दुई दिनको पैदलयात्रापछि मतदान अधिकृतको टोली लाङटाङ पुग्याे

 वैशाख २७, २०७९ मंगलबार १२:२२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - शुक्रवार हुने स्थानीय चुनावको लागि दुई दिनको पैदलयात्रापछि मतदान अधिकृतको टोली लाङटाङ पुगेकाे छ । लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि मतदान अधिकृतसहितको ४ जनाको टोली हिजाे बेलुकी ७ बजे लाङटाङ पुगेको हो । 

आइतवार बिहानै प्रस्थान गरेको टोली त्यो दिन लामा होटल भन्ने ठाउँमा बसेको थियो । गोसाइँकुण्ड गाउँपालिका–४ मा रहेकाे सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ । यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन् । 

मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शङ्कर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ । ५ सयभन्दा कम मतदाता रहेका केन्द्रमा ४ जना कर्मचारी खटाइने प्रावधान अनुसार कर्मचारी खटाइएको हो ।

मतदान सम्बन्धी आवश्यक ज्ञान तथा सिप प्रदान गर्नका लागि जिल्लाको नौकुण्ड गाउँपालिका र लाङटाङ जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिवार नै तालिम प्रदान गरिएको थियो । 

जिल्लाको मतदान केन्द्रहरूमा २ सय ५५ कर्मचारी खटाइने छ । जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । 

कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालीका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । 

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया