कृषि कर्ममा रमाउनेहरुको अनुभव : जहाँ सन्तोष, त्यहाँ सुख

 जेठ १३, २०७९ शुक्रबार १०:३५:४३ | सुजता सुनुवार
unn.prixa.net

काठमाण्डौ – बाग्लुङ नगरपालिका वडा नम्बर २ का कृष्णप्रसाद पौडेललाई अहिले गाउँभरिकाले उत्कृष्ट पशुपालक भनेर चिन्छन् । उहाँ केही महिनाअघि मात्रै बाग्लुङ नगरपालिकाबाट उत्कृष्ट पशुपालकका रुपमा सम्मानित हुनुभएको हो । सम्मानित भएपछिको चर्चाले गाउँमा उहाँलाई उत्कृष्ट पशुपालकका रुपमा चिनिन गाह्रो भएन । सम्मानित भएर प्रमाणपत्र थापेका र दोसल्ला ओढेका थुप्रै पल छन् पौडेलसँग । 

नगरपालिकाबाट पाएको सम्मानभन्दा अघि उहाँ बाग्लुङको दुग्ध विकास बोर्ड र पशुसेवा कार्यालयबाट उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुनुभएको थियो । यसअघि २०७१ सालमा त झन् उहाँले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नगद ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने अवसर पाउनु भएको थियो।

त्यो बेला कृष्णप्रसादले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम २०७१’ बाट पहिलो पटक पुरस्कृत बन्ने मौका पाउनु भएको हो । उहाँ विगत सम्झिँदै भन्नुहुन्छ, ‘पुरस्कार लिँदै गर्दाको फोटो लिएको भए आजका लागि ऐतिहासिक सम्झनाको याद हुने थिएछ, तर त्यो बेला लिनुपर्छ भन्ने हेक्का नै भएन ।’ 

‘श्रीकृष्ण गाईभैँसी फार्म’ का सञ्चालक पुरस्कृत पौडेल नगदसहित सम्मानको प्रमाणपत्र थाप्दा खुशीले गद्गद् हुनुभएको थियो । किनभने गाईभैँसी फार्म सुरु गरेको ११ वर्षपछि उहाँ पहिलो पटक सम्मानित हुनु भएको थियो । उहाँ हास्दै भन्नुहुन्छ, ‘मैले निरन्तर गरिरहेको मेरो मेहनतलाई कसैले अवलोकन गरिरहेको छ भन्ने मैले कहिल्यै सोचिनँ ।’ पुरस्कृत भएपछि बल्ल उहाँलाई महसुस भयो, हामी जस्ता किसानका हितमा सोचिदिने सरकार पनि रहेछन् है भनेर। 

पुरस्कृत बन्नु, सबैका सामु उत्कृष्ट पशुपालकका रुपमा चिनिनु भनेको थोरै दुःखले आर्जन गर्न सक्ने सफलता पनि त होइन ! पुरस्कार थापिरहने उहाँको हातका बेग्लै छन् सङ्घर्षका कथा । जुन कथा आफूले खाइरहेको सरकारी जागिर छोडेर भारत पुग्नुपर्ने बाध्यात्मक परिस्थितिबाट सुरु हुन्छ । 

सरकारी जागिरभन्दा गाईफार्म सञ्चालनमा बढी सन्तुष्टि

२३ वर्ष अघिसम्म उहाँ गाविस सचिवको रुपमा सरकारी जागिर गर्नुहुन्थ्यो । मुस्ताङमा तीन वर्ष गाविस सचिव भएर काम गर्नु भयो । २०५५ साल द्वन्द्वकालको समयमा काम गर्न गाह्रो त थियो नै पाएको तलबले परिवार धान्न पनि हम्मे–हम्मे पर्थ्याे ।

सरकारी जागिरको पैसाले घरखर्च चलाउनै गाह्रो भएपछि उहाँ परिवार नै लिएर भारत जानु भयो । भारतमा पाँच वर्ष दुःख गर्नु भयो । भारत बसाइँले जति दुःख गरे पनि आफ्नै देशमा गर्नुपर्छ भन्ने ज्ञान भएपछि उहाँ नेपाल आउनु भयो, र गाईभैँसी फार्म सुरु गर्नु भयो । पौडेलले २०६१ सालदेखि गाईभैँसी फार्म सुरु गर्नु भएको हो । 

बाग्लुङ नगरपालिका-४ को काँटेखोला गाउँमा उहाँको ठूलो गाईभैँसी फार्म छ । ४ लाख रुपैयाँ लगानी गरेर फार्म सुरु गरेको पहिलो वर्ष आम्दानी शून्य । लगानी मात्रै भइरह्यो । मेहनतलाई निरन्तरता दिनु भयो । आम्दानी शून्य हुँदा पनि पौडेल कहिल्यै आत्तिनु भएन । उहाँको ध्यान मात्रै मेहनतमा थियो । 

पौडेलको फार्ममा अहिले एकसय वटा गाई, भैँसी र बाख्रा छन् । १८ वर्षअघि उहाँले यो फार्म एक वटा गाईबाट सुरु गर्नु भएको हो । दूध, दही र घ्यूको माग बढ्दै गएकाले गाईभैँसी थपिँदै गए । अन्ततः अहिले भने खसीको मासुको पनि माग हुन थालेकाले फार्ममा बाख्रा पनि थपिएका छन् । 

उहाँ गर्वकासाथ प्रश्न गर्दै भन्नुहुन्छ, ‘सरकारी जागिरकै लोभ गरिरहेको भए त्यो जागिरले मलाई सम्मान दिन्थ्यो र ? थोरबहुत कमाइ गर्थेँ होला तर सम्मान गुमाउँथेँ ।’ प्राप्त सम्मानले थप मेहनती बनाएपछि उहाँले फार्मसँगै दुग्ध डेरी उद्योग पनि खोल्नु भएको छ । यति मात्रै होइन, गाउँका अरु ६ जनालाई गाईभैँसी फार्ममा रोजगारी पनि दिनु भएको छ । अहिले उहाँलाई नाम, दाम र काम यसैबाट मिलेको छ । उसले उहाँ सन्तुष्ट मात्रै होइन स्वस्थ पनि हुनुहुन्छ । 

उस्तै छ कथा, सरिताको पनि

पौडेलमात्रै होइन बाग्लुङ नगरपालिका-३ की सरिता शर्मा पनि कृषि कर्मबाट निकै नै खुशी हुनुहुन्छ । उहाँलाई गाउँ छोडेर कामको खोजीमा भौतारिन परेको छैन । दूध, दही, मही र तरकारी किन्नु परेको छैन । यति मात्रै होइन घरखर्च पनि यसैबाट टरेको छ । 

एउटा गाईबाट सुरु गरिएको फार्ममा अहिले दुई बाच्छाबाच्छीसहित पाँच वटा दुहुनो गाई छन् । एक वटा टनेलबाट सुरु गरिएको तरकारी बारीमा अहिले सात वटा टनेल छन् । त्यसै खेर गएका बाँझो बारीमा लटरम्मै गोलभेँडा फलिरहेका छन् । त्यो गोलभेँडाको बोटमा फूलेका फूलसँगै फूलेका छन् सरिताको खुशी पनि । 

उहाँले १४ वर्ष अगाडि २५ हजार रुपैयाँमा एक वटा गाई किनेर पशुपालन सुरु गर्नु भएको थियो । अहिले यही फार्मबाट मात्रै वर्षमा नौ लाख रुपैयाँ कमाइ गर्छु भन्दै सरिता भन्नुहुन्छ, ‘काम गर्नु पर्यो, दुःख पाएँ भन्ने सोच्नु भएन । निरन्तर काम गरिरहे सफलता पाएरै छोड्छौँ । सफलतासँगसँगै सम्मान र सहयोग पनि मिल्छ।’ 

सरिताले अहिलेसम्म जिल्ला कृषि ज्ञान केन्द्र, दुग्ध विकास बोर्ड र बाग्लुङ नगरपालिकाको सहयोग पाइसक्नु भएको छ । गाईफार्मका लागि गोठसुधार र तरकारी खेतीमा टनेल बनाउने सहयोग पाउनु भएको हो । यसले सरितालाई काम गर्न थप हौसला मिलेको छ । अहिले उहाँले १२ रोपनीमा घाँस पनि रोप्नु भएको छ । क्षेत्र विस्तार गर्दै लैजान सके अरुलाई पनि रोजगारी दिने उहाँको सोच छ । 

गाउँको बारी बाँझै राखेर गाउँ छोड्नेलाई उहाँ सन्देश दिँदै भन्नुहुन्छ, ‘पैसाको मुठो हुन्न, बुटो हुन्न जहाँ पुगे पनि बाँच्नका लागि दुःख गर्नै पर्छ । जहाँ सन्तोष छ त्यहाँ सुख हुन्छ।’ 

अन्तिम अपडेट: असोज ११, २०७९

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया