वैदेशिक रोजगारीबाट फर्किएर कुरिलो खेती, लाखाैँ आम्दानी

 असार १७, २०७९ शुक्रबार १४:४१:५८ | रासस
unn.prixa.net

नवलपरासी – भक्तपुरका जयराज ख्याजुले एक वर्षअघिदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानमा व्यावसायिक कुरिलो खेती सुरु गर्नुभयो । कुरिलो खेती सुरु गर्नुअघि उहाँ १० वर्षसम्म वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो ।

वैदेशिक रोजगारीमा लामो समय बिताउनुभएका ख्याजु स्वेदशमा नै उद्यमी बन्ने सोचका साथ फर्किएर नवलपुरमा व्यावसायिकरूपमा कुरिलो खेती सुरु गरेको बताउनुहुन्छ । उहाँले ब्रम्हस्थानमा दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको हो । वैदेशिक रोजगारीबाट फर्किएलगत्तै व्यावसायिक कुरिलो खेती गर्न सुरु गर्नुभएका ख्याजुले मेहेनत गर्ने हो भने स्वदेशमा नै राम्रो आम्दानी गर्न सकिने उदाहारण प्रस्तुत गर्नुभएको छ ।

नारायणी नदीको काखमा अवस्थित ब्रम्हस्थान बत्तीमुनिको अँध्यारोजस्तै छ । यो गाउँ हुँदै नारायणी बग्ने भए पनि यहाँ सिँचाइका लागि पानीको सुविधा छैन भने यहाँको खेतबारीमा बलौटे माटो भएका कारण स्थानीयवासीले अन्नबाली उब्जाउन सकेका थिएनन् । वर्षमा एकपटक मकैखेती गरिने बारीमा ख्याजुले बाह्रैमास हरियाली हुने कुरिलो खेती गरेर गाउँमा नै उदाहरणीय काम गर्नुभएको छ ।

एक वर्षअघिदेखि मात्रै कुरिलो खेती सुरु गर्नुभएका उहाँले खेती सुरु गरेकै वर्ष सात लाख रुपैयाँ नाफा गरेको बताउनुभयो । “लामो समय वैदेशिक रोजगारीमा बस्दा गरेको मेहेनत र अहिले नेपालमै कृषिमा गरेको मेहेनतमा आफैँले गरेको पेसाप्रति सन्तुष्टि मिलेको छ”, उहाँले भन्नुभयो, “बाहिर १० वर्ष बसेँ त्यहाँ दिनको दुई हजार रुपैयाँ मात्रै कमाइ हुन्थ्यो, तर अहिले यहाँ कुरिलो राम्रो भयो भने महिनामा ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको छु ।”

कुरिलो उत्पादन हुने समय र गोडमेलका बेलामा स्थानीयवासीलाई दैनिक ज्यालादारीमा काम गराउने गरेको उल्लेख गर्दै उहाँले अन्य समयमा आफ्नै परिवारले कुरिलोको रेखदेख गर्दै आएको बताउनुभयो ।

उहाँका भाइ विश्वराज ख्याजुले ब्रम्हस्थानमै आएर १० वर्ष अघिदेखि व्यावसायिक कुरिलो खेती गर्दै आउनुभएको छ । उहाँले सुरुमा परीक्षणका रूपमा थोरै जमिनमा कुरिलो खेती गरेको उल्लेख गर्दै उत्पादन र बजार राम्रो भएपछि खेती विस्तार गरेर अहिले तीन बिघा क्षेत्रफलमा कुरिलो खेती गरेको बताउनुभयो । विश्वराज नवलपुर आउनुअघि भक्तपुरमै कुरिलो खेती गर्दै आउनुभएको थियो ।

“भक्तपुरमा कुरिलो खेतीका लागि जग्गा प्रशस्त नभएका कारण कुरिलो खेती गर्न नवलपुरसम्म आइपुगेँ”, विश्वराजले भन्नुभयो, “सुरुमा १२ लाख रुपैयाँमा लगानी गरेर कुरिलो खेती सुरुआत गरेको थिएँ, अहिले वर्षमा २५ लाख रुपैयाँ सम्म आम्दानी हुने गरेको छ ।” विश्वराजले कुरिलो खेतीबाट वार्षिकरूपमा १२ देखि १५ लाख रुपैयाँसम्म फाइदा हुने गरेको बताउनुभयो । कुरिलो खेती एकपटक सुरु गरेपछि पाँचदेखि सात वर्षसम्म उत्पादन दिने उहाँले सुनाउनुभयो ।

भित्री मधेस तथा तराईका जिल्लामा चैत, वैशाख, जेठ र असार महिनामा कुरिलोको राम्रो उत्पादन हुने गर्दछ । “कुरिलोले वर्षमा तीन महिना राम्रो उत्पादन दिन्छ”, विश्वराजले भन्नुभयो, “मङ्सिर, पुस र माघ महिनामा भने कुरिलोले उत्पादन दिन्न ।” मङ्सिरदेखि माघबाहेकका अन्य महिनामा भने सामान्यरूपमा कुरिलोले उत्पादन दिने विश्वराजको भनाइ छ ।

“कुरिलोको बजार मूल्य पनि राम्रो छ, कोभिडको समयमा थोककै पाँच सय रुपैयाँ प्रतिकिलोसम्म बिक्री भएको थियो”, विश्वराजले भन्नुभयो, “अहिले पनि थोकमै २५० रुपैयाँ प्रतिकिलोसम्म बिक्री हुने गरेको छ ।”

उत्पादन राम्रो हुने समयमा दैनिक ५० देखि ८० किलोसम्म उत्पादन हुने गरेको विश्वराज बताउनुहुन्छ । यहाँ उत्पादन हुने कुरिलोको मुख्य बजार काठमाण्डौ हो । कुरिलो स्वास्थ्यका लागि लाभदायक भएको हुँदा उत्पादन भएकै ठाउँबाट सहजरूपमा बिक्री हुँदै आएको विश्वराजको भनाइ छ ।

टेकराज पाेखरेल/रासस 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया