बजेटमाथि असन्तुष्टि राख्दै एमालेको विरोध, कर्णाली प्रदेश सभा बैठक स्थगित

 असार १२, २०७९ आइतबार १८:३६:४६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको बजेटमाथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असन्तुष्टि व्यक्त गर्दै विरोध गरेपछि प्रदेश सभाको बैठक स्थगित भएको छ । 

एमालेका प्रदेश सभा सदस्यहरूले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै आज आइतवार बसेको १८ औँ बैठकमा उभिएर नै विरोध जनाएपछि सोमवार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सरकारले आफूहरूसँगको सम्झौतालाई बेवास्ता गरेको, असन्तुलित बजेट ल्याएको भन्दै चर्को आलोचना गर्नुभयो । 

आउँदो वर्षको बजेटमा मन्त्रालयगत छलफल गर्ने बैठकमा कार्यसूची रहेको थियो । बैठक सुरु भएलगत्तै नेता कँडेलले बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै सरकारको आलोचना गर्नुभयो । उहाँले यही अवस्थामा प्रतिपक्षको हैसियतले सरकारलाई सहयोग गर्न नसकिने बताउनुभयो । सभामुख राजबहादुर शाहीले प्रदेश सभा सदस्यहरूलाई बस्न पटक–पटक आग्रह गर्दा पनि उभिएर विरोध गरिरहेपछि सोमवार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो । 

कर्णाली प्रदेश सरकारले असार १ गते आउँदो आर्थिक वर्षका लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको थियो । 

अन्तिम अपडेट: चैत २६, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया