भरतपुर महानगर : गुरुयाेजनादेखि हेर्न लायक सहर बनाउनेसम्मका प्रतिबद्धता

 बैशाख २०, २०७९ मंगलबार १०:२७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन – पालिका चुनावमा मेयर पद यसै पनि आकर्षक मानिन्छ । त्यसमाथि महानगरको मेयरले अर्कै रौनक थप्ने गर्छ । यस अर्थमा पनि महानगरको मेयरको टिकटका लागि सबै पार्टीमा धेरै आकाङ्क्षी देखिएका छन् । 

२०७४ सालको पालिका चुनावदेखि चर्चामा रहेको भरतपुर महानगर यस पटक पनि चर्चामा रहेको छ । सत्तारूढ गठबन्धनका दलहरू कांग्रेस र माओवादी केन्द्रले भरतपुर महानगरको मेयर पद छोड्न चाहेको देखिएन । 

रेनु दाहाललाई फेरि भरतपुरको मेयर उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वयंले ठूलै कसरत गर्नुपर्‍याे । तर, अघिल्लो चुनावमा पनि भरतपुरको मेयर माओवादीलाई छोडेका कारण कांग्रेस कार्यकर्ता निकै असन्तुष्ट देखिए । 

उनीहरूको असन्तुष्टि सतहमै देखियो । कांग्रेस कार्यालय तालाबन्दीदेखि स्वतन्त्र उम्मेदवारीसम्म दर्ता गरे असन्तुष्ट कांग्रेस कार्यकर्ताले । कांग्रेसका नेता तथा पूर्व राष्ट्रिय सभा सदस्य जगन्नाथ पौडेलले असन्तुष्ट कांग्रेसको रूपमा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उहाँको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाण आफैँ चितवन पुग्नुभयो । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई फोन गरेर सम्झाउने प्रयास गर्नुभयो । तर पौडेलले मान्नुभएन । 

एकातिर पौडेलको उम्मेदवारी कायमै रहँदा कांग्रेसको धेरै भोट रेनु दाहाललाई नजाने अनुमान गरिएको छ । एमालेका विजय सुवेदीलाई बलियो दाबेदारको रूपमा हेरिएको छ ।

भरतपुर महानगरकाे मेयरका लागि मुख्य तीन प्रतिस्पर्धी उम्मेदवारका आ–आफ्नै वाचा र प्रतिबद्धता छन् । 

गुरुयोजना बनाउनु पहिलो काम : विजय सुवेदी, एमाले 

चार वटा नगरपालिका मिलेर २०७३ साल फागुन १७ गते भरतपुर महानगरपालिका बने पनि महानगरको विकासका लागि कुनै पनि गुरुयोजना बनेको छैन । पहिलो काम यसको गुरुयोजना बनाउनु छ । 

तीन लाख ६९ हजार तीन सय ७७ जनसङ्ख्या रहेको भरतपुरमा सबैको अभिलेखीकरण गर्नुपर्ने छ । भरतपुरलाई स्वच्छ, हरियाली, समृद्ध, मानवीय सहरको रूपमा विकास गर्नुपर्ने छ । भविष्यमा भरतपुरलाई संसारको राम्रा सहरमध्ये एक बनाउने परिकल्पना गरेर योजना बनाउनुपर्ने छ  । 

महानगरका सबै जनाको अभिलेखीकरण गरेर गरिबीको रेखामुनि भएकाहरूको जिम्मेवारी लिने काम गर्नुपर्ने छ । साथै ज्येष्ठ नागरिक तथा बालबालिकाको संरक्षण गर्न जिम्मेवारी लिने, अपाङ्गता तथा अशक्तता भएकाहरूको जिम्मेवारी लिने तथा रोजगारी गर्न सक्ने, काम गर्न सक्नेहरूलाई आफ्नै ठाउँमा काम दिन सक्ने गरी योजना बनाएर हामी भरतपुरलाई गौरव गर्न लायक महानगर बनाउँछौँ । 

एकअर्कालाई सेवाको भावले हेर्ने हाम्रो पूर्वीय सभ्यता तथा पश्चिमा प्रविधिको समृद्धिलाई जोडेर भरतपुरलाई समृद्ध मानवीय महानगर बनाउनु छ । यसका लागि यस पटक नै हाम्रो आवश्यक्ता देखिएका कारण मेरो उम्मेदवारी परेको हो । 

विगतका योजनालाई पूर्णता दिने : रेणु दाहाल, नेकपा माओवादी केन्द्र

पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट भरतपुरको महानगरको साझा उम्मेदवारका रूपमा मेयरमा मेरो उम्मेदवारी रहेको छ । यसअघिको पाँच वर्ष कार्यकाल पूरा गरी दोस्रो पटकका लागि मेरो उम्मेदवारी हो । 

यस अवधिमा महानगरले विकासमा फड्को मारेको छ । भरतपुरलाई समृद्ध बनाउनका लागि, देशको एउटा हेर्न लायक सहरको रूपमा विकास गराउनका लागि स्मार्ट सीटीको झल्को आउने गरी विकास योजनाका काम अगाडि बढेका छन् । राष्ट्रिय गौरव तथा महानगर गौरवका आयोजना अगाडि बढेका छन् भरतपुरमा । 

ती सबै योजना अहिले बन्ने क्रममा छ । ती योजनालाई पूर्णता दिनका लागि तथा थप अरू पूर्वाधार तथा विकासका योजनालाई अगाडि बढाउन मेरो उम्मेदवारी हो । साथै महानगरपालिकालाई देशकै एउटा गर्व गर्न लायक तथा हेर्न लायक सहर र दक्षिण एसियाली मापदण्डको सहरको रूपमा विकास गर्ने प्रचुर सम्भावना पनि हामीसँग छ । यी कुरालाई आत्मसात् गरेर दोस्रो कार्यकालका लागि मेरो उम्मेदवारी रहेको छ । 

मैले काम गरेर देखाएको छु, जनताको मन जितेको छु, यस हिसाबले पनि भरतपुरवासीले मलाई साथ दिनु हुनेछ भन्ने विश्वास गरेको छु । 

नगरपालिका सञ्चालन गरेको अनुभव र विशेषज्ञता छ : जगन्नाथ खतिवडा, स्वतन्त्र 

मैले यस पटक भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवार हुने निर्णय गरेको छु । मसँग वरिष्ठ अधिवक्ता तथा पहिलेको भरतपुर नगरपालिका चलाएको अनुभव पनि छ । तत्कालीन समयमा भरतपुर पहिलो नम्बरको नगरपालिकाका रूपमा पुरस्कृत भएको थियो । मेरो अनुभव र योग्यताका हिसाबले पनि महानगरको नेतृत्व गर्न सक्छु भन्ने लाग्छ । बहुआयामिक भूमिकामा रहेको व्यक्तिले मात्र महानगर सम्हाल्न सक्छ । 

विभिन्न संस्था सञ्चालन गरेर तिनलाई राम्रो ठाउँमा पुर्‍याएकाे अनुभव पनि मसँग छ । यी विविध कारणले भरतपुरको मेयरमा उपयुक्त छु भन्ने मेरो भनाइ हो । विवेक तपाईँको पुँजी हो । विवेक प्रयोग गर्नुभयो भने मलाई सन्तोष हुनेछ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया