पालिका चुनावमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आयाेगकाे आँकलन

 बैशाख ३०, २०७९ शुक्रबार १६:२३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले पालिका तहको चुनावमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको बताउनुभएको हो । उहाँले  ३ बजेसम्म ४६ प्रतिशत मत खसेको र सो क्रम ५ बजेसम्म जारी रहने बताउनु भयो । प्रमुख आयुक्त थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्द नभएको बताउनु भयो । मतदान कार्य साँझ ५ बजेसम्म चल्ने भएकोले अझै मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेर मत हाल्न सक्ने बताउनु भयो ।

प्रमुख आयुक्त थपलियाले श्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग नरहेको स्पष्ट पार्दै विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेमा त्यो मान्य नहुने बताउनु भयो ।

‘३ बजेसम्म झन्डै ४६ मत खसेको छ । केहीमा ७०, केहीमा १८ प्रतिशतसम्म खसेको छ । समग्रमा भन्दा ४६ प्रतिशत मत खसेको छ । अहिले विभिन्न जिल्लाका ३२ वटा मतदान केन्द्रहरुमा द्विपक्ष विभिन्न राजनीतिक दल र उम्मेदवारहरुका बीचको द्वन्दको कारणले मतदान कार्य स्थगत भएको छ । यो रद्ध भएको होइन। मतदान अधिकृतहरुले हरसम्भव प्रयास गरेर मतदान कार्यलाई पुन: सञ्चालन गर्ने प्रयासमा हुनुहुन्छ । आयोगको प्रष्ट धारणा के छ भने आयोग वा आयोगका कर्मचारी र सुरक्षाकर्मीको कारणले कहीँ कतै गडबढी भएको भए त्यसको जिम्मेवारी आयोगले लिन्छ' प्रमुख आयुक्त थपलियाले भन्नुभयो, 'विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेको हो भने यो मान्य हुँदैन । ५ बजेसम्म सबै मतदान केन्द्रहरुमा कर्मचारी हुनुहुन्छ , पुनः सुचारु गर्ने सूचना गर्नुहुन्छ । ५ बजेभित्रमा मतदान स्थलको तोकिएको परिसरमा छिरेका सबै मतदातालाई मताधिकारको प्रयोग गर्न दिन्छौँ । श्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग छैन । हाम्रो अपेक्षा ६५ देखि ७२ प्रतिशतसम्म मत खस्न सक्ने भन्ने हो । अहिले केही मतदान केन्द्रहरुको स्थिति हेर्दा त्यो भन्दा माथि पनि पुगेको छ । लोकतन्त्रप्रति आस्थावान हुनुहुन्छ । यसमा कतै १७ प्रतिशत र त्यो भन्दा पनि कम मतदान अहिलेसम्म भएकोले यसमा पनि केही कम हुनसक्ने आँकलन छ ।’

प्रमुख आयुक्त थपलियाले अहिले सप्तरी, बझाङ, बाजुरा, बारा र रौतहटका केही मतदान स्थलमा उम्मेदवारकै प्रतिनिधिले मतपेटिकामाथि आक्रमण गर्ने कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोप्य हुनुपर्ने मतदानलाई प्रचारप्रसारका लागि सार्वजनिक गरेको भन्दै स्पष्टीकरण सोधिसकेको र यदी सत्य प्रमाणित भएमा कानूनअनुसार कारबाही हुने बताउनु भयो ।

प्रमुख आयुक्त थपलियाले मतदान सकिएका स्थानमा आज ८ बजेबाट मतगणना कार्य प्रारम्भ हुने र सम्पूर्ण मतगणनाको नतिजा ५ दिनभित्र सक्ने कार्ययोजना बनाएको बताउनु भयो । उहाँले आयोगले जेठ ५ गतेभित्र सबै निर्वाचनको काम सक्ने लक्ष्य राखेको पनि बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया