खोला किनारको २० मिटर मापदण्डको फैसलामा सर्वोच्चले पुनरावलोकन...
मंसिर ७, २०८१ शुक्रबार
एक कार्टुन पानी । केही पोका गुट्खा । केही बट्टा चुरोट । झापा स्थायी घर भइ अहिले असन बस्दै आउनुभएकी कुमारी कार्कीको नाङ्ले पसल बिहान १० बजे नै खुल्छ काठमाण्डौ सुन्धाराको फुटपाथमा ।
नाै महिने दूधे बालक पिठ्युँमा बोकेर एक हातमा पानी अनि अर्को हातमा गुट्खा र चुरोटको पोको बोकेर उहाँ असनबाट सुन्धाराको सडक पेटीमा आइपुग्नुहुन्छ । एउटा आफू बस्ने बाकस र ग्राहकका लागि पनि बस्न सानो कार्टुन छ कार्कीसँग ।
दिनमा सात/आठ सयदेखि एक हजार रुपैयाँको व्यापार हुन्छ । कार्कीका श्रीमान् बिरामी हुनुहुन्छ । श्रीमान् जन्डिसकाे बिरामी भएको धेरै भयो । बिरामी श्रीमानको उपचार अनि दूधे बालकदेखि अर्को कक्षा दुईमा पढ्ने छोराको खर्च पनि यही पसलले नै टार्नुपर्छ । ‘कमायो, लग्यो उपचार गर्याे । कोही बेला त खाने कुरा पनि हुँदैन कोठामा’, कार्की भन्नुहुन्छ, ‘यहाँ बस्नु मेरो बाध्यता हो । नबसे रोगी बुढाको उपचार र हाम्रो खाने बाटो नै हरिन्छ ।’
श्रीमानको उपचार गर्दा गर्दै उहाँलाई दुई लाख रुपैयाँ ऋण लागिसक्यो । तर, यही पसलले त्याे ऋण तिर्ने उहाँकाे सुर छ । उहाँ भन्नुहुन्छ, ‘गर्दै जाने हो । एक दिन न एक दिन त कसो नतिरिएला ! छोरा छ, बढ्छ । कमाउला ।’
महाँकाल स्कुलमा कक्षा दुईमा पढ्ने नाै वर्षको छोरालाई स्कुलले पनि सहयोग गरेको छ । नत्र उहाँको यो सानो पसलले मात्र छोराको पढाइ खर्च कहाँ जुट्थ्यो र ! पसलमा आफूसँगै हुने काखको छोरालाई उहाँ दिउँसो कहिले बिस्कुट त कहिले फ्रुटी किनेर खुवाउनुहुन्छ ।
काठमाण्डौ महानगरले फुटपाथमा पसल राख्न नपाउने निर्णय गरे पनि कार्कीजस्ता धेरैको कमाउने ठाउँ यस्तै सडकपेटी हुन् । नगर प्रहरी देख्नासाथ चोर, पुलिसको खेल सुरु हुन्छ । नगर प्रहरीले लखेटी–लखेटी सामान जफत गर्ने र कुटपिटसमेत गर्ने व्यापारीहरूको गुनासो छ ।
सुन्धाराको सडकपेटीमा खाजाको व्यापार गर्दै आउनुभएको छ कालीकोट घर भइ अहिले लैनचौर बस्दै आउनुभएकी मिमकोशा मल्ल । नगर प्रहरीले सामान राख्न नदिएपछि उहाँको पसल पनि हातको एउटा झोलामा सीमित भएको छ ।
झोलामा रोटी तरकारीसहितको हटकेश नै उहाँको पसल हो । सामान राख्न नदिएपछि उहाँ हातमा झोला लिएर आउने–जाने मान्छेलाई खाजा खाने हो भन्दै सोध्दै हिँड्नुहुन्छ । पिठ्युँमा सानो दूधे बालक पनि छ । अरू दुई वटा छोरा दरबार हाइस्कुलमा पढ्छन् । श्रीमान् भने ज्यामी काम गर्नुहुन्छ ।
आम्दानीको अरू बाटो नभएपछि सडकपेटीमा व्यापार गर्न खोजेको मल्ल बताउनुहुन्छ । ‘अरू उपाय छैन । श्रीमानको पैसाले पुग्दैन । बालबच्चा पढाउनै पर्याे । ख्वाउनै पनि पर्याे । बाध्यता छ के गर्नु ?’ उहाँले गुनासाे गर्नुभयाे ।
उहाँले फुटपाथमा पसल राख्न थाल्नुभएको एक महिना मात्रै भएको छ । त्यसैले नगर प्रहरीको लुकामारीमा उहाँ त्यति अभ्यस्त हुनुहुन्न । नगर प्रहरीले अहिलेसम्म उहाँको सामान लगेको छैन । सडक व्यापारमा त्यति अभ्यस्त नभएर र बसेर खाने ठाउँ पनि नभएकोले होला उहाँको व्यापार त्यति हुँदैन । दिनको दुई/तीन सय मात्र । मल्ल भन्नुहुन्छ, ‘यति दुई/तीन सय रुपैयाँले केही गर्न पुग्दैन । बच्चालाई खाजा खान पनि पुग्दैन ।’
काठमाण्डौमा सडक पेटीमा व्यापार गर्नु अगाडि उहाँ कोहलपुरमा होटल व्यवसाय गर्नुहुन्थ्यो । होटल नचलेका कारण पाँच लाख रुपैयाँ ऋण लाग्यो । सहकारीबाट लिएको त्यो पाँच लाख ऋण तिर्न बाँकी नै छ ।अनि काठमाण्डौ आएर काम गर्दा केही हुन्छ कि भनेर उहाँ यता आउनुभएको हो ।
काठमाण्डौ सुन्धाराको सडक पेटीमा व्यापार गर्ने धेरैको यस्तै कहानी छ । सडक पेटीमा व्यापार गर्ने दृष्टिविहीन तथा शारीरिक रूपमा अशक्त पनि धेरै छन् । तिनैमध्येका एक हुनुहुन्छ, बाँकेका सञ्जय चौधरी । मोबाइलको खोल, एअरफोन लगायत छन् उहाँको पसलमा । सँगै उहाँको स्कुटर र ह्विल चेयर पनि छ ।
बालाजुबाट स्कुटरमा आउने चौधरीले बाटोमा पसल राखेको १०/११ वर्ष भयो । श्रीमती, छोरीसहित बस्ने उहाँको खर्च महिनाको २०/२५ हजार रुपैयाँ आउँछ । यो सबै खर्च व्यापारले नै धानेको छ । बिहान १० बजेतिर पसल राखेपछि बेलुका ५/६ बजेसम्म उहाँ बस्नुहुन्छ ।
उहाँलाई पनि नगर प्रहरीले पसल नराख् भनेर कराउने, उठाएर गइहाल् भन्ने गरेकाे छ । उहाँको पनि चार पटक सामान समातेर लगिसके नगर प्रहरीले । समातेको सामान जफत नै हुन्छ, फिर्ता हुँदैन । त्यही पनि फुटपाथमै बसेर व्यापार गर्नुको अर्को विकल्प छैन । चौधरी भन्नुहुन्छ, ‘यो नगरे मेरो अर्को बाटो नै छैन ।’
उहाँले पाँच वर्ष अगाडि एक लाख ५० हजार रुपैयाँमा स्कुटर किन्नुभएको हो भने ह्विल चेयर संस्थाले दिएको हो ।
फुटपाथ पैदल हिंँड्नका लागि हो भन्ने कुरामा दुई मत छैन । फुटपाथ कमाइ गर्ने ठाउँ नभएको बताउँछ काठमाण्डौ महानगरपालिका । जो व्यापारीले फुटपाथ प्रयोग गरिरहेका छन्, उनीहरूले अन्त कतै भाडामा लिएर काम गर्नुपर्ने महानगरपालिकाको भनाइ छ ।
काठमाण्डौ महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्ले भन्नुहुन्छ, ‘फुटपाथ व्यापारीले यो मेरो कर्मस्थल हो, यहाँबाट मैले कमाएर बुवा, आमा, छोराछोरी पाल्नु छ, घर चलाउनुपर्छ भन्ने कुरामा सहमत हुने हो भने मान्छे कालोपत्रेबाट हिँड्नुपर्ने हुन्छ ।’
काफ्ले भन्नुहुन्छ, ‘कालोपत्रेमा मान्छे हिँड्ने, फुटपाथमा पसल राखेर गाडी हिँड्न बन्द गर्ने हो भने त ठिकै हो । नत्र फुटपाथ भनेको पैदलयात्रु हिँड्ने अनि कालोपत्रेमा गाडी हिँडाउने हो भने फुटपाथलाई व्यावसायिक स्थल बनाउनुभएन ।’
मान्छेको आवतजावत धेरै हुने ठाउँको फुटपाथ ओगट्ने कुरा ठिक होइन । फुटपाथ खाली गर्ने भन्ने महानगरको उद्देश्य भएको हुँदा यसलाई सहजरूपमा व्यापारीहरूले नै लिनुपर्ने काफ्लेकाे भनाइ छ ।
तर सडकमा हुने व्यापार सहरको विशेषता भएकाले यसलाई हटाउने भन्दा पनि व्यवस्थित गर्नुपर्नेमा धेरैको जोड छ । काठमाण्डौ महानगरपालिका भने फुटपाथमा बसेर व्यापार गर्नै नपाइने अडानमा छ ।
काठमाण्डौमा ठेलामा मकै बेच्ने व्यापारीको मकै खोसेको भिडियो भाइरल भएपछि काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटालाई यो घटना तथा फुटपाथ व्यापारका बारेमा स्पष्टीकरण दिन भ्याइनभ्याइ छ । सापकोटा भन्नुहुन्छ, ‘उहाँहरू आइरहनुहुन्छ कि हामीले छोडिदिनुपर्याे । नत्र कारबाही गर्दा स्वतः यस्ता कुरा आउँछन् ।’
भर्खरै सम्पन्न काठमाण्डौ महानगरको अधिवेशनले फुटपाथमा व्यापार गर्न निषेध गर्ने निर्णय गरेकोले महानगरको हकमा कहीँ पनि फुटपाथमा पसल राखेर व्यापार गर्न नपाइने सापकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘काठमाण्डौ महानगरका कुनै पनि सडकपेटीमा पसल राख्न पाइँदैन ।’
सडकपेटीमा कसैले पसल राखेर सामान बेचिरहेको भए त्यो नगर प्रहरीले छुट दिएको नभएर कारबाही गर्नलाई जनशक्ति नपुगेका कारण मात्रै त्यस्तो भएको र थप जनशक्ति मगाएर कारबाही गरिने गरेको पनि सापकोटाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ ।