राष्ट्रवादको ढोङकाे पछि नलाग्नुस्, सक्कली चिन्नुस् : प्रचण्ड

 असार ३, २०७९ शुक्रबार १९:१२:३१ | रासस
unn.prixa.net

चितवन – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्टेर्ट पार्टनरशिप प्रोग्राम (एसपीपी) पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा भएको दाबी गर्नुभएकाे छ । 

भरतपुर महानगरपालिकाले आज शुक्रवार आयोजना गरेको भरतपुर महानगरको आउँदो कार्यदिशा विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो, ‘राष्ट्रवादको ढोङकाे पछि नलाग्न र सक्कली राष्ट्रवाद हुन पनि अपिल गर्दछु ।’ 

यस्तै प्रचण्डले शान्ति प्रक्रिया टुङ्गोमा लगाउने बेलासम्म पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयाे । सङ्घ र प्रदेशको चुनावसम्म मात्रै नभएर शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउने र विकासको नयाँ युगतिर लैजानका लागि पनि सामूहिकतामा नै जाने उहाँकाे भनाइ छ । 

देशलाई अब कसैले प्रतिगमनतर्फ लान नसक्ने भन्दै उहाँले भन्नुभयो, ‘अहिले पनि समस्या र चुनौती त छन्, यद्यपि गठबन्धनको सरकारले ती मुद्दा समाधान गर्दै अघि बढेको छ ।’ अहिले देशमा एक्लै हिँड्ने प्रवृत्ति र मिलेर हिँड्ने प्रवृत्तिका बीचमा लडाइँ भइरहेको उहाँले बताउनुभयो । हरेक पार्टीभित्र पनि यो प्रवृत्ति कायम रहेको भन्दै उहाँले भन्नुभयो, ‘हिजो प्रतिगमनतिर जान खोज्ने, संविधान मिच्न खोज्ने, लोकतन्त्रलाई मास्न खोज्ने प्रवृत्ति एक्लै हिँडेको छ । अर्को सबै मिलेर जाउँ भन्ने प्रवृत्ति रहेको छ ।’

एकताको पक्ष र विरोधीका बीचमा अहिले लडाइँ चलिरहेको उहाँले बताउनुभयो ।अध्यक्ष दाहालले चितवनको भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउन आफूले पहल थाल्ने बताउनुभयो ।

भरतपुर महानगरपालिकामा विगतमा भएका विकासको प्रशंसा गर्दै उहाँले यसअघि पहिलो प्राथमिकता सडक रहेको भन्दै अबको प्राथमिकता उत्पादन, रोजगारी, सामाजिक सुरक्षा र न्यायतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । विकासका हिसाबले आफ्नो ध्यान देशभरनै पुग्ने भए पनि यहाँको विकास देशकै लागि नमुना बन्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया