हलेसी तुवाचुङ नगरपालिकाका मावि तहका विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइने

 जेठ १९, २०७९ बिहिबार ९:१८:४१ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माविमा अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको तयारी गरेको छ ।

मेयर विमला राईको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकले नगरका सबै मावि तहका १२ विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो ।

अङ्ग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका विद्यालयमा अङ्ग्रेजी माध्यम लागू गर्ने तयारी गरेको हो।

अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको पूर्वतयारीमा २० जेठमा ११ वडाका वडाध्यक्ष, १२ माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग छलफल गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । सुरुमा माविबाट अङ्ग्रेजी माध्यम लागू गर्ने र क्रमशः अन्य विद्यालयलाई यसतर्फ ‘मोटिभेट’ गरिने हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताउनुभयो । 

बैठकले विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयको समायोजन वा घटुवा गर्ने तथा बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवम् शिक्षक व्यवस्थापनका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न सामाजिक विकास समितिका संयोजक एवम् शिक्षा समिति सदस्य रुद्रकुमार राईको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ ।

यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा शाखा र प्रधानाध्यापकबीच कार्य सम्पादन करार सम्झौता गर्ने, यथाशीघ्र वडा शिक्षा समिति पुनर्गठन गर्ने, चौमासिक रुपमा तलब पाउँदै आएका शिक्षकलाई आउँदाे आर्थिक वर्षदेखि मासिक रुपमा उपलब्ध गराउने निर्णय भएको शिक्षा शाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया