स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न : प्रचण्ड

 जेठ १८, २०७९ बुधबार १७:१६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डाै र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर नागरिकले आफ्नाे पार्टीलाई पाठ सिकाएकाे बताउनुभएकाे छ । आज बुधवार काठमाण्डौमा आयोजना भएको माओवादी केन्द्रबाट जितेका पालिकाका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।  

चुनाव जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण नागरिकले मत दिएका अध्यक्ष प्रचण्डले जिकिर गर्नुभयो । उहाँले देशमा अझै कैयाैँ दशकसम्म पार्टीहरूले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘माओवादीले गर्ने जस्तो व्यवहारका कुरा गरेका कतिपय स्वतन्त्र मान्छेहरूलाई जनताले पत्याउनुलाई अपवादको रूपमा लिन्छु । केही साथीहरूले भाेलि त सात सय ५३ पालिकामै स्वतन्त्र उम्मेदवार हुन्छन् भन्नुभयाे तर त्यस्ताे होइन है । अझै कैयाैँ दशकसम्म पार्टीहरूले नै राज्य गर्छन् । स्वतन्त्र आएर नै लान्छन् भन्ने चाहिँ होइन । काठमाण्डाै र धरानमा जित्नेले हाम्राे पार्टीकाे जस्ताे कुरा गरेका छन् । हिजो हामीले जनताको सेवा गर्ने, धारो, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सबै सिध्याउँछौँ भनेर भनेको होइन ? हामीले राम्रोसँग नगरेको देखेपछि जनताले स्वतन्त्रलाई जिताएर हामीलाई पाठ सिकाएको जस्तो लाग्छ मलाई । तर स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नु हुन्न । त्यो अपवाद हो ।’

अध्यक्ष प्रचण्डले गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रूपमा नलिन पनि चेतावनी दिनुभयो । उहाँले माओवादी केन्द्रले जितेका पालिकाहरूमा पार्टीको आधार इलाका हुने गरी काम गर्न निर्देशनसमेत दिनुभयो । 

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया