राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण

 जेठ १५, २०७९ आइतबार ७:३१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - दैलेखको गुराँस गाउँपालिका-८ नम्बर वडा कार्यालयले जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह बस्दै आएका राउटेलाई तीन महिनाको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गुराँस गाउँपालिका– ८ का नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीको टोलीले सुरक्षा भत्ता वितरण गरेको हो।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको पाँच वर्षअघि गुराँस गाउँपालिका–८ का स्थानीय नागरिकका रुपमा परिचयपत्र वितरण गरेयता सङ्घीय सरकारले गुराँस गाउँपालिका-८ नम्बर वडा कार्यालयमार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ ।

हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने क्रममा जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका ४० परिवारका १ सय ४४ जनालाई माघ, फागुन र चैत समेत तीन महिनाको प्रतिव्यक्ति चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको गुराँस गाउँपालिका– ८ का वडासचिव सुस्मिता खड्काले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा हरेक २–३ महिनामा बस्ती सर्दै गर्ने राउटे समुदाय धेरैजसो दैलेखमा बस्ने गरेकोले सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका-८ नम्बर वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको हो । गाउँपालिकाले राउटे समुदाय जहाँ पुग्छन् त्यही पुगेर सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

राउटे समुदायलाई स्वास्थ्य, सरसफाइ र सामाजिक अन्तरघुलनका अभ्यास गराउन सामाजिक सेवा केन्द्र (सोसेक) नेपालले राउटे उत्थान परियोजना समेत सञ्चालन गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया