तपाईंलाई पनि एउटा पार्टी खोलौं खोलौं लाग्दैन ?

 असार १९, २०७९ आइतबार ८:१५:३३ | मिलन तिमिल्सिना
unn.prixa.net

ए साहुनी खै अर्को गिलास पनि खन्याइदिनुस् त ! बल्लबल्ल मुख फेर्न पाएको, अर्कोपालि यसरी आउन पाइने कहिले हो कहिले ? अहिले नै डोज पुग्ने गरी टुच्च लगाउन पर्यो ।

हैन यार, बेलाबेला टुच्च लगाउन पनि पैसा नपुग्ने भयो । यसरी त कसरी जिन्दगी चल्छ हौ ? केही उपाय छैन भन्या ?

पख न पख एक गिलास अझै थपौं । त्यसपछि उपाय त कति फुर्छ फुर्छ ?

ए साहुनी मलाई पनि एक गिलास थप्नुस् त ।

ल मलाई एउटा उपाय आयो । तँ र म मिलेर एउटा पार्टी खोलौं । यस्ता टुच्च लगाउन त कति पाइन्छ कति ?

कस्तो हावा कुरा गर्छ यार । पार्टी खोल्दैमा टुच्च लगाउन पाइन्छ र भन्या । 

क्या तोर्पे रैछ यार कुरै नबुझ्ने । पार्टी खोलेपछि त सबैथोक गर्न पाइन्छ नि । पार्टी खोलेको दिन टुच्च । अर्कोलाई पार्टीमा प्रवेश गरेको दिन टुच्च । चुनावको बेला उसैगरी टुच्च । चुनाव जिते पनि टुच्च, हारे पनि टुच्च । 

अनि टुच्च लगाउने पैसा नि ?

पार्टी खोलेपछि पैसाको के चिन्ता । चन्दा उठाइन्छ नि मज्जाले । चन्दा दिनेलाई हाइहाइ, नदिनेलाई डन्डा । त्यसपछि त पैसा जाबो त कति कति ।

हो यार, त्यसो भए अब पार्टी खोलौं । 
..........

हैन ए साथी अब त बाटोमा बसेर माग्न पनि नपाइने भयो ?

त्यही त मागेरै भए पनि मुख फेर्न पाइएको थियो । औषधि उपचारको लागि अलिअलि पैसा जम्मा हुन्थ्यो । अब कसरी पेट पाल्ने होला ?

हामीले मात्रै माग्न नपाइने हो कि ठूलाबडाले पनि ?

ठूलाबडाले त किन नपाउनु ? हामी झुत्रेझाम्रेले मात्रै बाटोमा बसेर माग्न नपाइने हो । सुकिलामुकिलाले त मजाले माग्न पाउँछन् । घुस लिन पाउँछन् । कमिसन लिन पाउँछन् । चन्दा लिन पाउँछन् । 

त्यसो भए माग्नलाई पनि ठूलाबडा र सुकिलामुकिला नै हुनुपर्ने भयो हैन त ?

हो नि त । अब हामी माग्नेहरु मिलेर एउटा पार्टी खोलौं । नेपाल मगन्ते संघ । पार्टी खोलेपछि सडक र पाटीमा बसेर माग्नै पर्दैन । महलमै बसेर माग्न पाइन्छ ।

हो हो त्यसो भए हामी पनि पार्टी खोलौं ।
..................

गाउँमा रोपाइँको बेला छ, बाआमाले घर आइज भनेर कराएको करायै छन् यार ।

अनि जान त नि घर ।

कहाँ जानु यार । त्यही खेतबारीको काम गर्न अल्छी लागेर त शहर आएको, यहाँ पनि काम त छैन । तर गाउँमा गएर खेतमा काम गर्न अल्छी लाग्छ ।

अनि असार १५ मा नेता कार्यकर्ताले अल्छी नमानीकन खेत रोपे, हिलो खेले । तँलाई चाहिँ कसरी अल्छी लाग्यो हँ ?

त्यही त, अघिपछि झण्डा बोकेर हिँड्ने नेता कार्यकर्ता असार १५ मा हिलो खेल्दै खेतमा पसे । नेता भएपछि काम गर्न जाँगर आउँदो रैछ क्यारे ।

हो नि, अरु दिन नआए पनि असार १५ को दिन त आउँछ ।

त्यसो भए रोपाइँ गर्न पनि नेता कार्यकर्ता नै हुनुपर्यो । किसानले मल, बीउ, सिँचाई पाए÷नपाएको वास्ता नगरे नि हुन्छ । असार १५ मा एक दिन रमाइलो गरे पुगिहाल्छ ।

हो यस्तै रमाइलो गरेर खेत रोपेजस्तो गर्न पनि नेता त हुनै पर्यो ।

नेता पनि किन अरु पार्टीको हुने । तँ र म मिलेर एउटा पार्टी खोलौं ।

हो हो खोलौं, खेत रोप्नकै लागि भए पनि एउटा पार्टी खोलौं ।
......

काम नै पाइएन यार, बेरोजगार भइयो, के गर्ने होला ?

त्यही त दिनदिनै महंगी बढेको छ । आम्दानीको बाटो केही छैन । कसरी टार्ने, पुर्याउने होला ?

काम नभएपछि दाम हुँदैन, दाम नभएपछि माम मिल्दैन । के गर्ने होला ?

के गर्ने होला भनेर पीर नगर । काम नभए पनि दाम मिल्ने उपाय छ मसित ।

के उपाय ?

पार्टी खोल्ने । पार्टी खोल्नु भनेको पसल खोल्नु जत्तिकै हो नि ।

हो यार, त्यसो भए तँ र म मिलेर अर्को पार्टी खोलौं ।
..........

घरमा श्रीमतीले सधैं कचकच मात्रै गरिरहन्छे । कहिले यो सामान सकियो भन्छे, कहिले उ सामान सकियो भन्छे । हैरान मात्रै पार्छे । के गर्ने होला ?

त्यसो भए पार्टी खोल्ने । श्रीमतीलाई महासचिव बनाउने, आफू अध्यक्ष । श्रीमान श्रीमती मिलेर पार्टी चलाउने, अरुले घर चलाउँछन् । घरमै पार्टी कार्यालय, घरमै बैठक, घरमै आमसभा, घरमै मनोरञ्जन । 

गुड आइडिया यार, त्यसो भए तँ तेरो घरकालाई समेटेर पार्टी खोल, म मेरो घरकालाई समेटेर पार्टी खोल्छु । 
.............

हैन जो पनि नेता मात्रै बन्छु भन्छ, जसले पनि पार्टी मात्रै खोल्छु भन्छ । यतिका धेरै पार्टी कसरी चल्छन् हँ यो देशमा ?

अहिले चल्ने भनेकै पार्टी हो । भिखारी भएर पाटीमा बस्न मन छैन भने बेलैमा पार्टी खोलेर एउटा नाङ्लो पसल थापिहाल्ने हो क्या । 

अनि पाटीमा बसेर पार्टीहरुका बारेमा कुरा गर्न पनि एउटा पार्टी खोल्नुपर्छ । 

हो हो धेरै पार्टी किन खुले भनेर छलफल गर्न छुट्टै पार्टी खोलौं । आयआर्जन र रोजगारी बढाऔं ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया