तपाईँलाई बिजुलीको तारमा हिँडौँ हिँडौँ लाग्दैन ?

 असार ५, २०७९ आइतबार ९:५७:४४ | मिलन तिमिल्सिना
unn.prixa.net

जिन्दगीको ताल र सुर मिलेन भने दिमागको तारले काम गर्दैन । काम गर्न नसक्ने हालतमा पुगेको दिमागी तारमा झमेला र बोझ थपियो भने बिजुलीको तारमा चढ्न मन लाग्छ । तल झारमा समातेर वारपार गर्दासम्म मान्छेले मान्छेलाई झारपातसम्म गन्दैन । तर तारमा चढी तारै समातेर दिउँसै आकाशका तारा र तलतिर खेतबारी र भित्ताका गारा गन्न थालेपछि भने संसारै हल्लिन्छ । परिवार र वरपरका मान्छे त हल्लिने भै हाले, सरकारको दिमागको तार पनि हल्लिन्छ । तार नचढ्दासम्म रौँसमेत हल्लिन नसक्ने शक्ति तारमा चढेपछि त्यसैत्यसै बिउँतिन्छ । तारमा चढ्नेबित्तिकै संसार नै हलचल हुने गरी वारको पारसम्म छचल्किन्छ । 

तपाईँलाई पनि तारमा चढेर एकपटक देश दुनियाँ हल्लाउन मन छ भने एकपटक दिमागको तारमा विचारका भार थप्नुहोस् । महँगीको मारदेखि चारतिरका विचार र भारले टाउकोको तार बिजुलीको तार हल्लाउन सक्ने गरी खलबलिएको हुनसक्छ ।

सबैभन्दा पहिले आफ्नो कमाइ र खर्चको हरहिसाब गर्नुहोस् । तलबको अङ्क हेर्न सुक्ष्मदर्शक यन्त्र नै चाहिने भैसक्यो, खर्चको आकार चाहिँ दुईवटा आँखाले दुई दिनसम्म हेर्दासमेत नभ्याइने गरी बढेको बढ्यै छ । अलि अस्तिताकासम्म कराईमा हाल्ने खाने तेल र गाडीमा हाल्ने खानीको तेलको मात्र भाउ बढेको थियो । अहिले त गाडीको ट्याङ्की, भातको कुकर र तरकारीको कराई हुँदै चियाको गिलाससम्म महँगीले भरिभराउ भैसक्यो । चिनीको भाउ मुख तीतो हुनेगरी बढ्यो । तिहारमा सेल पकाउने चलन नै हटाउनुपर्ने गरी खाने तेल महँगियो । टन्न धन भएकाले मात्रै गाडी चढ्न सक्ने गरी इन्धनको भाउ आकाशियो । आम्दानी खुम्चेको खुम्च्यै, तर खर्च गर्ने ठाउँ र मूल्य चाहिँ बढेको बढ्यै । तल भुइँमा बसेर गुजारा चलाउनै धौ धौ हुने भएपछि तपाईंलाई आकाशतिर फर्केर बिजुलीको तारमा हिँडौँ हिँडौँ लागेन ?

भुइँको जग्गा बाँझो राखेमा जरिबाना तिर्नुपर्ने रे । बाँझो जमिन खन्न त हातपाखुरा बलिया भएका मान्छे गाउँमा हुनुपर्यो नि । खुट्टा लागेका युवायुवती कोही सर्टिफिकेट च्यापेर युरोप अस्ट्रेलिया छिरे, कोही घरजग्गाको पूर्जा साहुलाई बुझाएर गरेको तमसुक बोकेर खाडी पसे । हातखुट्टा गलिसकेका बुढाबुढी सकीनसकी खनजोत र खेतीपाती गर्छन् । तर बाँझो राखे जरिबाना लिन्छु भन्ने सरकार खनजोत भैसकेको ठाउँमा मल दिन सक्दैन । न बाँझो जमिन राखेर सुख छ, न खनजोत गरेर । तल भुइँमा बसेर वार न पारको यस्तो जिन्दगी भोग्नुभन्दा बिजुलीको टावर चढेर तारमा पिङ खेल्न मन लाग्दैन त ? 

दुःख खेतबारीको मात्रै हो र, भकारीसम्म उस्तै छ । भकारीमा रहेको धान र हार लगाएको मकैमा पसेर मुसाले हैरान त पारेकै थियो । घरको चोटाकोठामा कुदेर, अन्नबाली र लुगाफाटा काटेर सखाप पार्ने मुसोले मन्त्रालयतिर पनि उसैगरी हैरानी पारेछ । मन्त्रालयका कर्मचारीले लेखेको बजेटको किताब मुसाले धुजाधुजा पारेछ । अनि मुसोले जस्तो भन्यो त्यस्तै खालको बजेट बाहिर आएछ । अर्थात बजेटमा समेत मुसो आतङ्क छाएछ । बिजुलीको तार काटेझैँ करको दर छिन्नभिन्न पार्ने मुसो प्रवृत्तिको कुरो सुनेर तपाईँको दिमागको तार खलबलिएन ?

देशको ढुकुटी जोगाउने जिम्मा पाएका मन्त्री ढुकुटी छिन्नभिन्न बनाउने मुसो मन्त्रालयमा छिराउँछन् । त्यही मुसोसँग उठबस गर्छन् । संस्कृति जोगाउने जिम्मा पाएका अर्का मन्त्री बातैपिच्छे जिब्रो टोक्नुपर्ने फोहर कुरा मात्रै ओकलेर डुङ्डुङ्ती गन्हाउँछन् । प्रदेशकी अर्की मन्त्री दिउँसै ‘मेरो पोई खोई’ भन्दै अर्कैको पोईको घरमा गएर उत्पात मच्चाउँछिन् । केन्द्रदेखि प्रदेशसम्म थरीथरी रुप र रङ्गका मन्त्रीको उपद्रोले प्रधानमन्त्री र गठबन्धनका नेताहरुको दिमागी तार हल्लिनुपर्ने हो । तर उनीहरुलाई चलाउँदा सरकार चाहिँ उल्टो हल्लिन्छ । सरकार जोगाउन भनेर हल्लिसकेको आफ्नै दिमागी तार समातेर कुर्सीमा झुन्डिरहेका प्रधानमन्त्री र मन्त्री सम्झेर तपाईँको तारले बिजुलीको तार सम्झाएन ?

दिमागको तार चुँडिने चिन्ता स्थानीय र राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरमै विस्तार भैसक्यो । अस्तिसम्म एमसीसी मात्रै भनेर मान्छेहरु बुरुकबुरुक गर्थे । तपाईं हामीले पत्याएका एकथरी मान्छे भन्थे – एमसीसी ठीक छैन । उस्तै पत्यार लाग्ने अर्कोथरी मान्छे तर्क गर्थे – एमसीसी एकदम ठिक छ । एमसीसीबारे कुनचाहिँ विश्वासिलो मान्छेले भनेको कुरा ठीक हो भनेर खुट्याउन पाएको छैन फेरि तिनै मान्छेहरु एसपीपी भनेर अर्को दन्तबझानमा लागेका छन् । पुलिसका एसपी भन्ने त अलिअलि जानेबुझेकै कुरा हो । एसपीपी भनेको चाहिँ के हो फेरि ? हिजोआज एकथरी मान्छे भन्छन्, अब चाहिँ अमेरिकी सेना आउँछ । अर्कोथरी भन्छन् वाइयात कुरो । अमेरिकी दूतावास भन्छ, नेपालले तीन वर्षअघि नै प्रस्ताव गरिसक्यो हामीले स्वीकृति दिइसक्यौँ। सरकार भन्छ, प्रस्ताव नै गरेको छैन कसरी स्वीकृत हुन्छ ? सरकारको एउटा मान्छे भन्छ, एमसीसीजस्तै एसपीपी पनि सही छ, अमेरिका जाँदा प्रधानमन्त्रीले सही गर्छन् । प्रधानमन्त्री भन्छन्, सही गर्ने कुरो सही हैन । एमसीसीले दिमाग घुमाइरहेको बेला फेरि दिमागमा उसैगरी जबरजस्ती अर्को एसपीपी घुसाइदिँदा तपाईँको दिमागका तार हल्लिएनन् ? 

दिमागको तार हल्लिन थाले भने बुझ्नुहोस्, तपाईंले संसार हल्लाउने आत्मिक शक्ति प्राप्त गरिसक्नुभो । अब तपाईँले बिजुलीको खम्बामा चढेर तार हल्लाउँदै संसार हल्लाउने काम सुरु गर्न मात्रै बाँकी छ । तर संसार हल्लाउन बिजुलीको तारमा चढ्नुअघि तपाईंको दिमाग हल्लाउनेहरुका अनुहार सम्झेर आकाशतिर फर्केर हैन भुइँतिर हेरेर थूथू गर्न चाहिँ नबिर्सनु होला।

अन्तिम अपडेट: बैशाख ४, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

3 Comments

  • नवीन रिजाल

    June 21, 2022, 1:40 a.m.

    लेख अति नै उत्कृष्ट शैलीको लाग्यो । पढेर ज्यादै प्रभावित भईयो। यस्तै लेख्दै जानुहोला । अझै धेरै प्रगतिको शुभकामना ।

  •  0 Reply
  • Bhagwan Ghimire

    June 19, 2022, 11:45 a.m.

    निकै रोचक र घोचक मिलन जि को यो व्यंगयात्मक आर्टिकल, साह्रै राम्रो र सटिक छ , यो त कुलंगार नेताहरुको दिमाग को तार हल्लनु पर्ने लेख हो तर तिनिहरुले पढ्दैनन। कसको नजर जान्छ र यतातिर ।

  •  0 Reply
  • Narayan Giri

    June 19, 2022, 11:16 a.m.

    एकदमै मन पर्याे /

  •  0 Reply

तपाईको प्रतिक्रिया