दूतावासबाटै श्रम स्वीकृति लिन पाउने खबरले खुशी छु, अब घर फर्कन पाउने भएँ

 असोज ३, २०७५ बुधबार १६:३४:३७ | मेरो कथा मेरो भोगाई

अमृता विश्वकर्मा, चितवन/हाल युएई । 

म युएईमा घरेलु कामदारको रुपमा कार्यरत छु । पाँच वर्ष भयो यहाँ काम गर्न थालेको  । अब घरेलु कामदारले पनि विदेशमा रहेका नेपाली दूतावासबाटै श्रम स्वीकृति लिन पाउने खबर उज्यालोमा पढेर एकदमै खुसी लागेको छ । 

म राम्रो काम र कमाइ हुँदाहुँदै पनि सरकारले घरेलु काममा पठाउन रोक लगाएका कारण दुई वर्षदेखि नेपाल आउन पाएको छैन । दुई सालको दसैँ तिहार यहीँ मनाउनुपर्यो । 

अब श्रम स्वीकृति हुन्छ रे भन्ने खबर घरमा सुनाउँदा मेरा छोरीहरु पनि एकदमै खुसी भएका छन् । 

घरेलु काममा धेरै नेपाली दिदीबहिनीले दुःख पाएको सुनेको छु । तर मेरो कुरा गर्दा मलाई एकदम राम्रो छ । काम, सेवा सुविधा राम्रो कम्पनीमा काम गर्नेहरुको जति नै छ । 

महिनाको ६० हजार कमाउँछु । वर्षमा एक महिना छुट्टी हुन्छ । यो दसैँ तिहारमा पनि मलाई छुट्टी छ, तर आउन पाउँदिन । काम छाडेर आउ भने अहिलेको अवस्थामा मेरो लागि यो काम एकदमै ठूलो हो । पहिला म साह्रै गरीब थिएँ । खाना लगाउन पनि गाह्रो थियो । 

बालबच्चालाई पढ्न पठाउँदा एउटा चप्पल पनि किनिदिन सकेको थिइनँ । गरिबीले थलिएको बेला चिनजानका दाइले दुबईमा राम्रो काम भएको बताए । मलाई साहु साहुनीले नै भिसा र टिकटको पैसा हालेर बोलाउनुभयो । बालबच्चा छाडेर एउटी आमा परदेशिनु सजिलो थिएन । तर बाध्यताले आमाको मायालाई छोपिदियो । 

म विदेश आएर कमाएपछि मेरा छोरीहरुले राम्रोसँग पढ्न पाएका छन् । मेरा तीन छोरीमध्ये दुईवटी कलेज पढ्छन् । एउटी कक्षा दशमा पढ्छिन् । 

यहाँ आएपछि सबै राम्रो भयो, तर सरकारको नियमले घर फर्किन पाइनँ । बालबच्चासँग भेट्न पाइएन । म यहाँ रुँदै बसेको छु । चाडवाडमा आमा नहुँदा छोरीहरुलाई पनि नराम्रो लाग्छ होला । यत्तिकै आउँ भने फर्किन नपाइने । यो कुराले एकदमै तनाव हुन्छ । 

तर श्रम स्वीकृति पाउने खबरले मलाई एकदम खुसी लागेको छ । मेरो छोरीहरुसँग यही दसैँमा भेट्न पाउँ भन्ने कामना छ । मिल्ने भए सरकारले यो व्यवस्था जतिसक्दो चाडै लागू गरेदेखि म जस्ता धेरै महिलालाई फाइदा पुग्ने थियो ।

धेरै आमाहरुले आफ्ना सन्तानसँग भेट्न पाउने थिए । आफ्नो सपना पूरा गर्न पाउने थिए । सरकार यो नियम चाँडो लागू गर ।
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया