जनशील बनाउन उहाँहरुलाई उद्यमी तथा आत्मनिर्भर बनाउने काममा लाग्नेछु । काठमाण्डौ महानगरलाई भ्रष्टाचारमुक्त तथा चुस्त सेवा प्रदान गर्ने संस्थाका रुपमा विकसित गर्नेछु । 

सरकारी कार्यालयमा लाग्ने लाइन हटाउँछौँ

बालेन शाह, स्वतन्त्र



काठमाण्डौको मेयर जितेपछि शिक्षा, स्वास्थ्य, सडक व्यवस्थापन, फोहरमैला व्यवस्थापनदेखि लिएर अन्य व्यवस्थापन चुस्त बनाउने योजना बनाएको छु । योजना अनुसार पाँच वर्ष पछाडिको काठमाण्डौ अहिले हामी घरबाट निस्कँदा जसरी धुलो, धुवाँ हुन्छ अनि त्यसबाट जोगिन मास्क लगाउँछौँ हामी त्यसलाई मास्क लगाउन नपर्ने बनाउँछौँ । 

खाल्डाखुल्डीमा हाम्रो बाइक, गाडी फसेर गाह्रो बनाइरहेको हुन्छ भने धुलो पनि हुन्छ त्यस्ता बाटोलाई हामी खाल्डाखुल्डीरहित बनाउँछौँ । त्यस्तै सरकारी कार्यालयमा जाँदा हामी लामो लाइन बस्नुपर्ने हुन्छ, कर तिर्न पनि लामो समय लाग्छ कतिपय अवस्थामा कागज नमिलेर ३–४ दिन पनि लाग्छ त्यसलाई झन्झटमुक्त बनाउने ती सबै सेवालाई डिजिटल प्रणालीमा लैजाने तथा सरकार भनेको घरदैलो सेवा हुनुपर्छ जस्तै जन्म दर्ता, बिहेदर्ता घरबाटै गर्न सकिने गर्नुपर्छ।

काठमाण्डौ महानगर भनेको भौतिक हिसाबले सम्पन्न सहर हो त्यसकारण यसलाई विकासभन्दा पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया