डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

 जेठ १, २०७९ आइतबार १५:१९:२३ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौ वटा पालिका रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयी सुरुवात गरेको हो । उक्त पालिकामा शुक्रबार रातिदेखि सुरु गरिएको मत गणना कार्य आज आइतबार बिहान सम्पन्न भएको निर्वाचान अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षका लागि उम्मेदवार बन्नु भएका भैरवबहादुर साउदले दुई हजार तीन सय ४३ मत प्राप्त गरी विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर घर्तीले एक हजार ६ सय ८४ मत प्राप्त गर्नु भएको छ । यसैगरी उपाध्यक्षमा कांग्रेसकै डम्मरीकुमारी विष्ट (कलेल)ले दुई हजार चार सय सात मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) की सपना सिराडीले दुई हजार दुई सय ७६ मत प्राप्त गर्नु भएको छ ।

गठबन्धन दलका तर्फबाट अध्यक्षका उम्मेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी) का भक्तबहादुर साउदले एक हजार चार सय ७१ मत प्राप्त गर्नु भएको छ । गठबन्धनका तर्फबाट उपाध्यक्षको उम्मेदवार बन्नु भएकी नेकपा (माओवादी केन्द्र) की देवीसरा घर्तीले आठ सय ३२ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी वडा नं १ बाट वडाअध्यक्षमा नेपाली कांग्रेसका डबलबहादुर बोहरा, वडा नं ३ बाट कांग्रेसकै रामबहादुर गुरुङ, वडा नं २ बाट नेकपा (माओवादी केन्द्र) का प्रेमबहादुर घर्तीमगर, वडा नं ४ बाट नेकपा (एमाले) का कर्णबहादुर जेठारा, वडा नं ५ बाट एमालेकै पदमसिंह बोहरा विजयी हुनु भएको छ । उक्त पालिकामा जम्मा मतदाता सङ्ख्या नाै हजार तीन सय ५५ रहेकोमा ६ हजार दुई सय ९ मत खसेको थियो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया