कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउन माग आइरहेकाे छ : गगन थापा

 जेठ २३, २०७९ सोमबार १६:४२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नाे पार्टीभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरू आइरहेको बताउनुभएकाे छ । आज साेमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले पार्टीमा औपचारिक रूपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताउनुभयो । 

पार्टीका तर्फबाट मन्त्रिपरिषदमा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने महामन्त्री थापाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ, अहिलेसम्म मन्त्री नहुनु भएका केही साथीहरूलाई आफ्नो काम देखाउने मौका पाउनुपर्छ भन्ने व्यापक रूपमा माग छ । थोरै समय भएकोले गर्दा गर्ने कि नगर्ने भन्ने कुरा धेरै हदसम्म चाहिँ दलको नेता भएकोले गर्दा उहाँले के चाहनुहुन्छ भन्ने कुरामा भर पर्छ ।’

मन्त्री बनेकाे खण्डमा भविष्यका निम्ति आफूलाई नयाँ जिम्मेवारीका लागि तयार गर्न सकिन्थ्यो भन्ने धेरै सांसदकाे माग रहेकाे महामन्त्री थापाले बताउनुभयाे । मन्त्री हेरफेर गर्ने कुरा प्रधानमन्त्रीमा निर्भर रहने भए पनि केही फेरबदल हुनुपर्नै उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया