एक हप्तायता ५ लाख जनाले काठमाण्डौ छाडे

 वैशाख २९, २०७९ बिहीबार ७:५९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज पनि काठमाण्डौको कोटेश्वर–जडीबुटी क्षेत्रमा यात्रुको चाप छ ।

भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको लर्को लागेको छ । हिजो एकैदिन ८३ हजार ६ सय ६० यात्रुले काठमाण्डौ उपत्यका छोडेका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर–जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६ सय ६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो ।

गाडी नपाउँदा हिजो धेरै यात्रु घण्टौँसम्म गाडी कुरेर बसेका थिए ।

यस्तै, पालिका चुनावका लागि एक हप्तायता ५ लाखको हाराहारीमा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाले जानकारी दिनुभयो ।

गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थाले पनि अस्ति र हिजो भिड धेरै थियो । यस्तै, हिजो धेरैजसो लामो दूरीका यात्रु बाहिरिएका थिए ।

आज भने मध्यम दूरीका यात्रु धेरै बाहिरिने क्रममा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत जिल्लामा जानेको सङ्ख्या धेरै छ ।

यसैबीच, भोट हाल्न जानेको सङ्ख्या बढेसँगै काठमाण्डौ उपत्यकामा गाडीको सङ्ख्या केही कम भएको छ ।

राजनीतिक दल तथा उम्मेदवारहरुले मतदाता ओसारपसार गर्नका लागि सार्वजनिक गाडी रिजर्भमा लैजान थालेकाले काठमाण्डौमा गाडीको सङ्ख्या केही घटेको हो ।

काठमाण्डौमा २० देखि २५ प्रतिशतले गाडीको सङ्ख्या घटेको सिटौलाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया