उत्तर र दक्षिण कोरियाका राष्ट्रप्रमुखले एयरपोर्टमै गरे अंकमाल

 असोज २, २०७५ मंगलबार १३:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

उत्तर कोरियाका नेता किम जोन उनले दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनलाई मंगलबार प्योङयाङमा स्वागत गरेका छन् ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच यस वर्षको तेस्रो भेटघाटका क्रममा मुन तीन दिने भेटघाटको लागि उत्तर कोरियाको प्योङयाङ पुगेका हुन् । कोरिया प्रायद्विपमा शान्ति स्थापना गर्ने उद्देश्यका साथ उनीहरुको भेटघाट भएको छ ।

मुन आएको हवाइजहाज नजिकै सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटै देशका प्रमुखले मुस्कुराउँदै अंगालो हालेका थिए । मुनको स्वागतार्थ पन्ध्र मिनेटसम्म सैनिक धुन बजाइएको थियो । त्यसपछि  मुन, किम र उनीहरुकी श्रीमतीले विभिन्न अधिकारीहरुसँग हात मिलाएका थिए ।

उत्तर कोरियाका सञ्चारमाध्यमका अनुसार किम सन् २०११ मा सत्तामा आएपछि विदेशी पाहुनालाई एयरपोर्टमै स्वागत गर्न आएको यो पहिलो घटना हो ।

दक्षिण कोरियाका राष्ट्रपति मुनको स्वागतमा उत्तर कोरियाका नागरिकहरुले एयरपोर्टमा फूल र झण्डा हावामा उडाएका थिए । एयरपोर्टबाट आउने क्रममा उनीहरु खुल्ला कारमा रोडको छेउछाउमा स्वागत गर्न उभिएकाहरुलाई हात हल्लाएका थिए । जसले कोरियन प्रायद्विपको एकताको संकेत गरेको छ ।

यो तीन दिने भेटघाटमा दुईवटै देशका राष्ट्रप्रमुखले आर्थिक सहकार्य, उत्तर कोरियाली आणविक हतियार व्यवस्थापन र कोरियन युद्धको औपचारिक अन्त्यको निर्णयबारे बहस गर्ने भएका छन् ।

एक वर्षभित्र उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्ध निकै राम्रो भएको अधिकारीहरुले टिप्पणी गरेका छन् ।


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया