प्रधानमन्त्री देउवालाई बैठकमा नआउनुकाे कारण सोध्ने संसदीय समितिको निर्णय

 असार ५, २०७९ आइतबार १५:३८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ । 

आज आइतवार बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो । समितिले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न उहाँलाई बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्री देउवाले अन्तिम समयमा आएर मात्रै आफ्नो सचिवालयमार्फत बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको थियो । 

प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरिएको समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो । उहाँले त्यसरी संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित हुने कुरा संसदीय प्रणालीको अभ्यासमा उचित नदेखिएको पनि ध्यानाकर्षण गराएको बताउनुभयो । 

आजको बैठकमा प्रधानमन्त्री देउवाको अनुपस्थितिलाई लिएर विवादसमेत भएको छ । प्रमुख विपक्षी दल नेकपा एमाले र सत्तापक्षकै माओवादी सांसदले प्रधानमन्त्री देउवाको आलोचना गरेपछि कांग्रेसका सांसद भने बचाउमा उत्रिए ।

नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताउनुभएको छ । एसपीपीबारे प्रधानमन्त्री देउवाको जवाफ माग गरिएको तर, जवाफ दिन प्रधानमन्त्री अनुपस्थित हुनुले आशङ्का उब्जाएको उहाँको टिप्पणी छ । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री देउवाको बचाउ गर्नुभएको छ । उहाँले देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान भन्न नमिल्ने बताउनुभयो । भुसालले समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रूपमा नलिन आग्रहसमेत गर्नुभएको छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया