पालिकामा अनियमितता बढ्दै जानु चिन्ताको विषय : राष्ट्रपति भण्डारी

 असार १५, २०७९ बुधबार १६:२३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले पालिकामा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको छ ।

आज बुधवार महालेखापरीक्षकको कार्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले पालिकामा अनियमितता बढ्दै जानु चिन्ताको विषय बनेको बताउनुभएको हो । उहाँले पालिका तहका नेतृत्वले विगतका कमजोरीहरू नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक शुद्धता नै सुशासनको महत्त्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘विगतका लेखापरीक्षणको प्रतिवेदनले बेरुजु बढी रहेको पक्ष औँल्याएका छन् । अपेक्षाकृत रूपमा बेरुजु फर्स्याेट भएको देखिँदैन । पालिका तहकाे चुनाव सम्पन्न भइ नयाँ नेतृत्व जिम्मेवारी सम्हाल्ने क्रम सुरु भएको सन्दर्भमा नयाँ नेतृत्वले विगतका कमजोरी नदोहोरिने गरी आर्थिक अनुशासनको पालना गर्नुपर्छ । आर्थिक शुद्धता नै सुशासनको सबैभन्दा महत्त्वपूर्ण आधार हो भन्ने कुरा हामीले बुझ्न र बुझाउन आवश्यक छ ।’

राष्ट्रपति भण्डारीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक निकायबाट नियमित सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व सङ्कलन, स्रोत र साधनको बाँडफाँट लगायतका सुधारका क्षेत्रहरू पहिचान गरी सरकारलाई महत्त्वपूर्ण सुझाव दिनुपर्ने बताउनुभयो । उहाँले सङ्घ, प्रदेश र पालिकामा आर्थिक पारदर्शिता कायम गर्न महालेखा परीक्षकको कार्यालय सक्षम हुनुपर्ने धारणा राख्नुभयाे । 

राष्ट्रपति भण्डारीले सार्वजनिक प्रशासनमा देखिएका अनियमितता, चुहावट र भ्रष्टाचारलाई नियन्त्रण गर्दै विकास र समृद्धिको वातावरण सिर्जना गर्न सरकारका सबै निकायको एकीकृत र समन्वयात्मक विकास हुनुपर्ने बताउनुभयो । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया