यस सिजनको सगरमाथा आरोहणमा दुई जनाको ज्यान गयो

 जेठ ५, २०७९ बिहिबार १०:११:५६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सगरमाथा आरोहणको क्रममा एक विदेशी र एक नेपाली गरी दुई जनाको ज्यान गएको छ । यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा एक नेपाली सहयोगी र एक विदेशी आरोहीको ज्यान गएको पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार कञ्चनजङ्घामा पनि एक भारतीय र धौलागिरिमा एक नेपाली सहयोगीको ज्यान गएको छ । ज्यान जानुको कारण खुल्न बाँकी छ । यसपालि आरोहीका लागि मौसम अनुकूल नै भएको निर्देशक उपाध्यायले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ८० प्रतिशत आरोहण दलको अभियान सकिएको छ।

केही टोली काठमाण्डाै फर्किएर पर्यटन विभागमा ब्रिफिङसमेत सकेका छन् । केही टोली भने आरोहणकै सिलसिलामा छन् । यो वर्ष अनुकूल मौसम र ठूलो अप्रिय घटना नभएका कारण आरोहीको सफलता दर पनि बढी छ । यो वर्ष सगरमाथा आरोहणका लागि ४२ समूहका ३१९ जनाले अनुमति लिएका थिए ।

कुल १२३ समूहका ९६८ जना आरोहीले हिमाल चढ्न अनुमति लिएका थिए । पर्यटन विभागका अनुसार यो सिजनमा सरकारले ४८ करोड रुपैयाँ रोयल्टी सङ्कलन गरेकोे छ । जसमध्ये सबैभन्दा धेरै ३९ करोड ९५ लाख रुपैयाँ रोयल्टी सगरमाथाबाट उठेको छ ।

ल्होत्से हिमालबाट दुई करोड ८४ लाख र कञ्चनजङ्घा हिमालबाट एक करोड ३० लाख रुपैयाँ रोयल्टी उठेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया