हात्ती बोक्नेलाई पनि पाइलैपिच्छे लात्ती !

 असार १२, २०७९ आइतबार ९:५:४७ | मिलन तिमिल्सिना
unn.prixa.net

हात्तीले भन्दा बढी हाडछाला घोटेपछि बल्लतल्ल हात्ती छाप भएको एउटा नोट हात पर्छ । रातदिन हाडछाला घोटेर हात परेको त्यो हात्ती खल्तीमा हालेर बजारतिर हिँड्दा पनि पाइलैपिच्छे लात्ती खानुपर्छ । लौ सुन्नुहोस् हातमा हात्ती हुँदा पनि लात्ती खानु परेको रामकहानी !

हिँडेर एक/डेढ घण्टासम्म पुग्न सकिने ठाउँमा गाडी चढ्ने बानी छैन । पानी दर्के पनि, घाम चर्के पनि लखरलखर हिँडिन्छ । हिँड्दाहिँड्दै हजार रुपैयाँको जुत्ता १० दिनमै फाटे पनि गाडी नचढेर २० रुपैयाँ जोगिएकोमा मख्ख परिन्छ । कहिलेकाहीँ खाजा नखाएर उब्रिएको पैसा हुँदा चाहिँ गाडी चढ्ने रहर लाग्छ । गाडी चढ्नुअघि नै भाडा ठिक्क पारेर राख्ने बानी लागेको छ । किनभने गाडीबाट झर्ने बेलामा सुरुवालको इँजारसमेत खोलेर छामछुम पार्दा भाडा नभेटेर भाटा भेटेको तीतो अनुभव छ । त्यसैले गाडी चढ्नुअघि नै हातमा २० को नोट ठिक्क पारेर राख्न थालेको हो । अस्तिसम्म त हातमा २० को नोट लिएर उभिएको देखेपछि सहचालकले परैबाट मुसुक्क हाँसेर गाडीको ढोकामा ढ्याप्प हान्थे, ल ल भित्र छिर्नुहोस् भनेर ढोकाबाट धकेल्थे । यसपालि त हातमा २० को नोट मात्रै देखेपछि सहचालकले परैबाट एउटा हातले लोप्पा खुवाउँदै भने : २० रुपैयाँमा गाडी चढ्ने दिन गए बाजे, अर्को ५ रुपैयाँ थप्ने भए गाडी चढ्ने नत्र हिँडेरै जाने । भाडाको लागि छुट्याएको २० रुपैयाँमा ५ रुपैयाँ छुट्याउने हो भने त तिउन तरकारी र भुटनको लागि ठिक्क पारेको हिसाबमा गोलमाल हुन्छ । ५ रुपैयाँ थपेर गाडी चढ्नुभन्दा त हिँडेकै जाति ।  

ठीकै हो, २० रुपैयाँ जोगिन्छ भने हिँडेकै जाति । यसैगरी पाँच २० जम्मा पार्न सकियो भने एकदिन होटलमा पसेर राँगाको मःम खान पुग्छ । मःमको स्वाद सम्झँदै हिँडेर तरकारी पसल पुगियो । आलु, घिरौँला, लौका, भिण्डी, करेला, बोडी, सिमी के मात्रै खानु । गाउँमा हुँदा आफूले बारीमा लगाउँदा कि एकथोक घिरौंला मात्रै फल्थ्यो, कि लौका मात्रै । सहरमा त फलाउने ठाउँ पनि छैन । सस्तोसस्तो तरकारी रोजेर किनेरै खाने हो । अस्तिसम्म सय रुपैयाँ दिएपछि दुई दिनलाई टन्न झोल हाल्न पुग्नेगरी तरकारी पाइन्थ्यो । अहिले हातमा निकालेको सय रुपैयाँ देखेर पनि पसलेले मुन्टो बटारे । हैन साहुजी तरकारी दिनुस् न भनेको त दुवै हातले नाकको डाँडी नै भाँचौँला झैँ गरी लोपरे : सय रुपैयाँमा तरकारी किन्ने जमाना गए बाजे, तरकारी लाने भए अर्को सय निकाल्नु, हैन भने घर गएर पानीमा नुनबेसार हालेर भात मुछ्नु । 

सय रुपैयाँमा तरकारी नपाइए पनि चार सय रुपैयाँमा तरकारीमा हाल्ने तेल त पाइएला नि । भान्साको कुनामा दुई डल्ला आलु बाँकी नै छ । त्यही आलुलाई दुई थोपा तेलमा रङ्ग्याएर भात खाइन्छ नि । अलि पहिलेसम्म डेढसय रुपैयाँमा पाइने तेलको भाउ बढेपछि अलिदिन त तेल नै नहाली पनि तरकारी खाइएको हो । तर सधैँ तेल नराखी तरकारी खान नसकिने रैछ । तेलको लागि चामलको मात्रा घटाइयो । हरेक छाकमा पाँच गास भात कम खाए पनि बाँचिने रैछ । छाकैपिच्छे पाँच गास भात कटाउँदा महिना दिनमा पाँच/सात किलो चामल कम किन्दा हुने भयो । अनि चामलमा कटौती भएको त्यही पैसामा अलिकति थपथाप पारेर तेल किन्न थालेको । दुईटा गेडा मेथी पड्काउन मिल्ने दुई थोपा मात्रै तेल हाल्दा पनि तरकारी पाकिहाल्ने रैछ । अहिलेसम्म यसैगरी चामल र तेलको तालमेल मिल्दै आएको छ । यसपटक पनि त्यसैगरी तेल पसलमा चारसय रुपैयाँ देखाउँदा पसलेले रातो आँखा बनाउँदै लोप्पा खुवाए : चारसय रुपैयाँमा तेल खोज्ने हो भने फेरि पानी मात्रै उमालेर भात मुछ्नु ।

आफ्नै खेतबारीमा फलेको तोरी पेलेर खानेतेल बेच्नेले त लोप्पा खुवायो । उता खानीको तेल बेच्ने पेट्रोलपम्पमा पुगेको भए के हाल हुन्थ्यो होला ? धन्न घरमा खानीको तेल राख्नुपर्ने मोटरसाइकल छैन । भएको भए पम्पवालाले भन्दा मोटरसाइकलले नै लोप्पा खुवाउँथ्यो होला । एकपटकमा दुई सय रुपैयाँ जतिको पेट्रोल हाल्ने बानी हुन्छ । अलि पहिलेसम्म त दुई सय रुपैयाँको पेट्रोलले दुई दिनसम्म गुडाउन पुग्थ्यो । अहिले दुई सय रुपैयाँको पेट्रोल हाल्ने हो भने स्टार्ट गर्न पनि पुग्दैन । स्टार्ट नै गर्न नपुग्ने पेट्रोल हालेपछि मोटरसाइकलले पिठ्युँमा बोकेर कुद्नुको सट्टा लोप्पा नै खुवाएर पछार्थ्याे होला नि ।

धन्न मोटरसाइकलको लोप्पा खानबाट चाहिँ बचियो । अनि सहचालकदेखि तेलवालासम्मले लोप्पा खुवाएर पठाए पनि हात्तीको छाप भएको नोट बचाउन पाएकोमा मन गद्गद भैरह्यो । गोजीमा एउटा हात्ती हुँदासम्म के को डर भनेर मख्ख परेर हिँडिरहँदा अघिल्तिर प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री र नेताको पद भिरेका सेता हात्तीका लस्कर देखिए ।

उबेला पेट्रोलमा एक सुको भाउ बढ्दा सडकमा ढुङ्गा हान्ने मान्छे अहिले मन्त्री बनेर रमिता हेर्दैछन् । गरिबले न्याय पाएनन् भनेर अर्काको टाउको ताकी हिँड्ने अर्को मन्त्री उतापट्टि फर्किएर हात्ती नै हात्ती भएको नोटको बिटो गन्दैछन् । जनताको दुःख देख्न सक्दिनँ भनेर भाषण गरेर नथाक्ने अर्को नेता आफ्नै सुखसयलको जिन्दगी सम्झेर गदगद हुँदैछन् । दिनहुँ चाहिने दानापानीको लागि नागरिकको भर पर्ने, तर कहिलेकाहीँ नागरिकलाई अप्ठ्यारो पर्दा एकदानो सहयोग पनि दिन नसक्ने यी सेता हात्तीहरुसँग सोझो हात्ती हातमा बोकेको मान्छेको भेट भयो । भेट हुनेबित्तिकै सेता हात्तीहरुले एकैपटक लोप्पा खुवाएर झपारे : एउटा जाबो हात्ती बोकेर तँ मुला जनतालाई भात खानुपर्ने ? गाडी चढ्नुपर्ने ? बाँचिरहनु पर्ने ? हामीलाई चाहिएको बेला, भोट दिने बेला बाँचे भैहाल्यो नि, सधैँ बाँचिरहनुपर्छ भन्ने के छ ? बाँच्नै मन लागेको भए बेलाबेला भाउ बढाउँदै, अलिअलि घटाइदिएजस्तो गरौँला नि !

अन्तिम अपडेट: साउन १०, २०७९

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया