नेत्रहीन क्रिकेट टी–२० विश्वकप आजदेखि शुरू : नेपालले श्रीलङ्का...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – म्याग्दे गाउँपालिका वडानम्बर ४ थाङदी तनहुँकी शारदा उपरकोटी मिजारले २७ वर्षको उमेरमा एसएलसी पास गर्नु भयो । त्यो पनि उत्कृष्ट अङ्कसहित द्वितीय श्रेणीमा । तर पढाइमा उत्कृष्ट हुनु उहाँका लागि कहाँ सहज थियो र ? एक त बढ्दो उमेर । अर्को पारिवारिक जिम्मेवारी अनि आर्थिक अभाव । यी समस्या भन्दा पनि जटिल अर्को समस्या थियो, कमजोर शारीरिक अवस्था । एसएलसी परीक्षा दिन जाँदा २२ महिने काखे छोरा साथैमा थिए ।
श्रीमान् साउदीमा हुनुहुन्थ्यो । परिवार सम्हाल्ने मात्रै होइन आर्थिक व्यवस्थापनको जिम्मा समेत शारदाकै काँधमा थियो । १७ वर्षको उमेरमा विवाह गरेर १८ वर्षको उमेरमा आमा बन्नु भएकी शारदा एसएलसी परीक्षा दिँदा दोस्रो सन्तानको आमा बनिसक्नु भएको थियो ।
अहिले उहाँको हातमा उच्च शिक्षा हासिल गरेको सर्टिफिकेट छ । दुःख गरेर पढाइमा पाएको सफलतामा खुशी हुँदै शारदा भन्नुहुन्छ, ‘जहाँ इच्छा, त्यहाँ उपाय, दिनभरिको कामले गलेर फतक्कै हुँदा पनि म निद्रालाई भगाइदिन सक्थेँ। विद्यालयमा पढ्न जाँदा शारदासँग आर्थिक अभाव, समयको अभाव त थियो नै त्यसबेला मन मिल्ने साथीको समेत अभाव थियो । आफू भन्दा ११ वर्ष कान्छा विद्यार्थीहरुले गिज्याउँदै कुरा काट्ने मसला पाएका थिए । कतिले त ‘सुड्डी यो उमेरमा पढेर के गर्नु ?’ भन्दै मुखै खोलेर भन्थे । यति मात्रै होइन स्कुलको ड्रेसमा ‘सर्ट र पाइन्ट’ लगाउन आफूलाई सहज नहुँदा जङ्गलै जङ्गल भागेर स्कुलसम्म पुग्दाका पल सम्झँदा अहिले पनि शारदालाई उकुसमुकुस भएर आउँछ ।
आफ्नो अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ, ‘कति जना कक्षाका सहकर्मी त बोल्दा पनि बोल्दैन थिए ।’ यस्तो व्यवहारले भने साह्रै धेरै उहाँको मन रुने गर्थ्याे । तर अहिले खुशीको कुरा, त्यसै भन्ने र बोल्दा पनि नबोल्नेहरु प्रश्न गर्दै शारदाको पसलसम्म आइपुग्छन् ।
‘ओहो ! दिदी तपाईँ त अझै पनि पढिरहनु भएको छ है । हामी त पढ्न छोडेर विदेश लागियो । न घरजम भो । न सम्पत्ति जम्मा भो । न पढ्न नै सकियो । दिदीको मेहनत र निरन्तरताको प्रशंसक हौँ हामी ।’ उनीहरुले यसो भन्दा शारदाको मन प्रफुल्ल हुन्छ । अहिले शारदालाई खुशी लाग्नु यी मात्रै कारण होइनन्, अरु पनि छन् । सूर्योदय माध्यमिक विद्यालय खैरेनीटारमा कक्षा ५ मा पढिरहेको छोरोले आफ्ना साथीहरुलाई प्रश्न गर्दै भन्छन् ,‘तिम्रो मामुले कति पढ्नु भएको ? मेरो मामुले त १०, ११, १२, १३, १४ कक्षा पढ्नु भएको हो ।’
खुशी मात्रै होइन उहाँसँग मेहनतका केही उपलब्धिहरु पनि छन् । ती हुन्, पढेर ज्ञान हासिल गरेको सर्टिफिकेट साथमा छ । त्यो बेला नबोल्नेहरु पनि अहिले उहाँसँग बोल्नुहुन्छ । बच्चाको आमा भइसकेपछि के का लागि पढ्न पर्यो ? खर्च मात्रै हुन्छ पढेर प्रगति गर्न सक्दैनन् भन्ने सामाजिक सोचलाई परिवर्तन पनि गर्नु भएको छ ।
‘निलो सरकारी पोसाक लगाएर जागिरे कलम समाउन मन छ’
शारदा अहिले ३५ वर्षको हुनुभयो । उहाँ स्नातक तहमा अध्ययन गर्नुहुन्छ । अबको ५ वर्ष उहाँले लोकसेवामा अथवा शिक्षक आयोगमा प्रतिस्पर्धा गर्न पाउनु हुन्छ । उहाँको ऐच्छिक विषय अङ्ग्रेजी हो । मेहनत गरेर प्रतिस्पर्धा गर्ने मन गर्नु भयो भने राम्रो मौका मिल्न पनि सक्छ । किनकि विद्यालयमा अङ्ग्रेजीका शिक्षकहरु फालाफाल हुँदैनन् ।
मेहनत पुग्दो भयो भने र भाग्यवश समयमै शिक्षक आयोगको परीक्षा भयो भने निलो सरकारी पोसाक लगाएर जागिर खाने सपना पनि पूरा हुन सक्छ । सगरमाथा क्याम्पस पोखरामा कक्षा ११ मा अध्ययनरत छोरीले पनि सरकारी जागिर खाइदिए हुन्थ्यो भन्ने छ शारदालाई । उहाँ भन्नुहुन्छ, ‘साइन्स विषयमा पढिरहेकोले जागिरमा छोरीको सम्भावना राम्रै पनि छ ।’
श्रीमान् साउदीमा जेल पर्दाको समय
कमाइ गरुँ, घरखर्चमा सहयोग गरुँ । नानीहरुलाई राम्रो स्कूलमा पढाउन सकुँ । यस्तै, सपना बोकेर शारदाका श्रीमान् सुजन मिजार साउदी जानु भयो । साउदीको चर्को घाममा मेहनत गर्दै केही रकम घरमा पनि पठाउनु भयो । तर कोरोना महामारीका कारण पाइरहेको तलब कम्पनीले दिनै छाड्यो । लामो समयपछि तलब दिने तर एकदमै कम ।
कम्पनीको यस्तो व्यवहारले दिक्क बन्नु भएका सुजनले कम्पनीमा कामै गर्न छोड्नु भयो । काम छोडेको साढे दुई वर्षपछि उहाँलाई साउदी प्रहरीले बाटैमा पक्राउ गर्यो र जेल पठायो । आफ्नो र श्रीमान्को कमाइले पढ्न, घरखर्च चलाउन र नानीबाबुको पढाइ खर्च पुर्याउन सजिलो थियो । श्रीमान् जेल परेपछि भने सबैमा शाारदा एक्लैले धान्नु पर्यो । अनि सुरु भयो शारदाको सङ्घर्षका कथा।
रक्सी पारेर बेचेको पैसाले उच्च शिक्षा
शारदाले खर्च अभाव टार्ने अनेकन उपाय सोच्नु भयो । तर छोटो समयमा मेहनत गरे अनुसारको आम्दानी कतैबाट हुने भएन । अन्ततः छिट्टै आम्दानी हुन्छ भनेर उहाँले रक्सी पार्न थाल्नु भयो । यहि रक्सीबाट बनेको ‘कट’ सुँगुरलाई दिने गर्दा दोहोरो फाइदा हुने भएकाले सुँगुर पनि पाल्न थाल्नु भयो । उहाँले सुरुमै नौ वटा सुँँगुर पाल्नु भयो । ५० वटा कुखुरा पनि थप्नु भयो ।
उहाँ भन्नुहुन्छ, ‘यसैको आम्दानीले मैले पसल खोल्ने आट पनि गरेँ ।’ ८० हजार रुपैयाँ लगानीमा सुरु गरेको किराना पसलमा आधा शारदा आफैँको लगानी छ । आधा भने लघुवित्तबाट ऋण लिएर लगानी गर्नु भएको छ । सबै काम एक्लैले पूरा गर्नु पर्ने भएकाले उहाँ चार घण्टा मात्रै आराम गर्नु हुन्थ्यो । अरु समय भने काममा नै व्यस्त । उहाँ भन्नुहुन्छ, ‘पसलमा काम गर्दागर्दै पनि पढ्ने गर्थेँ ।’
अहिले सजिलोसँगै खुशी पनि
शारदाले ८० हजार रुपैयाँ लगानी गरेर सुरु गरेको किराना पसल अहिले ‘साइलेन्स समिक्षा किराना पसल’ को नाममा दर्ता गर्नु भएको छ । यो पसल उहाँले २०७५ सालमा दर्ता गराउनु भएको हो । यही पसलमा मात्रै अहिले ८ लाख रुपैयाँ लगानी पुगेको छ । आम्दानी पनि राम्रो छ ।
सामी परियोजनाको वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि कमाएको रकम कति लगानी गर्ने कति खर्च गर्नेबारेको ज्ञान भयो । यो ज्ञानले अझ धेरै सजिलो भएको शारदाको भनाइ छ ।
साउदीमा जेल परेका श्रीमान् पनि नेपाल आउनु भएको छ । छोराछोरी ठूला – ठूला भएका छन् । पसल पनि राम्रो चलेको छ । अहिले शारदा एक्लै हुनुहुन्न सपरिवारसँगै हुनुहुन्छ । यसले उहाँको दैनिकी सजिलो मात्रै होइन पाइला – पाइलामा खुशी पनि मिलेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।